ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय कोहलपुरद्वारा सञ्चालित संशोधित सहकारी ऐन, नियमकीय निर्देशन, मापदण्ड तथा कार्यान्वयन सम्बन्धी एक दिवसीय तालिम सोमबार सम्पन्न भएको छ ।
कोहलपुर शाखा अन्तर्गतका सदस्य सहकारी संस्थाहरूका अध्यक्ष, सञ्चालक, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापक तथा प्रमुख जिम्मेवारीमा रहेका कर्मचारीहरूलाई संशोधित सहकारी ऐन, नियमकीय निर्देशन, मापदण्ड तथा कार्यान्वयन सम्बन्धी प्रशिक्षण गरी क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको सो तालिममा विभिन्न ३२ वटा संस्थाहरूका अध्यक्ष, सञ्चालक, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापक तथा प्रमुख जिम्मेवारीमा रहेका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
बैंकको कोहलपुर शाखा समन्वय उपसमितिका संयोजक पारस नाथ थारुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथि बैंकका सञ्चालक विजया धिताल रहनुभएको थियो ।
कार्यक्रममा संशोधित सहकारी ऐन नयाँ व्यवस्था, असर तथा सहकारी नियमावली २०७५, सम्पत्ति सुद्धिकरण, सहकारी संस्थाका लागि नेपाल राष्ट्र बैँक बाट जारी भएको निर्देशन तथा मापदण्ड २०८१ का व्यवस्था तथा असर, जोखिम भातिर सम्पत्ति गणना गर्ने तरीका, पुँजिकोष,पुँजिकोष पर्याप्तता अनुपात गणना विधि, ऋण वर्गीकरण र सोको लागि नोक्सानी व्यवस्था गणना विधि, तरल सम्पत्ति गणना विधि, कर्जा जोखिम व्यवस्थापन र कर्जा असुलीको लागि कानुनी प्रक्रिया लगाएको विषयमा बैंकका लुम्बिनी प्रदेशका प्रमुख नारायण वेल्वासेले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन बैंकको कोहलपुर शाखाका प्रमुख अजय रोकायाले गर्नुभएको थियो ।