विपद् मा चालिनुपर्ने कदम
May 20, 2020

विपद् मा चालिनुपर्ने कदम

"बजेट सरकारको वित्तीय व्यवस्थापन र आर्थिक कर्मचारी क्रियाकलाप चलायमान गर्ने महत्वपूर्ण औजार हो ”

कोरोना महामारीले विश्वव्यापी रूपमा बन्दाबन्दी र आपत्कालीन स्वास्थ्य स्थिति सिर्जना गरेको छ । विश्वका अधिकांश देशले स्वास्थ्य, वित्तीय र वस्तुको मूल्यमा गिरावट जस्ता विभिन्न सङ्कटको सामना गरिरहेका छन् । बन्दाबन्दीबाट गुज्रिसकेपछिको आर्थिक परिदृश्य कस्तो हुन्छ भन्ने अनिश्चित छ ।

न्य मुलुकमा जस्तै हाम्रो देशमा पनि कृषि क्षेत्रको उत्पादन, वितरण र यसको बजारीकरणसम्म अर्थात् सम्पूर्ण आपूर्ति शृङ्खलामा कोरोनाको असर देखिएको छ । निर्माणाधीन परियोजनाको समयावधि लम्बिने र लागतमा वृद्धि हुनेछ । विप्रेषण आप्रवाह घटेको छ । नेपाल भ्रमण वर्ष २०२० स्थगित गरिएसँगै यसको असर पर्यटन क्षेत्रमा पर्दैछ । बैङ्क तथा वित्तीय संस्थाको किस्ता र ब्याज समयमा नउठ्ने र ब्याजमा छुट दिनुपर्ने कारण नाफामा गिरावट आउनेछ ।

अल्पकालमा उत्पादनलाई अधिकस्तरमा वृद्धि गर्न सकिँदैन भने उत्पादनको साधनमा अधिकतम प्रयोगमा समस्या आउन सक्छ । त्यसले मागमा दबाब भई मूल्यस्तर निरन्तर वृद्धि हुन्छ । समग्रमा मुद«ा स्फीति उच्च बिन्दुमा रहन सक्छ । व्यापार, पर्यटन, निर्माण, यातायात बैङ्किङ, आन्तरिक तथा वैदेशिक रोजगार लगायत प्रायः सबै क्षेत्रका गतिविधि अछुतो छैनन् । यी समस्या आर्थिक गतिविधिसँग सम्बन्धित भए पनि यसको समाधान राजनीतिक रूपमा खोज्ने गरिन्छ । महामारीबाट कसले कति क्षति व्यहोर्नु परेको छ, वास्तविक मर्कामा परेको वर्ग कुन हो, त्यस क्षतिको परिपूरण कसरी हुनसक्छ भन्नेजस्ता वस्तुनिष्ठ उपायको खोजी गरिनुपर्छ । बजेट सरकारको वित्तीय व्यवस्थापन र आर्थिक क्रियाकलाप चलायमान गर्ने महत्वपूर्ण औजार हो ।

यसपटक एक वर्षको लागि तयार गरिएको बजेट आठ महिनामै बिथोलिएको छ । कोरोना सङ्क्रमण हुनुअघि अनुमान गरिएअनुरूप राजस्व सङ्कलन र खर्च नहुने भनी बजेट हेरफेर गरिएको छ । हाम्रो बजेटको चरित्र हेर्दा ठूलो हिस्सा (करिब ९० प्रतिशत) करको हुन्छ भने राज्यले प्रदान गर्ने सेवाबाट असुल गर्ने शुल्कले राजस्वमा १० प्रतिशत मात्र योगदान गर्दछ । कर राजस्व मध्ये अप्रत्यक्ष करको हिस्सा ७० प्रतिशत भन्दा बढी हुने गरेको छ । सम्पत्ति र आयजस्ता प्रत्यक्ष करको हिस्सा ३० प्रतिशत छ । सरकारले खर्च गर्ने ठूलो रकम सर्वसाधारणबाट उठाइएको कर हो । त्यसैले राज्य कोषमा जसको बढी योगदान छ, उही बढी प्रतिफलको हकदार हुनुपर्छ । विशेषतः महामारी जस्तो विपत्को बेलामा सरकारको भूमिका बढ्नुपर्छ । हाल देशको कुल गार्हस्थ उत्पादनमध्ये ५२ प्रतिशत सेवाक्षेत्र र २७ प्रतिशत कृषि क्षेत्रबाट हुने गरेको छ । राज्यको ढुकुटीमा आउने ५० प्रतिशत राजस्व भन्सारबाट सङ्कलन हुने गर्दथ्यो तर यी सबै क्षेत्र बन्द हुँदा दैनिक गतिविधि, उत्पादन गतिविधि र आर्थिक गतिविधि शून्य हुँदा देशको आर्थिक क्षेत्रमा कोरोनाभन्दा ठूलो महामारी नआउला भन्न सकिँदैन ।

