बैंकको पहुँच बाहिरका जनताको आफ्नो बैंक माङसेबुङ सहकारी
Mar 20, 2022

बैंकको पहुँच बाहिरका जनताको आफ्नो बैंक माङसेबुङ सहकारी

परिचय :

इलाम लारुम्बा र क्षेत्र आसपासका जनताको वित्तीय कारोबारका लागि सदरमुकाम वा अन्यत्र जिल्ला पुग्नुपर्ने बाध्यताका बिच स्थानियहरुकै पहलको परिणामस्वरुप स्थानियको वित्तीय पहुँच सुगम बनाउन र स्थानिय कृषि उत्पादनको सहज बजारीकरणका लागि माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड इलाम जिल्लाको साविक बाँझो, इभाङ र महमाई गा।वि।स। कार्यक्षेत्र बनाई मिति २०६३ जेष्ठ २६ गते डिभिजन सहकारी कार्यालय इलाममा दर्ता नं. २७३ कायम भई स्थापना भएको थियो ।

निर्णयमा सदस्यको पहुँच :

हाल ३८५ सदस्य रहेको यस सहकारी संस्थाले नियमित रुपमा वार्षिक साधारण सभा गरी वार्षिक गतिविधिहरुको सार्वजनिक लेखापरिक्षण समेत सम्पन्न गर्ने गरेकोमा यस वर्ष मिति २०७८ आश्विन २१ गते २११ सदस्यहरुको उपस्थितिमा १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभामा संस्थाले गरेका गतिविधिहरुमा व्यापक छलफल अन्तरक्रिया अलावा आगामी वर्षका लागि नीति तथा कार्यक्रम र बजेट समेत तयार पारिएको थियो । गत वर्षको बाह्य लेखापरिक्षक कमलराज भट्टराईले तयार गर्नुभएको लेखापरिक्षण प्रतिवेदनमाथि सार्वजनिक रुपमा छलफल गरी पारित गर्दै आगामी वर्षका लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने समेत निर्णय समेत भएको थियो ।

सञ्चालक समितिले गरेका कार्यहरुको सम्बन्धमा लेखा तथा सुपरिवेक्षण समितिले आफ्नो राय प्रस्तुत गर्दै सुझावसहितको प्रतिवेदन समेत पेश गरेको थियो । संस्थाले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरुमा सदस्यहरुको राय, सल्लाह एवं गुनासो समेत लिई सञ्चालक समितिको तर्फबाट सोको सम्बोधन गरी आगामी दिनमा सदस्यहरुको माग बमोजिम नै संस्था अघि बढ्ने तय गरिएको थियो । सहकारीले गर्ने सम्पूर्ण गतिविधिहरु सदस्यकेन्द्रित र सदस्यप्रति नै उत्तरदायि हुने, सदस्यले सेवाको निर्माण र उपयोग समेत गर्ने यो सुन्दर उदाहरण देख्दा आफ्नो लागि आफ्नै बैंक स्थापना गर्ने माङसेबुङबासीहरुको सपनाले आज मूर्तरुप लिएको आभाष हुन्छ ।

आज उनीहरु स्वयं आफ्नो बचतको ब्याज निर्धारण गर्न, आफूले लिने ऋणको प्रकृया र ब्याज निर्धारण गर्न, परियोजना सञ्चालन प्रकृयाबारे निर्णय गर्न र सहकारीले बिक्री गर्ने दैनिक उपभोग्य वस्तु कहाँबाट खरिद गर्ने र कतिमा बिक्रि गर्ने समेत निर्णय गर्न सक्ने भएका छन् । हरेक ४ वर्षमा आफ्नो संस्था सञ्चालनका लागि आफै सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समिति समेत चुन्ने गर्छन् ।

आफ्नै व्यवस्थापन :

सदस्यहरुले नै साधारणसभाबाट निर्माण गरेको आर्थिक प्रशासनिक कार्यविधि, कर्मचारी तथा कार्यालय व्यवस्थापन कार्यविधिका लगायतका थुप्रै कार्यविधि र निर्देशिकाका आधारमा सदस्यमध्येकै समय दिनसक्ने वित्तीय ज्ञान भएका दक्ष र योग्य अनुभवी कर्मचारीहरुबाट आधुनिक प्रविधिको प्रयोग गरी संस्थाको व्यवस्थापन हुन्छ जसको प्रत्यक्ष रुपमा सञ्चालक समितिले नियमन गरी समय समयमा आवश्यक राय, सल्लाह र सुझाव समेत दिने गर्छन् । अनिवार्य मासिक रुपमा सञ्चालक समितिको बैठक बसी महिनाभरीका कार्यप्रगतिका विषयमा समिक्षा गरी आगामी महिनाका लागि योजना बनाउछन् । कार्यलयको काम र सञ्चालक समितिको निर्णय कार्यन्वयनको अवस्था समेतका बारेमा कम्तिमा त्रैमासिक रुपमा लेखा तथा सुपरिवेक्षण समितिले आफ्ना राय, सल्लाह, सुझाव एवं निर्देशन समेत दिन्छन् । सदस्यहरुको सुझावका लागि सुझाव पेटिका एवं गुनासो सुन्ने अधिकारी समेतको प्रबन्ध गरिएको छ भने के काम कसरी गर्ने भन्ने स्पष्ट पारिएको सदस्य वडापत्र समेतको व्यवस्था गरी सबैले देख्ने स्थानमा राखिएको छ ।

