ललितपुर । सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हरीवन, सर्लाही आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा राष्ट्रिय सहकारी बैंकको सहकारी स्तरीकरण सम्बन्धी प्रोटेक्ट कार्यक्रममा आबद्ध संस्थाहरु बिचको “समीक्षा गोष्ठी कार्यक्रम” सोमबार सम्पन्न भएको छ ।
आयोजक संस्थाका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यशाला गोष्ठीको सहजीकरण राष्ट्रिय सहकारी बैंकका मधेश प्रदेश प्रमुख विष्णु प्रसाद पराजुली र बैंकको स्तरीकरण विभागका अधिकृत सूर्यप्रसाद रिमालले गर्नुभएको थियो ।
आयोजक संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले कार्यक्रमको उद्घाटन गर्नुहुँदै सहकारी बैंकले सहकारी स्तरीकरण कार्यक्रम मार्फत सहकारी संस्थाहरूको वित्तीय व्यवस्थापन तथा सुशासन प्रवद्र्धन गर्न महत्वपूर्ण सहयोग गरेको हुँदा प्रोटेक्ट कार्यक्रमलाई बिस्तार गर्दै लानुपर्नेमा जोड दिनु भयो ।
बैंकद्वारा सञ्चालित सहकारी स्तरीकरण सम्बन्धी प्रोटेक्ट समीक्षा कार्यक्रममा आबद्ध बारा जिल्लाको साना किसान कृषि सहकारी संस्था लिमिटेड, डुमरवाना, रौतहट जिल्लाको संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चपुर, धनुषा जिल्लाको आस्था बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जनकपुर र सर्लाही जिल्लाको सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हरीवनको सञ्चालक समितिका अध्यक्ष, सञ्चालक पदाधिकारीहरू, व्यवस्थापन प्रमुखको सहभागिता रहेको रहेको थियो ।
कार्यक्रममा सहभागी संस्थाहरूले आ–आफ्नो संस्थाको संस्थागत प्रस्तुतीकरण गर्नुका साथै संस्थाको वित्तीय, स्वास्थ्य र सुशासनका अवस्थाहरूमाथि समीक्षा गरेको थिए ।
सहभागीहरूले सहकारी संस्थाहरूको प्रवद्र्धन, विकास तथा सुशासन व्यवस्थापनमा स्तरीकरण कार्यक्रम अत्यन्तै उपयोगी रहेकाले सहकारी संस्थाको नाडी छाम्दै सही बाटोमा मार्ग निर्देशन गर्न अत्यन्तै महत्त्वपूर्ण रहेको विचार व्यक्त गरेका छन् । कार्यक्रमबाट विभिन्न ११ बुँदे प्रतिबद्धता जारी गर्दै आगामी समीक्षा कार्यशालाको आयोजना गर्ने जिम्मेवारी साना किसान कृषि सहकारी संस्था लिमिटेड, डुमरवानालाई प्रदान गरिएको छ ।