‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ र राष्ट्र बैंकको निर्देशन सम्बन्धी अन्तरक्रिया एवम् सुझाव संकलन कार्यक्रम पोखरामा सम्पन्न
Jan 26, 2025

‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ र राष्ट्र बैंकको निर्देशन सम्बन्धी अन्तरक्रिया एवम् सुझाव संकलन कार्यक्रम पोखरामा सम्पन्न

माघ १३, ललितपुर । सहकारी क्षेत्रको  विकास, विस्तार एवम् नियमन गर्नका लागि ल्याइएको सहकारी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र नेपाल राष्ट्र बैंकको निर्देशन एवम् मापदण्डका विषयमा अन्तरक्रिया एवम् सुझाव संकलन सम्बन्धी प्रदेश स्तरीय कार्यक्रम गण्डकी प्रदेशको पोखरामा आइतबार सम्पन्न भएको छ । 

राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा गण्डकी प्रदेशमा रहेका विभिन्न सहकारी संघ संस्थाका एक सय भन्दा बढी सहकारीकर्मी, विज्ञ, तथा सहकारी अभियन्ताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले अहिले ल्याइएको अध्यादेश तथा राष्ट्र बैंकको निर्देशन एवम् मापदण्डले सहकारी संस्थालाई झन् समस्यामा ल्याउने र संस्था बन्द गराऊ भन्ने खालको आएको टिप्पणी गरेका छन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दै बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश सरकारद्वारा जारी गर्नु स्वागत योग्य भए पनि त्यसमा भएको केही बुँदाहरू संशोधन गर्नुपर्ने बताउनुभयो ।  उहाँले अध्यादेशमा समावेश भएका केही प्रावधानहरूले सहकारी क्षेत्रलाई कमजोर बनाउने खालको  रहेकाले त्यसलाई प्रतिस्थापन विधेयक मार्फत उक्त बुँदाहरू संशोधन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

राष्ट्रिय सहकारी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष एवम् बैंकका पदेन सदस्य रमेश प्रसाद पोखरेलले अध्यादेशमा बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थाहरूमा कार्यक्षेत्रका आधारमा व्यक्तिगत बचतको सीमा निर्धारण गर्दा सहकारी संस्थाको सेवा दायरा र सदस्यहरूको वित्तीय पहुँचलाई प्रतिकुल असर पर्ने भएकोले त्यसलाई अभियानले ध्यानाकर्षण जनाएको बताउनु भयो ।

बैंकको लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले बैंकको हालको अवस्था, आगामी दिनको योजनाका विषयमा जानकारी गराउँदै सदस्य सहकारी संघ संस्था तथा अभियानको सहयोग लिँदै र सदस्य संस्थाहरुलाई सहजीकरणमा सहयोग गरी अगाडि बढ्ने बताउनु भयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सरकारले जारी गरेको ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ र नेपाल राष्ट्र बैंकको निर्देशन एवम् मापदण्डको विषयमा कार्यपत्र पेस गर्नु भएको थियो । 

कार्यक्रममा नेपाल केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर बहादुर कुँवर, पोखरा महानगर सहकारी समितिका सभापति रवि रमण तिवारी, प्रदेश कृषि सहकारी संघका अध्यक्ष रामजी प्रसाद अधिकारी, सीवाईसी बचत तथा ऋण सहकारी संस्था बाग्लुङका अध्यक्ष चण्डी प्रसाद शर्मा, जिल्ला सहकारी संघ नवलपुरका तिलक प्रसाद पराजुली, विशाल सहकारी पोखराका सुदिप ढकाल, कास्की जिल्ला बचत तथा ऋण सहकारी संघका शेर बहादुर कार्की, जिल्ला सहकारी संघ बाग्लुङका तेजप्रसाद शर्मा, सिएमसी कास्कीका निवर्तमान अध्यक्ष अपिल कोइराला, सचिव शंकर प्रसाद पौडेल, सदस्य सुशील के.सी.,  सिएमसी म्याग्दीका नेत्रराज सुवेदी, नवरत्न सहकारीका श्याम प्रसाद शर्मा, पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ लगायतले अध्यादेश, निर्देशन एवम् मापदण्ड लगायतमा सुझाव राख्नु भएको थियो ।

सहभागीबाट आएका सुझावहरूलाई संकलन गरी अन्य प्रदेशबाट समेत आएका सुझावहरूलाई एकत्रित गरी सम्बन्धित निकायहरूमा बैंकको तर्फबाट सुझाव पेस गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताउनु भयो ।

बैंकको सदस्य सेवा महाशाखा प्रमुख रामबाबु आचार्यले सञ्चालन गर्नु भएको कार्यक्रम बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीको अध्यक्षता, राष्ट्रिय सहकारी माहासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंकका निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य पार्वती थापा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा बैंकको लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेती, सदस्य चन्द्रकुमारी पराजुली, सञ्चालकहरू अमृता सुब्बा, विश्वनाथ मण्ड, विजया धिताल, कालीबहादुर महतरा ध्रुवराज विष्ट, गण्डकी प्रदेश प्रमुख नरेश पाण्डे तथा गण्डकी प्रदेशका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error