सेवामा सहभागिता :

सदस्यहरुले वर्षैपिच्छे शेयर रकम वृद्धि गर्दै जान्छन् भने मासिक अनिवार्य बचत कै लागि भएपनि अनिवार्य रुपमा संस्थामा हाजिर हुने परिपाटिको विकास गरिएको छ । सबै सदस्यका लागि बचत अनिवार्य छ र व्यवसायका लागि रकम नपुग भएमा परियोजना धितोमा संस्थाबाटै ऋणको व्यवस्था समेत गरिएको छ । बचतको ब्याज सदस्यले नै साधारण सभा वा सदस्यको विस्तारित मञ्चबाट बजारभन्दा बढि निर्धारण गर्छन् भने ऋणको ब्याजदर बजारदरभन्दा कम । सहकारीको बचत तथा ऋण सेवा उपयोगको शर्तको रुपमा सम्पूर्ण आर्थिक कारोबार संस्थासँग ९अन्य वित्तीय संस्थासँगको कारोबारमा रोक० र संस्थाले उपलब्ध गराउने दैनिक उपभोग्य वस्तुको अनिवार्य उपयोग रहेको छ । एकै सदस्यलाई बढि ऋण लगानीलाई निरुत्साहित गर्दै ऋण माग गर्ने सबै व्यवसायि सदस्यहरुलाई ऋण लगानी गर्ने नीति रहेको छ । संस्थाबाट ऋण लिई परियोजना सञ्चालन गर्ने सदस्यकहाँ विषय विज्ञ सहितको सञ्चालक र कर्मचारीको टोलि नियमित रुपमा पुग्ने र आवश्यक सर सल्लाह दिने व्यवस्था रहेको छ । कुनै समस्या भएमा सोको तत्काल समाधानका लागि समेत सहयोग गर्ने गरिएको छ ।

सफलताको कथा :

सदस्यहरुले संस्थाको सदस्यता लिई नियमित कारोबार र व्यवसायका लागि रकम नपुग भएमा परियोजना धितोमा संस्थाबाटै ऋण सुविधा लिई आफ्नो जीवन परिवर्तन गरेका प्रशस्त उदाहरणहरु देख्न सकिन्छन् । लालबहादुर आङदेम्बेको कथा : विदेशबाट ल्याएको रकम घरखर्चमै सकिसकेका आङदेम्बेको फेरि पलायन हुनुसिवाय दोश्रो विकल्प नहुँदाका बखत २०७१ आषाढ २६ गते संस्थाको सदस्यता लिएका उनले संस्थाको सल्लाहमा उन्नत जातको गाईपालन व्यवसायको सुरुवात गरेका थिए । आज उनीसँग संस्थामा शेयर पुँजीका रुपमा ४० हजार रहेको छ भने उनी मासिक रुपमा ५ हजार बचत गर्न सक्षम भएका छन् । उनले व्यवसायमा ६ लाख लगानी गरेका छन् भने सो परियोजनामा संस्थाले सुलभ दरमा ३ लाख ऋण उपलब्ध गराएको छ । गाईपालनबाटै उनले मासिक ४५ हजार कमाई गर्छन् भने सम्पूर्ण खर्च कटाई आएको बचत मासिक बचतका रुपमा नियमित संस्थामा जम्मा गर्छन् । अहिले उनी समाजमा आर्थिक सामाजिक रुपमा सक्षम भएका छन् ।

देउकुमार इधिङ्गोको कथा :