आकस्मिक रूपमा रोकिएको आम्दानी र मासिएको बचतले लामो समयसम्म असर गर्दछ । सामान्य अवस्थामा सङ्कलित राजस्वको ९० प्रतिशत रकम सरकारी संयन्त्र चलाउँदा खर्च हुन्छ । फलस्वरूप सरकारले जसलाई सहयोग गर्नुपर्ने होे उसलाई चाहेर पनि सहयोग गर्न नसक्ने अवस्था उत्पन्न हुनसक्छ । हालै आन्तरिक स्रोतले धान्न नसकेपछि सरकारले घोषणा गरेको राहत प्याकेजका लागि खर्च जुटाउन एसियाली विकास बैङ्कसँग सरकारले ऋण सहायता मागेको छ । भविष्यमा आउन सक्ने वित्तीय स्रोतको ठूलो माग पूरा गर्न विवेकसम्मत ढङ्गले खर्च गर्नपर्छ । दैनिक ज्यालादारीमा काम गर्ने कामदारलाई सरकारले हेर्नुपर्छ । व्यवसायको उत्थानका लागि सस्तो ऋण उपलब्ध गराउन ब्याजमा दिन र ऋणको पुनः तालिकीकरण गर्न सकिन्छ तर ऋण मिनाहा गर्नुहुँदैन । ऋण पाउनेहरू तुलनात्मक रूपमा सचेत, न्यूनतम स्रोत भएका, उद्यमशील र सक्रिय समूह हो जसले क्षणिक झड्का केही समय सहन सक्छ । सम्पूर्ण रूपमा अर्काको स्रोतमा निर्भर समूहलाई उद्यमी भन्न मिल्दैन । अन्तर्राष्ट्रिय मुद्राकोषले पनि सन् २०२०÷२१ मा विश्वव्यापी जीडीपीमा भारी सङ्कुचन आउने र नकारात्मक अङ्कमा पुग्ने अनुमान गरेका छन् ।

विश्व परिवेशलाई असर गरिरहँदा नेपालको अर्थतन्त्रलाई पछाडि धकेल्नेछ । कोरोना कहर सकिनासाथ किसानलाई आगामी मौसममा खेती गर्ने बीउबिजन र मल किन्ने पैसा चाहिन्छ । साना व्यापारीलाई रित्तिएको पसल कसरी भर्ने चिन्ता हुन्छ । ऋण लिएकालाई कसरी तिर्ने पीर हुन्छ । सरकारले भावनामा आएर निर्णय लिनुभन्दा जनउत्तरदायी र दूरगामी दृष्टिसहितको राहत प्याकेजको ब्यवस्था गर्नुपर्दछ । घरबेटीलाई भनेर भाडा छुट, विद्यालयमा मासिक शुल्क छुट, खाद्यान्नमा १० प्रतिशत छुट, बिजुली र इन्टरनेटमा छुट जस्ता राहत प्याकेज घोषणा गरे पनि कार्यान्वयनमा आउनसक्ने देखिँदैन । लकडाउनमा वितरण गरिएको राहत पारदर्शी रूपमा गर्न नसकेमा सरकारप्रतिको विश्वासमा प्रश्न खडा हुन जान्छ ।

सरकारले आगामी वर्षमा प्राथमिकताका आधारमा र तत्काल धेरै काम गर्नुपर्नेछ । तत्काल स्वास्थ्यका लागि कदम चाल्नुपर्ने हुन्छ । यो सरकारले यसअघिदेखि नै परिमाणात्मक रूपमा धेरैथोरै काम गरिरहेको छ । तत्काल सामाजिक सहयोग र रोजगार हो । ठूलो सङ्ख्यामा विदेशिएका नेपाली स्वदेश फर्कदैछन्, जसका लागि रोजगारीको आवश्यकता पर्दछ । प्रधानमन्त्री रोजगार कार्यक्रम र अन्य कार्यक्रममा ध्यान दिनु जरुरी छ । आपूर्ति शृङ्खला सही ढङ्गले कायम राख्नुपर्दछ । खर्च अवस्था बढ्नेवाला छ, त्यसैले खर्चको प्राथमिकीकरण निर्धारण हुनुपर्छ । वस्तुको उत्पादन सुचारु हुने वातावरण मिलाउनुपर्नेछ ।

व्यापक रूपमा सहकारी र सामूहिक खेती प्रणालीको विकासका लागि स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै कृषिपेशालाई मर्यादित, कृषिको व्यवसायीकरण र आधुनिकीकरण गर्नुपर्नेछ । उत्पादनशील क्षेत्रमा जोड दिन व्यक्तिगत प्रकृतिका अनुत्पादक क्षेत्रमा थप कडाइ गरी अर्थतन्त्रमा उत्पादन र रोजगारी बढाउने क्षेत्र (साना र मझौला उद्योग) मा लगानी गरी मौदि«क नीतिमा आवश्यक संशोधन गरिनुपर्दछ । त्यसैले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचारकोषमा जम्मा भएको रकम, सो रकमसहित सरकारले विभिन्न शीर्षकमा बनाएका कोष र प्रधानमन्त्री स्वरोजगार कोषमा रहेको रकमलाई उत्पादनमुखी शीर्षकमा परिचालन तथा सो कोषको रकमलाई कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रकमान्तर गरी थप व्ययभारबाट मुलुकलाई जोगाउन र अर्थतन्त्रलाई गतिशील बनाउन प्रयोग गर्नुपर्छ ।

रेखा पौडेल

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error