ललितपुर । ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला उद्यमशीलता विकास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा बिहीबार भर्चुअल माध्यमबाट सञ्चालित कार्यक्रममा बैंकको सञ्चालक एवम् लैङ्गिक समानता उपसमितिकी संयोजक तारा गुरुङको अध्यक्षता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालकी अध्यक्ष एवम् कार्यक्रमकी प्रमुख अतिथि ओमदेवी मल्लले महिलाहरूको वित्तीय पहुँच अभिवृद्धिमा उद्यमशीलता विकासले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सहकारी बैंकलाई महिलाका लागि विशेष ऋण कोषको व्यवस्था गर्न आग्रह गर्दै व्यवसाय गर्न चाहने महिलाहरूलाई विनाधितो ऋण प्रवाहको नीति निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । सहकारीमा महिला नेतृत्व वृद्धिका लागि आफूले पहल गरिरहेको उल्लेख गर्नु भयो ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले महिला उद्यमशीलता विकासका लागि राज्यका तर्फबाट भएका व्यवस्थाहरूको बारेमा प्रकाश पार्नुभएको थियो त्यस्तै प्रतिष्ठानकै प्रशासन तथा तालिम अधिकृत गोमा कुमारी अधिकारीले उद्यमशीलताको परिचय, उद्यमीको महत्त्व, सफल उद्यमीका विशेषता, उद्यमी पहिचानको आधार, महिला घरेलु उद्यमका सम्भावनाहरू, महिला उद्यमीका अवसर र चुनौतीका बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले कार्यक्रमको उद्देश्य र औचित्य माथि प्रकाश पार्दै महिला सशक्तीकरणमा बैंकको भूमिकाबारे प्रकाश पार्दै समानताको सुरुवात घरबाटै गर्नुपर्ने उल्लेख गर्नु भयो । उहाँले बैंकले महिला उद्यमशीलताका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिसकेको र आगामी दिनमा थप कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा देशभरिका ४५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।कार्यक्रमको समापन गर्दे बैंकका सञ्चालक तथा लैङ्गिक समानता उपसमितिका संयोजक तारा गुरुङले कार्यक्रमका प्रमुख अतिथि, प्रशिक्षक लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै महिला उद्यमशीलता विकासलाई प्रभावकारी बनाउन सबैको साथ सहयोग अपरिहार्य रहेको बताउनु भयो ।
बैंकले हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण भन्ने नाराका लागि अन्तर्राष्ट्रिय महिला दिवस विश्वभरि नै ८ मार्चमा मनाईदैछ ।