माघ २५, ललितपुर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को आयोजना र राष्ट्रिय सहकारी बैंक लिमिटेड को प्राविधिक सहयोगमा राष्ट्रिय सहकारी बैंकको सहकारी स्तरीकरण सम्बन्धी केयर कार्यक्रममा आबद्ध संस्थाहरु बिचको समीक्षा कार्यशाला झापामा बिहीबार सम्पन्न भएको छ ।
बैंकद्वारा सञ्चालित सहकारी स्तरीकरण सम्बन्धी केयर कार्यक्रममा आबद्ध झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सप्तरीको आइडियल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र त्रियुगा सहकारी संस्था लिमिटेडका अध्यक्ष सञ्चालक समिति र व्यवस्थापन प्रमुखको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाहरूको संस्थागत प्रस्तुतीकरण गर्नुका साथै संस्थाको वित्तीय स्वास्थ्य र सुशासनका अवस्थाहरूमाथि छलफल एवम् समीक्षा गरिएको थियो ।
आयोजक संस्थाको केयर कार्यदलका संयोजक अम्बिका प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यशाला गोष्ठीको प्रमुख अतिथि बैंकका अध्यक्ष महेन्द्र कुमार गिरी रहनुभएको थियो । कार्यक्रममा बैंकका सञ्चालक एवम् मधेस प्रदेश संयोजक विश्वनाथ मण्डल र सहकारी अभियन्ता तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का पूर्व अध्यक्ष रामचन्द्र उप्रेतीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमको उद्घाटन पछि बोल्दै बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले सहकारी बैंकले सहकारी स्तरीकरण तालिम तथा सदस्य संस्थाहरूमा उद्यमशीलता वृद्धि सम्बन्धी कार्यक्रमलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले सहकारी बैंकले सहकारी संस्थाहरूको विकास र प्रवद्र्धनको लागि वित्तीय सेवाका अतिरिक्त सदस्य संस्थाहरूको क्षमता विकासलाई प्राथमिकता दिएर अगाडि बढेको उल्लेख गर्नुभयो ।
बैंकका सञ्चालक विश्वनाथ मण्डलले सहकारी अभियानको विश्वसनीयता तथा गुणस्तरलाई वृद्धि गर्न स्तरीकरण कार्यक्रममा आबद्ध हुनुको विकल्प नरहेकोमा जोड दिनुभयो । स्तरीकरण कार्यक्रम मार्फत सुशासन र पारदर्शितता कायम गरी दिगो सहकारीको रूपमा विकास गर्न सकिने भएको हुँदा बैंकद्वारा सञ्चालित स्तरीकरण कार्यक्रममा सहभागी हुन संस्थाहरुलाई आह्वान गर्नुभयो ।
सहकारी अभियन्ता तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष रामचन्द्र उप्रेतीले एक–एक संस्थामा प्रवर्धन हुने सुशासन र वित्तीय व्यवस्थापनले अन्य सहकारीहरूमा पनि सिकाइको विकास गर्दै समग्र सहकारी क्षेत्रको प्रवर्धनमा उल्लेख्य भूमिका खेल्ने कुरामा जोड दिनुभयो ।
कार्यदलका संयोजक अम्बिका प्रसाद दाहालले सहकारी स्तरीकरण कार्यक्रम सहकारी संस्थाको नाडी छाम्दै सही बाटोमा मार्ग निर्देश गर्न अत्यन्तै महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । उहाँले सहकारी संस्थाहरूको प्रवद्र्धन, विकास तथा सुशासन व्यवस्थापनमा केयर कार्यक्रम अत्यन्तै उपयोगी रहेकोमा जोड दिनु भयो ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका केयर कार्यदलका फोकल पर्सन जीवनमणि कटुवालले सञ्चालन गर्नुभएको कार्यक्रममा प्राविधिक सेसनको सहजीकरण बैंकको स्तरीकरण विभागका अधिकृत सूर्यप्रसाद रिमाल र सुन्दरहरैचा शाखाका शाखा प्रमुख मनोज लामिछानेले गर्नुभएको थियो ।