चैत्र १०, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय कावासोतीको आयोजना तथा हेफर इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा बैंकको कर्जा लगानी प्रक्रिया सम्बन्धी “अन्तरक्रिया कार्यक्रम” आइतबार सम्पन्न भएको छ ।
सहकारी संघ संस्थाका सञ्चालक, व्यवस्थापकहरूलाई कर्जाको महत्त्व, कर्जाको लगानीको प्रक्रिया, कर्जाको उपयोगिता, कर्जा विश्लेषण तथा व्यवस्थापन, जोखिम व्यवस्थापन, लघु कर्जा र धितो सुरक्षणका लागि लिइने कागजात, असुली तथा निष्क्रिय कर्जा व्यवस्थापन, कालोसूची लगायतका विषयमा जानकारी दिने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा विभिन्न सहकारी संस्थाका ६३ जना प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
जिल्ला सहकारी संघ लिमिटेड नवलपुरका अध्यक्ष बद्री नेपालको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका प्रमुख कर्जा अधिकृत मोहन बहादुर कार्की र अधिकृत धर्म बहादुर भुजेलले बैंकले सदस्य सहकारी संस्थाहरुलाई लगानी गर्ने कर्जा तथा त्यसको विभिन्न प्रोडकहरुको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
बैंकले पछिल्लो समय सदस्य सहकारी संस्थाहरुको लागि कर्जा लगानी गर्दा न्यूनतम ब्याजदरमा कायम गरेको उल्लेख गर्दै त्यसबाट सदस्य संस्थाहरुले कर्जा उपभोग गरी भरपुर फाइदा लिन आग्रह गर्नुभयो । विगतको तुलनामा बैंकले कर्जा लगानीको प्रक्रिया र कागजातलाई सहज र सरल बनाएको जानकारी दिँदै सदस्य सहकारी संघ संस्थाहरूको माग अनुसार सहज, सरल र सुरक्षित तरिकाले बैंकको सबै शाखा कार्यालयहरू मार्फत कर्जा प्रवाह हुने बताउनु भयो ।
कार्यक्रममा सहभागीहरूले उठाएको जिज्ञासाको सम्बोधन गर्दै बैंकका प्रमुख कर्जा अधिकृत मोहन बहादुर कार्कीले सहकारी क्षेत्रलाई वित्तीय रूपमा सक्षम, संस्थागत रूपमा सुशासनयुक्त र प्रविधिमैत्री बनाउनका लागि सहकारी बैंकसँगको सहकार्यमा जोड दिन सहकारी संघ संस्थाहरुलाई आह्वान गर्नुभयो । बैंकले सदस्य सहकारीहरूको सेवा सुविधालाई मध्यनजर गर्दै वित्तीय तथा गैर–वित्तीय सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै सेवा उपभोग गर्न आग्रह गर्नुभयो ।