चैत्र ११, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय भरतपुर र टाँडीको संयूक्त आयोजना तथा हेफर इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा बैंकको कर्जा लगानी प्रक्रिया सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सोमबार चितवनको भरतपुरमा सम्पन्न भएको छ ।
बैंकका सदस्य सहकारी संघ संस्थाका सञ्चालक, व्यवस्थापकहरूलाई सहज कर्जा लगानीको प्रक्रिया, कर्जाको उपयोगिता, कर्जा विश्लेषण तथा व्यवस्थापन, जोखिम व्यवस्थापन, लघु कर्जा र धितो सुरक्षणका लागि लिइने कागजात, असुली तथा निष्क्रिय कर्जा व्यवस्थापन, धितो लिलाम बिक्रिको कानुनि प्रक्रिया लगायतका विषयमा जानकारी दिने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा विभिन्न सहकारी संस्थाका ४३ जना प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बैंकका प्रमुख कर्जा अधिकृत मोहन बहादुर कार्की र अधिकृत धर्म बहादुर भुजेलले बैंकले सदस्य सहकारी संस्थाहरुलाई लगानी गर्ने कर्जा तथा त्यसको प्रोडकहरुको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले उठाएको जिज्ञासाको सम्बोधन गर्दै बैंकका प्रमुख कर्जा अधिकृत मोहन बहादुर कार्कीले सहकारी क्षेत्रलाई वित्तीय रूपमा सक्षम र संस्थागत रूपमा सुशासनयुक्त र प्रविधिमैत्री बनाउनका लागि सहकारी बैंकसँगको सहकार्यमा जोड दिन सहकारी संघ संस्थाहरुलाई आह्वान गर्नुभयो । बैंकले सदस्य सहकारीहरूको सेवा सुविधालाई मध्यनजर गर्दै वित्तीय तथा गैर–वित्तीय सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै बैंकले प्रदान गर्ने सर्वशुलभ कर्जा उपभोग गरी संस्थाका सदस्यलाई उत्पादन र व्यवसायिक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।