ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड न्यूरोड शाखाको आयोजनामा सञ्चालित “ऋण तथा जोखिम व्यवस्थापन तालिम” सोमबार सम्पन्न भएको छ ।
उक्त तालिमको आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले उद्घघाटन गर्नु भएको थियो ।
फागुन २५ र २६ गते सञ्चालन भएको तालिममा सहकारी संघ संस्थाहरुले आफ्ना सदस्यलाई कर्जा लगानी गर्दा ध्यान दिनु पर्ने विषयहरू, आवश्यक कागजातहरू, सुरक्षणका प्रक्रियाहरू लगायत सुरक्षित ऋण लगानी र प्रभावकारी असुली प्रक्रिया र कालो सुचीको विषयमा सचेत बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको शाखा प्रमुख रमा घिमिरेले बताउनु भयो ।
तालिममा न्यूरोड क्षेत्रको विभिन्न प्रकृतिका सहकारी संघ संस्थामा कार्यरत ऋण विभागका कर्मचारी र ऋण उप–समितिका संयोजक तथा सदस्यहरू गरी ४४ जनाको सहभागिता रहेको थियो ।
तालिममा ऋणको परिचय र महत्व, ऋण लगानीका प्रक्रियाहरू, आवश्यक कागजात, क्षमतामा आधारित ऋण लगानी, व्यवसाय विश्लेषण, ऋण अनुगमन र निरीक्षण, धितो मूल्याङ्कन, जोखिम पहिचान र व्यवस्थापन, सहकारीको ऋण असुली सम्बन्धी कानुनी व्यवस्थाहरू, ऋणको वर्गीकरण, भाखा नाघेको ऋण असुलीका उपायहरू, ऋण फायल र असुली सम्बन्धी कागजात, असुलीका प्रयासहरूको अभिलेख तथा प्रतिवेदन र ऋण व्यवस्थापन कार्यविधि लगायतका विषयमा बैंकको जोखिम व्यवस्थापन विभागका प्रमुख प्रमोद कुमार घिमिरे, स्तरीकरण विभागका अधिकृत नव कुमार अधिकारी, कर्जा विभागका रादिप चौहान र धर्म बहादुर भुजेलले सहजीकरण गर्नु भएको थियो ।
तालिमका सहभागीहरूले तालिम कार्यक्रमले कर्जा लगानी र असुली व्यवस्थापनको विधि, प्रक्रिया लगायत जोखिम न्यूनीकरणका विषयमा सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्दै तालिम फलदायी रहेकोले, लगानी गर्दा अपनाउनु पर्ने सावधानीका विषयमा धेरै जानकारी पाएको बताएका छन् ।
तालिमका सहभागीहरूलाई बैंकको सदस्य सेवा महाशाखाका प्रमुख राम बहादुर आचार्यले प्रमाण पत्र वितरण गर्दै समापन गर्नु भएको थियो ।