मङ्सिर १८, काठमाडौँ । सहकारी क्षेत्रको विकास र सुदृढीकरणका लागि राष्ट्रिय सहकारी बैंक लिमिटेडले ‘सहकारीका समसामयिक अड्चन र निकास’ विषयक बागमती प्रदेश स्तरीय गोष्ठी मङ्गलवार सम्पन्न गरेको छ ।
बैंकको २१ औं वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा सहकारी क्षेत्रका चुनौती र समाधानका उपायहरूको समीक्षा गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नुभयो ।
उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले पछिल्लो समय सहकारीप्रति नकारात्मक भ्रम फैलाउने प्रवृत्ति देखिएको बताउनु भयो । “अहिले कतिपय व्यक्तिहरू केही गलत काम गरेका सहकारीहरूलाई देखाएर समग्रहरू सहकारीहरुनै खराब छन् भन्ने भाष्य बनाइरहेको उल्लेख गर्नुभयो ।”
“सहकारी सबै खराब पनि छैनन्”, मन्त्री अधिकारीले भन्नुभयो, “धेरै सहकारीले राम्रो काम गरेका उदाहरण पनि धेरै छन्, प्रभावकारी नियन्त्रण र नियमनमा कमजोरी देखिएको छ, सरकारी ऐन संशोधन गर्न पनि जरुरी छ । यी काम सरकारले गर्छ ।”
“सहकारीले गरेको राम्रो कामहरू प्रभावकारी रूपमा प्रचार–प्रसार हुन नसकेको भन्दै मन्त्री अधिकारीले सहकारी अभियान र सबैले सहकारीको सकारात्मक कुराहरू जनता समक्ष पु¥याउनु पर्ने बताउनु भयो ।”
उहाँले सरकारले कर्जा सूचना केन्द्रलाई अगाडि बढाउने, कोष खडा गर्ने, न्यायाधिकरण बनाउने र नियमन निकाय बनाउन जरुरी भएको उल्लेख गर्नुभयो । “संसदीय समितिको प्रतिवेदनको सुझाव आएको छ, त्यही अनुसार मन्त्रालयले काम गरिरहेको बताउनुहुँदै सहकारी ऐन संशोधन गरेर नियमनकारी निकाय बनाउने तयारी भइरहेको बताउनु भयो ।” मन्त्री अधिकारीले सहकारीमा देखिएका समस्या समाधान गर्न संघ, प्रदेश र स्थानीय तहबिच समन्वय गरेर काम अघि बढाएको समेत बताउनुभयो ।
सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले सहकारीमा समस्या भन्दा पनि चुनौती रहेको बताएका छन् । सहकारीमा थुप्रै चुनौतीहरू रहेको बताउँदै सबै मिलेर त्यसको समाधानमा लाग्नुपर्ने बताउनु भयो । “घिमिरेले अबदेखि सहकारीकर्मीहरुले सहकारीमा समस्या होइन, चुनौती छ भन्ने बुझेर चुनौतीको सामना गर्न लाग्नुपर्नेमा जोड दिनु भयो ।”
बैंकका सञ्चालक एवम् बागमती प्रदेशका सञ्चालक रामहरि बजगाईले बैंकले सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान गर्दै यसलाई आर्थिक समृद्धिको मुख्य माध्यम बनाउने उद्देश्यले अघि सारेका कार्यक्रम र योजनाहरूले सहकारी अभियानलाई थप मजबुत बनाउने बताउनु भयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका उप–निर्देशक तथा सहकारी विज्ञ डा. रमेश चौलागाईंले सहकारी क्षेत्रका चुनौती र समाधानका उपायका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
उहाँले कमजोर नियमन प्रणाली, सहर केन्द्रित कारोबार र निजी व्यवसायको शैलीमा सहकारी सञ्चालन गर्दा समस्या थप जटिल बनेको उल्लेख गर्दै संघीयता कार्यान्वयनसँगै तीनै तहमा नियमन पुगे पनि नियामक निकायहरूले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको कारण सहकारीहरू सङ्कटमा परेको औँल्याउँदै, सहकारीको सुदृढीकरणका लागि सहकारी प्राधिकरण स्थापना गरी सहकारी सम्बन्धी काम सम्बन्धित मन्त्रालय र नेपाल राष्ट्र बैकसँगको प्रत्यक्ष समन्वयमा सञ्चालन गर्नुपर्ने बताउनु भयो ।
