फागुन ९ ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय सिन्धुलीको आयोजनामा सञ्चालित “कर्जा लगानी तथा असुली व्यवस्थापन तालिम” बिहीबार सम्पन्न भएको छ ।
फागुन ७ र ८ गते सिन्धुली माडीमा सञ्चालन भएको तालिममा सहकारी संघ संस्थाहरुले आफ्ना सदस्यलाई कर्जा लगानी गर्दा ध्यान दिनु पर्ने विषयहरू, आवश्यक कागजातहरू, सुरक्षणका प्रक्रियाहरू लगायत सुरक्षित ऋण लगानी र प्रभावकारी असुलीका विषयमा सचेत बनाउने उद्देश्यका साथ तालिमको सञ्चालन गरिएको शाखा प्रमुख मिनिता पौडेलले बताउनु भयो ।
तालिममा सिन्धुली जिल्लाको विभिन्न प्रकृतिका सहकारी संघ संस्थामा कार्यरत ऋण विभागका कर्मचारी र ऋण उप–समितिका संयोजक तथा सदस्यहरू गरी ३३ जनाको सहभागिता रहेको थियो ।
तालिममा ऋणको परिचय र महत्व, ऋण लगानीका प्रक्रियाहरू, आवश्यक कागजात, क्षमतामा आधारित ऋण लगानी, व्यवसाय विश्लेषण, ऋण अनुगमन र निरीक्षण, धितो मुल्यांकन, जोखिम पहिचान र व्यवस्थापन, सहकारीको ऋण असुली सम्बन्धी कानुनी व्यवस्थाहरू, ऋणको वर्गीकरण, भाखा नाघेको ऋण असुलीका उपायहरू, ऋण फायल र असुली सम्बन्धी कागजात, असुलीका प्रयासहरूको अभिलेख तथा प्रतिवेदन र ऋण व्यवस्थापन कार्यविधि लगायतका विषयमा बैंकको तालिम विभागका अधिकृत राज कुमार बरालले सहजीकरण गर्नु भयो ।
तालिमका सहभागीहरूले तालिम कार्यक्रमले कर्जा लगानी र असुली व्यवस्थापनको विधि, प्रक्रिया लगायत जोखिम न्यूनीकरणका विषयमा सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्दै तालिम फलदायी रहेकोले, लगानी गर्दा अपनाउनु पर्ने सावधानीका विषयमा धेरै जानकारी पाएको बताएका छन् ।