पलायनकै मानसिकता बनाएका इधिङ्गोकोलाई पनि संस्थाले नै व्यावसायिकताको बाटो देखाएको थियो । अहिले उनी स्वदेशमै लगानी गरी परिश्रम गरे जीवन सहज हुनेमा उदाहरण बनेका छन् । २०७४ पौष ४ मा संस्थाको सदस्यता लिएका उनले उन्नत जातको बाख्रापालनका लागि २ लाख ५० हजार ऋण लिई व्यवसायमा कूल १९ लाख लगानी गरेकोमा व्यवसायबाटै मासिक ३ लाख ५० हजार आम्दानी गर्छन् । सम्पूर्ण खर्च कटाई मासिक रुपमा ७५ हजार बचाउने उनले संस्थामा नियमित मासिक बचतका रुपमा ५ हजार जम्मा गर्छन् भने बाँकी रकम पुनस् व्यवसायमै लगानी गर्छन् । ५ लाखबाट शुरु गरेको व्यवसाय अहिले निरन्तर आफ्नो आकार वृद्धि गरिरहेको छ । अहिले संस्थामा उनको शेयर रकम २५ हजार र बचत रकम २ लाख ५० हजार रहेको छ ।

भीमकुमार लिम्बुको कथा :

उन्नत जातको बाख्रापालन व्यवसायबाटै जीवन परिवर्तन गर्ने अर्का उदाहरण हुन् भीमकुमार लिम्बु । सबैको जस्तै उनको पनि देशमै रोजगारी सृजना गर्न सकिन्छ भन्नेमा विश्वास थिएन् । विदेशिनुमा फाइदै फाइदा देखेका उनले वैदेशिक रोजगारीमा सोचेजस्तो आर्जन गर्न नसकेपछि विदेश नफर्कने निर्णय गर्दै २०७७ मंसिर ९ मा सहकारीको सदस्यता लिई कारोबार शुरु गरे र उन्नत जातको बाख्रापालन व्यवसायका बारेमा अध्ययन गर्न थाले । २०७७ चैत्रबाट आफ्नो सबै जोहो गरेको रकमबाट १२ लाख र सहकारीको ऋण ३ लाख गरी १५ लाखबाट व्यवसाय शुरु गरेका उनको अहिले सहकारीमा शेयर ५० हजार र बचत २ लाख छ भने व्यवसायको मासिक आम्दानी ४ लाख ५० हजार छ । सबै खर्च कटाएर ३७ हजार ५ सय बचाउछन् । मासिक अनिवार्य बचतका रुपमा २ हजार ५ सय सहकारीमा जम्मा गरी बाँकी रकम पनि व्यवसायिक तरलताका लागि संस्थाकै ऐच्छिक बचतमा राख्छन् कसैलाई भुक्तानी दिनुपरे सहकारीकै भुक्तानी पूर्जी थमाउँछन् ।

परियोजनाका कथा :

संस्थाले नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजनाको पुरक अनुदान र राष्ट्रिय सहकारी बैंक इलाम शाखाको वित्तीय सहयोगमा शुद्ध दूध उत्पादनका लागि उन्नत गाईपालन उप आयोजना अन्तर्गत सदस्यको उत्पादित दूधलाई मूल्य श्रृङ्खलामा जोड्ने प्रयाशको शुरुवात गरेको छ । उक्त परियोजना मिति २०७८ आश्विन २५ मा कूल लागत ७१,००,८४९ मा शुरु गरी २०७९ बैशाख ३० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । परियोजनाको ५० प्रतिशत ३५,५०,४२४।५ पुरक अनुदान र ३५,५०,००० बाह्य ऋणबाट १० महिला र १० पुरुष गरी जम्मा २० व्यवसायिक सदस्यको परिवार २० थान पानीखाने डुँड र कम्पोष्ट पिटसहितको सुधारिएको गोठ, ४० थान उन्नत जातको गाई, १० थान च्यापकटर, ४० लिटर क्षमताको ५ थान मिल्क क्यान, व्यावसायिक गाईपालन तालिम गोष्ठी, पशुबिमा र पशुआहार दानापानी व्यवस्थापन सेवा समेतबाट लाभान्वित हुने भएका छन् ।

राष्ट्रिय सहकारी बैंक लि। र सहकारी संस्था :

बैंकसँग नियमित कारोबार गरिरहेको यस संस्थाले बैंकको १ लाख बराबरको शेयर खरिद गरेको छ भने बैंकबाट ३५,५०,००० बिनाधितो सञ्चालकहरुको समूह जमानीमा गरिबी निवारण कर्जा उपयोग गरीरहेको छ । बैंककै सहयोगमा संस्थाले विप्रेषण सेवाको समेत शुरुवात गरेको छ भने बैंकले उपलब्ध गराएका विभिन्न आधुनिक बैंकिङ्ग सेवा तथा गैरबैंकिङ्ग सेवा समेतको उपयोग गरिरहेको छ । भौगोलिक दूरीका कारण सम्पूर्ण नियमित कारोबार बैंकसँग गर्न नसकेपनि संस्थाले तरलताको अवस्थामा बैंकमा नै बचत गर्ने गरेको छ । संस्थाले गर्ने कार्यक्रमहरुमा बैंकको आवश्यक राय, सल्लाह र सुझाव उपस्थिति रहने गरेको छ ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.