अन्नपूर्ण गाउँपालिका र राष्ट्रिय सहकारी बैंकबिचको सम्झौता अनुसार अनुगमन तथा निरीक्षण प्रतिवेदन हस्तान्तरण
Jun 12, 2025

अन्नपूर्ण गाउँपालिका र राष्ट्रिय सहकारी बैंकबिचको सम्झौता अनुसार अनुगमन तथा निरीक्षण प्रतिवेदन हस्तान्तरण

जेठ २९, ललितपुर । कास्कीको अन्नपूर्ण गाउँपालिका र राष्ट्रिय सहकारी बैंक बिच भएको सम्झौता अनुसार गाउँपालिकाको क्षेत्राधिकार भित्रका ३७ वटा सहकारी संस्थाको स्थलगत परीक्षण गरी सो निरीक्षणमा देखिएका सकरात्मक तथा नकरात्मक पक्षको समीक्षा सहितको प्रतिवेदन हस्तान्तरण गरेको छ । 

बिहीबार गाउँपालिकाको कार्यालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रमको अवसरमा बैंकको गण्डकी प्रदेशका प्रमुख नरेश पाण्डेले गाउँपालिकाका प्रमुख विष्णु बहादुर के.सी., उपप्रमुख चन्द्रकला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेललाई बैंकको तर्फबाट सहकारी सम्बन्धी अनुगमन तथा निरीक्षण प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।

सम्झौता अनुसार सहकारी संस्थाहरुको वित्तीय र गैर–वित्तीय पक्षहरूको विस्तृत परीक्षण गरी प्रतिवेदन तथा प्रोफाइल निर्माण गरिएको छ । उक्त कार्यक्रममा सहकारी संस्थाहरुको वित्तीय तथा गैर–वित्तीय पक्षहरूको समूहगत रूपमा समीक्षा गोष्ठी सम्पन्न गरी समीक्षाको निष्कर्ष सहितको प्रतिवेदन हस्तान्तरण गरिएको बैंकको पोखरा शाखाका प्रमुख रुक्मत श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिवेदन ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर के.सीले सहकारी बैंकसँगको सहकार्यमा गरिएको कार्यक्रम अत्यन्त प्रभावकारी भएको बताउनुभयो । गाउँपालिका भित्रका सहकारी संस्थाहरुको स्थलगत अनुगमन तथा निरीक्षणबाट यहाँको वास्तविक अवस्था थाहा भएको उल्लेख गर्दै सहकारीको विकास र प्रवद्र्धक लागि थप पृष्ठपोषण भएको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘बैंकले यस पालिकामा रहेका हरेक संस्थामा गई निरीक्षण गरी यथार्थ प्रतिवेदन तयार गरी दिएकोमा बैंकलाई धन्यवाद आभार सहित आगामी दिनमा पनि यस पालिकाले बैंकसँग सहकार्य गरी सहकारीका लागि शिक्षा तालिम तथा नीति निर्माणमा पनि सहकार्य गरी सहकारीहरूको सुशासन कायम गराई सहकारीहरूसँग सहकार्य गरी सम्वृद्धिको बाटो तय गर्ने कुरामा जोड दिनुभयो ।’

गाउँपालिकाकी उपप्रमुख चन्द्रकला अधिकारीले चालू आ.व.को कार्यक्रम प्रभावकारी भएकोले आगामी आर्थिक वर्ष पनि बैंकसँगको सहकार्यमा थप कार्यक्रमहरू सञ्चालन गरिने बताउनु भयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाका क्षेत्रभित्रका सहकारी संस्थाहरुको क्षमता विकास तथा अनुगमन सम्बन्धी कार्यक्रम लागत साझेदारीमा बैंकसँगको समन्वयमा कार्यक्रम सम्झौता गरी कार्यान्वयन गर्दा गाउँपालिका क्षेत्रका सहकारी संस्थाहरुको संस्थागत सुशासन र प्रवद्र्धनमा सहयोग पुगेको उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रममा मोदी गाउँपालिका पर्वतकी प्रमुख हिरा देवी शर्माले सहकारी क्षेत्रलाई सुव्यवस्थित गर्ने उद्देश्यले गरेको यस कार्य सराहनीय रहेको र मोदी गाउँपालिका पर्वतले पनि बैंकसँग समन्वयमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी आगामी वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्ने बताउनुभयो ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर के.सी., उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेल, सहकारी शाखाका प्रमुख ठाकुर प्रसाद अधिकारी, बैंकका गण्डकी प्रदेश प्रमुख नरेश पाण्डे, तालिम अधिकृत सूर्य प्रसाद रिमाल, बैंकको पोखरा शाखाका प्रमुख रुक्मत श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

गाउँपालिका र बैंक बिच गत पुस २७ गते गाउँपालिकाको क्षेत्राधिकार भित्रका ३७ वटा सहकारी संस्थाको स्थलगत अनुगमन, प्रतिवेदन र समीक्षाका कार्यक्रमहरू कार्यान्वयन गर्ने गरी कुल बजेटको ७५ प्रतिशत गाउँपालिकाले र २५ प्रतिशत बजेट बैंकले व्यहोर्ने गरी सम्झौता भएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.