चैत्र १०, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड भैरहवा शाखाको समन्वय तथा सिद्धार्थनगर नगरपालिकाको आयोजना र सिद्धार्थनगर सहकारी सञ्जालको सह आयोजनामा सञ्चालित “लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूको लागि क्षमता अभिवृद्धि कार्यक्रम” शनिवार सम्पन्न भएको छ ।
चैत्र ८ र ९ गते सञ्चालन भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिका क्षेत्रका सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम समापनको अवसरमा मन्तव्य राख्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले लेखा सुपरिवेक्षण समिति सक्रिय भएको संस्थामा सहकारीमा समस्या नभएको भन्दै सहकारी सुशासन र नियम सङ्गत सञ्चालनमा गर्नमा लेखा सुपरिवेक्षण समितिको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिकाको आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ६, का वडा अध्यक्ष बिदेन्द्रनाथ श्रीवास्तवले सहकारी संस्थाको आन्तरिक नियन्त्रण प्रणालीको मूल्याङ्कन गरी वित्तीय तथा गैर–वित्तीय पारदर्शिता र जबाफदेहिता कायम गराउन र सहकारी संस्थाको सञ्चालन प्रक्रियामा हुने विभिन्न प्रकारका जोखिमहरूको विश्लेषण गरी समयमानै त्यस प्रकारका जोखिमहरू निराकरणका उपायहरू अवलम्बन गर्न कार्यक्रमका सहभागीहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिको काम कर्तव्य र अधिकार, सहकारीमा सुशासनमा लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी तथा भूमिका, वित्तीय सुचाङ्क विश्लेषण र अनुपालन, सहकारीमा जोखिम विश्लेषण, आन्तरिक नियन्त्रण प्रणाली विकास र अभ्यास, आन्तरिक लेखा परीक्षण सुपरिवेक्षणमा ध्यान दिनुपर्ने कुराहरू र आन्तरिक लेखा परीक्षण प्रतिवेदन निमार्ण सिपको विषयमा गुणाकर खनाल , कमलकान्त खनाल र ऋषिकेश ज्ञवालीले सहजीकरण गर्नुभएको थियो ।
सिद्धार्थनगर सहकारी सञ्जाल भैरहवाका अध्यक्ष कुल प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सञ्जालका उपाध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको स्वागत तथा सचिव खिम बहादुर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।