ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको माघ १० गतेदेखि पोखरामा सञ्चालन भएको अर्ध–वार्षिक समीक्षा गोष्ठी एक कार्यक्रमका बिच शनिवार सम्पन्न भएको छ ।
३ दिनसम्म सञ्चालित उक्त गोष्ठीमा बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्राप्त गरेको प्रगतिको विश्लेषण तथा भावी कार्य योजनाको समेत तर्जुमा गरेको छ । साथै, आगामी दिनमा बैंकले आफ्ना ७ वटै प्रदेशमा रहेको शाखा कार्यालयहरू मार्फत बैंकको व्यवसाय विकास तथा सदस्य सेवामा उच्चस्तरीय भूमिका निभाउने प्रतिबद्धता जाहेर गरेको छ । गोष्ठीमा बैंकका ७ वटै प्रदेशमा रहेका बैंकका ६८ वटै शाखाका शाखा प्रमुखहरूले आ–आफ्ना शाखा कार्यालयमा हाल देखिएको कमी कमजोरी पूर्ण रूपमा निराकरण गर्दै शाखा तथा समग्र बैंकको बृहत्तर विकासमा एकबद्ध भई लाग्ने र तोकिएको लक्ष्य पुरा नभएका शीर्षकमा आगामी आषाढ मसान्तसम्म लक्ष्य पुरा गर्ने प्रतिबद्धता जाहेर गरिएको छ ।
समापन कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले बैंकको समग्र नीतिगत कुरालगायत बैंकको भावी योजनाको समेत समग्र विश्लेषण गर्नुभएको थियो भने, सम्पूर्ण शाखा प्रमुखहरूलाई आ–आफ्ना शाखा कार्यालयको लक्ष्य प्राप्तिमा एकाग्र भई लाग्न प्रेरित समेत गर्नुभयो ।
समापन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बैंकले सदस्यलाई दिने सेवा–सुविधालाई अझै परिष्कृत गर्दै लैजाने र समग्र सहकारी क्षेत्रको विकासका लागि बैंकले नेतृत्वदायी भूमिका खेल्ने बताउनु भयो ।
उहाँले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा बैंकको अधिकांश सूचकहरूमा सुधार हुँदै गएको जानकारी दिनुहुँदै, बाँकी छ महिनाको अवधिमा वार्षिक लक्ष्य अनुसारको कार्य प्रगति गर्न बैंक सफल भई सदस्यहरूलाई प्रतिफल दिन सक्ने उल्लेख गर्नुभयो ।
गोष्ठी कार्यक्रमको समापनमा बैंकका पदेन सदस्य एवम् निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेल, सञ्चालकहरू अमृता सुब्बा, विश्वनाथ मण्डल, विजया धिताल, काली बहादुर महतरा, ध्रुवराज विष्ट, लेखा सुपरिवेक्षण समिति सदस्य चन्द्रकुमारी पराजुलि, बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाई, नायब महाप्रबन्धक राजेश श्रेष्ठ, सदस्य सेवा महाशाखाका प्रमुख राम बाबु आचार्य, प्रमुख कर्जा अधिकृत मोहन बहादुर कार्की, प्रमुख जोखिम अधिकृत प्रमोद कुमार घिमिरे, प्रमुख सञ्चालन अधिकृत भरत कुमार चिमरिया, प्रमुख प्रविधि अधिकृत नवीन कुमार कार्की, व्यवसाय विकास विभाग प्रमुख मधु रायमाझी सहित प्रदेश प्रमुखहरू र शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।
सहकारी संघ संस्थाहरूसँग मात्र कारोबार गर्दै आइरहेको राष्ट्रिय सहकारी बैंकले ६८ वटा शाखा मार्फत देशभरका १६ हजार ३६९ शेयर सदस्य सहकारी संघ संस्थाहरूसँग कारोबार गर्दै आइरहेको छ ।