चैत्र २२, ललितपुर । सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई लक्षित गरी आयोजना गरिएको ५ दिने सहकारी व्यवस्थापन तालिम शुक्रवार सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड जोरपाटी शाखाको प्राविधिक सहयोग तथा शंखरापुर नगरपालिका सहकारी शाखाको आयोजनामा तालिम आयोजना गरिएको थियो ।
तालिममा नगरपालिका क्षेत्रका विभिन्न सहकारी संस्थाका सञ्चालक समिति, उपसमितिका पदाधिकारी तथा सदस्य र कर्मचारीहरूको सहभागिता रहेको थियो ।
तालिम समापन समारोहमा बोल्दै नगरपालिकाका प्रमुख रमेश नापितले नगरपालिका क्षेत्रका सहकारी संस्थाहरुको विकास र प्रवद्र्धनको लागि सहकारी बैंकसँग सहकार्य गरिने बताउनु भयो । उहाँले सहकारी बैकसँग सबलीकरण कार्यक्रमका बारेमा सहकार्य गर्न आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम मार्फत सहकारीको दिगो विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
नगर उपप्रमुख समिता श्रेष्ठले शंखरापुर नगरपालिका सहकारी सञ्जाल र सबै सहकारी संस्थाहरुको माग बमोजिम नगरपालिको नगर बैठकमा छलफल गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सहकारी लक्षित कार्यक्रम तथा बजेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहकारी सञ्चालनमा सहकारीका सञ्चालक र कर्मचारीहरूको क्षमता वृद्धि गरी प्रभावकारिता बढाउनका लागि यस किसिमको तालिमले सहयोग पुग्ने बताउनु भयो । बैंकले आफ्नो स्रोत र साधन र स्थानीय तहहरूको समन्वयमा सहकारी संस्थाहरुको क्षमता विकासमा जोड दिएको उल्लेख गर्नुभयो ।
सहकारी सञ्जालकी अध्यक्ष संगिता श्रेष्ठले सहकारी सञ्जाललाई सक्रिय बनाउँदै बैँकसंगको सहकार्य मार्फत सहकारी संस्थाहरुको विनियम पुनर्लेखन, आन्तरिक कार्यबिधीहरु निर्माण गर्न सञ्जालले सहकार्य गर्ने र पालिका भित्र सञ्जालको भूमिका बढाउने बताउनु भयो ।
पाँच दिन सम्म सञ्चालन भएको तालिममा सहकारी व्यवस्थापन तालिममा व्यवस्थापनको क्षमता अभिवृद्धि, वार्षिक योजना तथा बजेट निर्माण, ऋण तथा जोखिम व्यवस्थापन, सम्पत्ति शुद्घिकरण र आन्तरिक कार्यविधि निर्माणको विषयमा बैंकका तालिम अधिकृतहरू तथा विषय विज्ञहरूले सहजिकरण गरेका थिए ।