कुनै पनि व्यावसायिक गतिविधिहरु सञ्चालन गर्नको लागि रुपैयाँ पैसा (वित्त) को आवश्यकता पर्दछ । सहकारी पनि समुदायमा आधारित व्यवसाय भएकोले स्रोतको आवश्यता पर्छ । सहकारीमा विभिन्न स्रोतबाट रुपैयाँ प्राप्त हुन्छ । सहकारीमा स्रोत भन्नाले खासगरी रुपैयाँ पैसालाई बुझ्नुपर्छ । स्रोतको रणनैतिक हिसाबले परिचालन गर्न सके मात्र लाभप्रदतामा (प्रोफिटाविलिटी) वृद्धि गर्न सकिन्छ । मूख्यगरी सहकारीको लाभप्रदता वृद्धि गर्नको लागि सबैभन्दा चुनौतीपूर्ण कार्य हो स्रोतको सही परिचालन । सहकारीका विभिन्न स्रोतहरु मध्ये सबैभन्दा महत्वपूर्ण स्रोत पुँजी हो ।
पूँजिलाई दुई तरिकाबाट प्राप्त गर्न सकिन्छ । एकथरी पूँजिमा लागत (लाभांशको रुपमा) भुक्तानी गर्नुपर्छ र सदस्यले मागेको बखत निश्चित प्रक्रिया पुरा गरेर फिर्ता समेत गर्नुपर्छ भने अर्कोथरी पुँजी जसको लागत पनि पर्दैन र कसैलाई फिर्ता पनि गर्नुपर्दैन । यसरी फिर्ता गर्नुनपर्ने र लागत पनि नपर्ने पूँजिलाई संस्थागत पूँजि भनिन्छ । दोस्रो महत्वपूर्ण स्रोत बचत निक्षेप हो जसमा लागत अर्थात व्याज भुक्तानी गर्नुपर्दछ । यदि बचत ऋण सहकारी हो भने कुल स्रोतको अधिकांश अंश (७० देखि ८० प्रतिशत) बचत निक्षेपबाट नै प्राप्त भएको हुन्छ । कानुन वा कुनै नियामकिय व्यवस्थापमा बचत ऋण बाहेकको सहकारीको पूँजिको स्रोत के कति हुनुपर्ने भन्ने कुनै ठोस प्रावधान छैन । सहकारी ऐनको दफा ५० ले बचत ऋण सहकारी बाहेकका विषयगत सहकारीहरुले बचत ऋणको कारोबार गर्न नपाउने व्यवस्था गरेपछि अन्य विषयगत सहकारीहरुको पुँजीको स्रोत र अुनपात के र कति हुनुपर्ने हो भन्ने बारेमा बहस जरुरी देखिन्छ ।
सेयर पुँजी, संस्थागत पुँजी र निक्षेपका अलावा सहकारीको अर्को स्रोत अवितरित नाफा हो । अवितरित नाफाको लागत नपर्ने भएकोले प्रत्येक महिना लक्ष्य अनुसार नाफा वृद्धि भए नभएको विश्लेषण गरी आवश्यक रणनैतिक निर्णयहरु लिनुपर्छ । नाफाको स्रोतलाई व्यवस्थापनले विशेष ध्यान दिनुपर्छ र लक्षित आम्दानीको अनुपात मापन गर्दै जानुपर्छ । उल्लेखित स्रोतहरु संस्थाको आन्तरिक स्रोत हुन् भने आवश्यक परेका खण्डमा स्रोतको व्यवस्थापन गर्न वाह्य पक्षसँग ऋण लिएर गर्न सकिन्छ । सहकारीले ऋण लिंदा त्यसको लागत, समयावधि र परिचालन गरिने क्षेत्रको बारेमा राम्रोसँग अनुसन्धान र विश्लेषण गर्नुपर्छ । सहकारी ऐनको प्रावधान अनुसार सहकारीको बचत रकम सदस्यलाई ऋण प्रदान गर्न, सहकारी बैंकमा लगानी गर्न, नेपाल सरकारको ऋणपत्रहरुमा लगानी गर्न बाहेक अचल सम्पत्ति खरिद गर्न, पूर्वाधार निर्माण गर्न, अन्य कारोबारहरुमा लगानी गर्न, कुनै फर्म वा कम्पनी खोल्नको लागि परिचालन गर्न बन्देज गरेको छ ।
पछिल्ला महिनाहरुमा देखिएका सहकारीको समस्याहरुमध्ये धेरैजसो समस्या स्रोतको परिचालनबाट भएको देखिन्छ । सहकारी ऐनले बन्देज गरेका क्षेत्रहरुमा सदस्यको बचत रकम परिचालन भएपछि देखिएका समस्या प्रमुख छन् । सहकारीको स्रोतको उचित तरिकाले परिचालन गर्नको लागि व्यवस्थापनसँग स्रोत परिचालन सम्बन्धि आवश्यक प्राविधिक ज्ञान हुनु जरुरी हुन्छ भने सञ्चालक समितिसँग सहकारीको स्रोत परिचालन सम्बन्धि कानुनी प्रावधानको बारेमा पर्याप्त जानकारी हुनुपर्छ । स्रोतको परिचालन प्राविधिक र जटिल कार्य हो ।
