ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड वालिङ शाखा कार्यालयद्वारा सञ्चालित एक दिवसीय “सदस्य सम्बन्ध विकास तालिम” मंगलबार सम्पन्न भएको छ । बैंकको वालिङ शाखा कार्यालय अन्तर्गतका सहकारी संस्थाहरूमा कार्यरत बजार प्रतिनिधि कर्मचारीहरू तथा फ्रन्ट डेस्कमा कार्यरत कर्मचारीहरूलाई आफ्नो सहकारीका सदस्यहरूसँगको सम्बन्ध सुमधुर र बलियो बनाउन दक्षता विकास गर्ने उद्देश्यका तालिम प्रदान गरेको बैंकले जनाएको छ ।
तालिमको उद्घाटन सत्रमा बोल्दै बैंकको लेखा सुपरिवेक्षण समितिकी सदस्य चन्द्रकुमारी पराजुलीले सहकारी संस्थाको सबैभन्दा महत्त्वपूर्ण विषय सदस्यहरूसँगको सम्बन्ध भएकोले आफ्नो संस्था र सदस्यबिचको सम्बन्ध दिगो र जीवन्त बनाउन सके मात्रै संस्थागत सफलता कायम हुने बताउनुभयो ।
पराजुलीले अग्र भागमा कार्यरत कर्मचारीहरूको दक्षतामा वृद्धि भएमा मात्र संस्था सञ्चालन तथा व्यवस्थापनको साथै गुणस्तरीय व्यवसाय वृद्धिमा सहयोग पुग्ने र संस्थाको छवि निर्माणमा महत्वपुर्ण भूमिका हुने उल्लेख गर्नु भयो ।
कार्यक्रममा सहकारीको अर्थ, मर्म र परिचय, अग्र भागमा काम गर्ने कर्मचारीको भूमिका तथा काम र कर्तव्य, सदस्य समवन्ध विकासका आयामहरू, सदस्य सेवा तथा असल सञ्चार, सदस्य परामर्श, सहकारी संस्थाका आन्तरिक कार्यविधिहरू तथा सहकारी क्षेत्रका ऐन तथा कानुन लगायत विषयमा बैंकको स्तरीकरण विभागका अधिकृत नवकुमार अधिकारीले सहजीकरण गर्नुभएको थियो ।
बैंकको वालिङ शाखाका निमित्त शाखा प्रमुख रोशन पौडेलले सञ्चालन गर्नुभएको तालिम कार्यक्रममा त्यस क्षेत्रका विभिन्न सहकारी संस्थाका २८ जना बजार प्रतिनिधि कर्मचारी तथा फ्रन्ट डेस्कमा कार्यरत कर्मचारीहरूले सहभागिता जनाएका थिए ।