ललितपुर । जिल्ला सहकारी संघ लिमिटेड बाँके सहितका निकायहरुको आयोजनमा सहकारीहरुको संस्थागत विकास विषयक दुई दिने कार्यशाला गोष्ठी २०८१ आइतबारबाट नेपालगञ्जमा सुरु भएको छ ।
६८औं सहकारी दिवसको अवसरमा आयोजित गोष्ठी बदलिँदो समयमा सहकारीको भूमिका के हुन सक्छ, भन्ने विषयमा केन्द्रित रहने संघका अध्यक्ष प्रेम सुवेदीले जानकारी दिनु भयो ।
कार्यक्रमको पहिलो दिन आज राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले “सहकारीको संस्थागत विकासमा व्यवस्थापकीय तथा निर्णय भूमिका” विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।
कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष गिरीले सहकारीको दैनिक कार्य सञ्चालन तथा व्यवस्थापनमा व्यवस्थापकीय भूमिका प्रमुख रहने बताउनु भयो । उहाँले नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने र सदस्यहरूका आवश्यकता अनुसारका सेवा प्रवाह सुनिश्चित गर्न व्यवस्थापकीय भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले ‘भन्नु भयो संस्थाको लक्ष्य निर्धारण गरी संस्थाको दिगो लक्ष्य र नीति निर्माण गर्न निर्णयहरू आवश्यक रहने हुँदा सदस्यहरूको आवश्यकता अनुसार कार्यक्रम तथा सेवाहरू परिमार्जन गर्न व्यवस्थापकीय निर्णयको भूमिका रहन्छ ।’ सहकारी संस्थाहरुको सफलताको लागि कर्मचारीहरूको सक्रियता, इमानदारिता र जिम्मेवारीपन आवश्यक रहने भएकाले प्रभावकारी व्यवस्थापनले सहकारीलाई दिगो पारदर्शी र सदस्य केन्द्रित बनाउन मद्दत पुग्ने कुरामा जोड दिनु भयो ।
सोमबार सम्म सञ्चालन हुने गोष्ठीमा अन्य ५ वटा विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् । संघले ६८ औं सहकारी दिवसको अवसरमा सप्ताह व्यापी कार्यक्रम गरिरहेको छ ।
कार्यक्रमको आयोजक जिल्ला सहकारी संघ बाँके सहित, बाँकेका विषयगत संघहरु, राष्ट्रिय सहकारी बैंक लिमिटेड कोहलपुर र नेपालगन्ज शाखा कार्यालयहरु, नेपाल बचत तथा ऋण केन्द्रीय संघको बाँके सदस्य सेवा कार्यालय सहित बाँके जिल्ला स्थित प्रारम्भिक सहकारी संस्थाहरु रहेका छन् ।