ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बलम्बुको आयोजना तथा हेफर इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा बैंकको कर्जा लगानी प्रक्रिया सम्बन्धी “अन्तरक्रिया कार्यक्रम” बिहीबार सम्पन्न भएको छ ।
सहकारी संघ संस्थाका सञ्चालक, व्यवस्थापकहरूलाई कर्जाको महत्व, कर्जाको लगानीको प्रक्रिया, कर्जाको उपयोगिता, कर्जा विश्लेषण तथा व्यवस्थापन, जोखिम व्यवस्थापन, लघु कर्जा र धितो सुरक्षणका लागि लिइने कागजात, असुली तथा निष्क्रिय कर्जा व्यवस्थापन, कालोसूची लगायतका विषयमा जानकारी दिने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा १४ विभिन्न सहकारी संस्थाका २३ जना व्यवस्थापन प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण बैंकको कर्जा विभागका वरिष्ठ अधिकृत गोविन्द ओझा र बलम्बु शाखा प्रमुख सविना पोखरेलले बैंकले सदस्य सहकारी संस्थाहरुलाई लगानी गर्ने कर्जा तथा त्यसको विभिन्न प्रोडक्टहरुको विषयमा सहजिकरण गर्नुभएको थियो ।
बैंकले पछिल्लो समय सदस्य सहकारी संस्थाहरुको लागि कर्जा लगानी गर्दा न्यूनतम ब्याजदर कायम गरेको उल्लेख गर्दै त्यसबाट सदस्य संस्थाहरुले कर्जा उपभोग गरी भरपुर फाइदा लिन आग्रह गर्नुभयो । विगतको तुलनामा बैंकले कर्जा लगानीको प्रक्रिया र कागजातलाई सहज र सरल बनाएको जानकारी दिँदै सदस्य सहकारी संघ संस्थाहरूको माग अनुसार सहज, सरल र सुरक्षित तरिकाले बैंकको सबै शाखा कार्यालयहरू मार्फत कर्जा प्रवाह हुने बताउनु भयो । साथै हेफर ईन्टरलेशलनका अमृत विश्वकर्माले राष्ट्रिय सहकारी बैंक सहकारीहरूको लागि सबै भन्दा भरपर्दो साझेदार संस्था रहेको र बैंक मार्फत कारोबार गरेमा संस्थालाई वित्तीय तथा प्राविधिक सहयोग पुग्ने कुरा जोड दिँदै सबै धादिङ स्थित सहकारी संस्थाहरुलाई बैंकमा आबद्ध हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूले उठाएको जिज्ञासाको सम्बोधन गर्दै बैंकका वरिष्ठ अधिकृत गोविन्द ओझाले सहकारी क्षेत्रलाई वित्तीय रूपमा सक्षम, संस्थागत रूपमा सुशासनयुक्त र प्रविधिमैत्री बनाउनका लागि सहकारी बैंकसँगको सहकार्यमा जोड दिन सहकारी संघ संस्थाहरुलाई आह्वान गर्नुभयो । बैंकले सदस्य सहकारीहरूको सेवा सुविधालाई मध्यनजर गर्दै वित्तीय तथा गैर–वित्तीय सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै सेवा उपभोग गर्न आग्रह गर्नुभयो ।