ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड र हेफर इन्टरनेसनल नेपालसँगको सहकार्यमा दाङ जिल्लाका ३ वटा महिला सहकारी संस्थाहरुलाई नमुना चेक हस्तान्तरण गरिएको छ ।
आइतबार दाङमा आयोजित एक कार्यक्रमका बिच दाङको लमही नगरपालिका वडा नम्बर–७, स्थित दीपन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, लमही १ को नीलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड र घोराही उपमहानगरपालिका स्थित ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडलाई क्रमशः २ करोड, १ करोड ५० लाख र १ करोडको नमुना चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाकी उपाध्यक्ष एवम् कार्यक्रमकी प्रमुख अतिथि शारदा कुमारी चौधरीले ग्रामीण क्षेत्रका महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरण र क्षमता विकासबाट आफू प्रभावित भएको बताउनु भयो । आवश्यकताको पहिचान र समस्यामा सहजीकरण गर्न सक्ने हो भने बेरोजगार भएका र घरको चुलोचौकोमा भुलेका धेरै महिला उत्पादनमा जोडिन सक्ने, उद्यमी बन्ने र जीविका फेर्न सक्ने उल्लेख गर्नुभयो ।
हेफर इन्टरनेसनल नेपाल र राष्ट्रिय सहकारी बैंकको सहकार्यले यस क्षेत्रका महिलाहरूलाई व्यवसायिक बनाई आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने कुरामा जोड दिनु भयो ।
हेफर इन्टरनेशनलद्वारा प्रवद्र्धित महिला सहकारी संस्थाहरुलाई राष्ट्रिय सहकारी बैंक मार्फत कर्जा लगायतका वित्तीय क्षमता अभिवृद्धि कार्यक्रममा सहकार्य गर्ने कार्यक्रम अनुसार महिलाहरूलाई उद्यमशील बनाई कृषि, पशुपालनका क्षेत्रमा क्रियाशील गराउने र उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने योजनाका साथ नमुना चेक हस्तान्तरण गरिएको बैंककी सञ्चालक विजया धितालले बताउनु भयो ।
सहकारी क्षेत्रको प्रवद्र्धनमा सक्रिय सहकारी बैंकसँगको सहकार्यले उत्पादनका क्षेत्रमा लागेका महिला सहकारीहरूलाई थप प्रभावकारी र व्यवस्थित गराउन दुवै संस्थाबिच सहकार्य भएको र यसले उत्पादनमा वृद्धि भई समृद्धिको अभियानमा थप प्रभावकारिता हुने हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक दुर्गा बहादुर के.सीले बताउनुभयो ।
सहकारी बैंकले सबै सहकारीहरूलाई कर्जा सहितको वित्तीय क्षमता विकासका लागि आवश्यक सहयोग आफै गर्दै आएकोमा हेफरद्वारा सञ्चालित उद्यमशील सहकारीहरूसँग पनि सहकार्य गर्ने र उत्पादनका क्षेत्रमा बढी केन्द्रित हुने संस्थाहरूलाई बैंकले सुलभ ब्याज दरमा कर्जा सहयोग गर्ने प्रमुख कर्जा अधिकृत मोहन बहादुर कार्कीले बताउनु भयो ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड र हेफर इन्टरनेशनलबीच महिला सशक्तीकरण र उद्यमशीलता विकास र उत्पादनका क्षेत्रमा संयुक्त रूपमा काम गर्ने गरी गत फागुन ८ गते सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार हेफर इन्टरनेशनल नेपालले प्रवद्र्धन गरेका १५ वटा सहकारी संस्थालाई बैंकले थोक तथा व्यवसायिक कर्जा रकम १० करोड लगानी तथा वित्तीय क्षमता अभिवृद्धि गर्ने छ ।