सहकारीको स्रोत परिचालनमा आन्तरिक मात्रै नभई बाह्य पक्षको समेत प्रभाव रहन्छ । त्यसैले स्रोत परिचालनको रणनीति बनाउँदा स्रोतको लागत र समयावधिलाई ख्याल राख्नुपर्छ । लागत लाग्ने स्रोतको परिचालन गर्दा आम्दानी हुने गरी गर्नुपर्छ भने स्थिर सम्पत्ति खरिद गर्नु पर्दा लागत नलाग्ने स्रोतहरुको परिचालन गर्नुपर्छ ।
तरलता र सेयर पूँजिको अनुपात लगभग बराबर राख्न सक्नुपर्छ । बचत रकम बराबरकै हाराहारीमा ऋण लगानी गर्न सकियो भने व्याजदरको मार्जिनबाट फाईदा लिन सकिन्छ । त्यसैगरी संस्थागत पुँजीको पचास प्रतिशतभन्दा कम अनुपात कायम रहने गरी स्थिर सम्पत्तिहरु खरिद गर्न सकिन्छ । संस्थाले भल्टमा राख्ने नगदको अनुपात सकेसम्म कम हुनुपर्छ र यसको लागि कुल वासलातको अंकको एक प्रतिशतभन्दा बढि हुनुहुँदैन । त्यस्तै संस्थाले पेश्की रकम लगायत भुक्तानी लिन बाँकी रकमहरु सकेसम्म छिटो फर्छयौट गर्नुपर्छ ।
अग्रिम भुक्तानी गर्नुपर्ने रकमहरुलाई सकेसम्म निरुत्साहित गर्नुपर्छ । बचत निक्षेपको स्वस्थ पोर्टफोलियो बनाउनको लागि नियमित बचत कम्तिमा तिस प्रतिशत र आवधिक बचत बढिमा बीस प्रतिशत कायम गर्न सक्नुपर्छ । बचत रकमलाई ऋणमा परिचालन गर्दा पनि ऋणको अवधिलाई ख्याल गर्नुपर्छ । ऋणलाई अल्पकालिन, मध्यकालिन र दिर्घकालिन भनेर समेत छुट््याउन सकिन्छ । अल्पकालिन ऋण एक वर्ष, मध्यकालिन पाँच वर्ष र दिर्घकालिन पाँच वर्षभन्दा माथिको हुने गरी नीतिगत व्यवस्था गर्न सकिन्छ । अवधिको आधारमा अल्पकालिन र मध्यकालिन ऋण सत्तरी प्रतिशतसम्म हुँदा राम्रो हुन्छ । बचत ऋण सहकारी बाहेकका सहकारीहरुले आफ्नो उद्देश्य अनुरुप सेयर पूँजि संकलन गर्नुपर्छ । यि संस्थाहरुले नियमित बचत, सेयर पूँजि, संस्थागत पूँजि, अनुदान र बाह्य ऋणलाई आफ्नो स्रोत बनाउन सक्छन् । यस्ता स्रोतहरुको परिचालन गरेर आफ्नो उद्देश्य अनुरुप परियोजनाहरुमा लगानी गर्नुपर्छ ।
लगानी गरिने परियोजनाहरुको लाभहानीको पूर्व विश्लेषण गर्नुपर्छ र सो परियोजना सञ्चालन गर्नको लागि आवश्यक पर्ने जनशक्ति तयार भएको हुनुपर्छ । गैर वित्तीय सहकारीहरुको सेयरको अनुपात सत्तरी प्रतिशत, संस्थागत पूँजि कम्तिमा दश प्रतिशत र बाँकी बीस प्रतिशत अन्य स्रोतबाट व्यवस्थापन गर्न सकियो भने लाभप्रद हुन्छ । अमेरिका र क्यानडामा १९९० को दशकमा सहकारीहरुले घुम्ती पुँजी (रिभल्भिङ्ग क्यापिटल) जस्ता वित्तीय प्रणालीको विकास गरेको पाइन्छ । घुम्ती पूँजिको रणनीति अत्यन्तै सरल छ । यस प्रणालीमा सबैभन्दा पहिला सहकारीलाई आवश्यक पर्ने पूँजिको स्तर निर्धारण गरिन्छ ।
त्यसपछि सदस्यलाई उनीहरुको इच्छा अनुसार सेयर खरिद गर्न लगाइन्छ । सेयर परिचालनबाट प्राप्त नाफालाई जम्मा गर्दै लगिन्छ र सहकारीले शुरुमा निर्धारण गरेको पुँजीको अनुपात बराबरको रकम पुगेपछि त्यसपछिका वर्षहरुमा कमाउने नाफाबाट निश्चित अनुपातमा व्याज सहित सदस्यको सेयर फिर्ता गर्दै गइन्छ । यसबाट केहि वर्षपछि सहकारीको पूँजिको सम्पूर्ण स्रोत लागत विहिन हुन जान्छ र सहकारीका उत्पादन सेवाहरु बजारमा सबैभन्दा सस्तो दरमा उपलब्ध हुन सक्छ । सहकारीको स्रोत व्यवस्थापनमा दिर्घकालिन रणनैतिक सोच रहनुपर्छ । सदस्यको पैसाको सुरक्षाको प्रत्याभूति सहित सहकारी दिगो रुपमा सञ्चालन हुने गरी स्रोतको उचित व्यवस्थापन गर्न सक्नुपर्छ ।
(सहकारिताको ३२औ अंकमा प्रकाशित)