उहाँले बचत र कर्जाको सीमा निर्धारण गर्ने, बचतकर्ताका रकमको कानुनी स्रोत खुलाउने, र सहकारीलाई पारदर्शी बनाउँदै दिगो विकासतर्फ उन्मुख गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उप–निर्देशक चौलागाईंले सहकारी क्षेत्रको सुशासन, उत्तरदायित्व, र पारदर्शितामा जोड दिंदैँ सहकारी क्षेत्रका कमजोरीहरू सुधार गर्न सबै सरोकारवालाहरूले सामूहिक रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नु भयो ।
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहकारी क्षेत्रको समस्याको समाधानका लागि सुधारको सुरुवात आफैँबाट गर्नुपर्ने बताउनुभयो । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै बैंकले सहकारी क्षेत्रलाई नयाँ ऊर्जा र दिशानिर्देश दिन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
प्रमुख कार्यकारी अधिकृत गुरागाईंले तत्कालको लागि नाफा केन्द्रित भन्दा पनि सदस्य सहकारी संस्थाहरूलाई तालिम, शिक्षा, र बहसका माध्यमबाट सशक्त बनाउने योजनामा बैंक केन्द्रित रहेको उल्लेख गर्नुभयो । सहकारी संघका व्यवस्थापक तथा अध्यक्षहरूको क्षमता अभिवृद्धिका लागि बैंकले ६८ वटै शाखा कार्यालय मार्फत निःशुल्क तालिम कार्यक्रम सञ्चालन गरि रहेको समेत जानकारी दिनुभयो ।
सदस्य संस्थाहरूलाई प्रविधिमैत्री बनाउन र वित्तीय जोखिम न्यूनीकरण गर्न बैंकले निःशुल्क रूपमा बेसिक र बेसिक प्लसका स्तरीकरण कार्यक्रम उपलब्ध गराउने र सबै कारोबारलाई पारदर्शी बनाउने व्यवस्था गरिने गुरागाईंले बताउनुभयो ।
कार्यक्रममा सहभागी सहकारी अभियन्ता तथा व्यवस्थापन प्रमुखहरूले बैंकको यो कदमले सहकारीप्रतिको विश्वास पुनः स्थापना गर्न योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । विज्ञ प्रस्तुतीकरण र गोष्ठीका अन्य सत्रहरूले सहकारीको वर्तमान समस्यालाई गहिराइसम्म बुझ्न र समाधानको खाका कोर्न सहयोग गरेको धारणा व्यक्त गरेका छन् ।
बैंकका सञ्चालक एवम् बागमती प्रदेशका संयोजक रामहरि बजगाईँको अध्यक्षता भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका अध्यक्ष.ओमदेवि मल्ल, बैंकको निवर्तमान सञ्चालक रमेश पोखरेल सहित विभिन्न केन्द्रीय संघका अध्यक्षहरू, प्रदेश संघका अध्यक्षहरू लगायतको आतिथ्यता रहेको थियो ।
सुदूरपश्चिम प्रदेशबाट सुरु गरिएको गोष्ठी कार्यक्रम मङ्सिर २० भित्र सबै प्रदेशमा प्रदेशस्तरीय गोष्ठी सम्पन्न गर्ने योजना बैंकले जनाएको छ । कार्यक्रम मार्फत सहकारी अभियानलाई थप प्रभावकारी बनाउन र सहकारी क्षेत्रका समस्या समाधानमा नयाँ दृष्टिकोण ल्याउने बैंकको लक्ष्य रहेको छ ।
बैंकको सञ्चालक ध्रुवराज विष्टले सञ्चालन गर्नु भएको कार्यक्रममा बैंकको सञ्चालक पार्वती थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।