ललितपुर । राष्ट्रिय सहकारी बैंकका सञ्चालकहरूद्वारा लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री र मन्त्रालयका सचिवसँग सहकारी प्रवर्द्धन कोषको रकम सहकारी बैंक मार्फत व्याज अनुदानको रूपमा परिचालन गर्ने गरी छलफल भएको गर्नुभएको छ ।
बिहीबार मन्त्रालयमा भएको छलफलमा प्रदेश सरकारमा रहेको सहकारी प्रवद्र्धन कोषको रकम सहकारी बैंकको लुम्बिनी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूबाट उत्पादन मूलक क्षेत्रमा रहेका सहकारी संस्थाहरुलाई परिचालन गर्ने गरी बैंकका सञ्चालकहरू र मन्त्रालयबिच छलफलमा भएको थियो ।
छलफलमा मन्त्री दिनेश पन्थीले उत्पादन मूलक कार्यमा लाग्ने सहकारी संस्थाहरुलाई प्रदेश सरकारले प्रोत्साहन गर्ने बताउनु भयो । समाजलाई आर्थिक रूपमा सम्पन्न बनाउन सहकारीहरूले उत्पादन मूलक कार्य सञ्चालन गर्दा प्रदेश सरकार सहयोग गर्न तत्पर छ । ‘उत्पादन मूलक क्षेत्रका लागि सम्भाव्य स्रोत पहिचान गर्नु आवश्यक छ, त्यसका लागि वातावरण बनाउन सहयोग हुन्छ’ मन्त्री पन्थीले भन्नुभयो । उहाँले सहकारी बैंक मार्फत सहकारी प्रवर्द्धन कोषको रकम परिचालन गर्दा यसको प्रभावकारिता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्रालयका सचिव यामनारायण देवकोटाले प्रवर्द्धन कोषको रकम सहकारी बैंक मार्फत व्याज अनुदानको रूपमा परिचालन गर्न आवश्यक प्रक्रिया पु¥याई आगामी वैशाख मसान्त भित्रै बैंकसँग सम्झौता गर्ने गरी तयारी गर्ने बताउनु भयो ।
छलफलमा सहकारी विकास बोर्ड लुम्बिनी प्रदेशका कार्यकारी उपाध्यक्ष टिकाराम पोखरेल, बैंकका पदेन सदस्य (निवर्तमान अध्यक्ष) रमेश प्रसाद पोखरेल, सञ्चालकहरू विजया धिताल, तारा गुरुङ, लुम्बिनी प्रदेश प्रमुख नारायण बेल्बासेको सहभागिता रहेको थियो ।