माघ १०, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड को चालू आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमास सम्मको “अर्ध वार्षिक समीक्षा गोष्ठी” बिहीबार देखि पोखरामा सुरु भएको छ ।
गत श्रावण देखि पुस मसान्त सम्मको समीक्षा गरी बाँकी ६ महिनाको कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ समीक्षा गोष्ठी सुरु गरिएको बैंकले जनाएको छ ।
३ दिनसम्म सञ्चालन हुने अर्ध वार्षिक समीक्षा गोष्ठी कार्यक्रमको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले शुभारम्भ गर्नुभयो ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख कार्यकारी अधिकृत गुरागाईले बैंकको रणनीतिक योजना तथा वार्षिक बजेट तथा कार्यक्रम अनुसार प्रतिफल प्राप्त गर्नका लागि विभागीय प्रमुख, प्रदेश प्रमुख तथा शाखा प्रमुखहरूको भूमिकालाई थप प्रभावकारी बनाउन गोष्ठी सफल हुने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा बैंकको अधिकांश सूचकहरूमा सुधार हुँदै गएको जानकारी दिनुहुँदै बाँकी छ महिनाको अवधिमा वार्षिक लक्ष्य अनुसारको कार्य प्रगति गर्न बैंक सफल हुने बताउनु भयो ।
गोष्ठीमा बैंकका विभागीय प्रमुख, शाखा प्रमुखहरूले आ–आफ्नो विभाग तथा शाखाको वर्तमान अवस्था, आगामी लक्ष्य, सम्भावना, अवसर र चुनौतीका विषयमा प्रस्तुति गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रादेशिक तथा शाखा कार्यालयहरूको समग्र समीक्षा गरी चालू आर्थिक वर्षको लक्ष्य प्राप्तिको विषयमा समेत छलफल एवम् अन्तरक्रिया हुनेछ ।
शुभारम्भ कार्यक्रमको सञ्चालन बैंकको सदस्य सेवा महाशाखाका प्रमुख राम बाबु आचार्यले गर्नु भएको थियो । समीक्षा गोष्ठी माघ १२ गते सम्म सञ्चालन हुने छ ।
गोष्ठी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाई, नायब महाप्रबन्धक राजेश श्रेष्ठ, सदस्य सेवा महाशाखाका प्रमुख राम बाबु आचार्य, प्रमुख कर्जा अधिकृत मोहन बहादुर कार्की, प्रमुख जोखिम अधिकृत प्रमोद कुमार घिमिरे, प्रमुख सञ्चालन अधिकृत भरत कुमार चिमरिया, प्रमुख प्रविधि अधिकृत नवीन कुमार कार्की, व्यवसाय विकास विभाग प्रमुख मधु रायमाझी, प्रदेश प्रमुखहरु र शाखा प्रमुखहरूको सहभागिता रहेको छ ।
सहकारी संघ संस्थाहरूसँग मात्र कारोबार गर्दै आइरहेको राष्ट्रिय सहकारी बैंकले ६८ वटा शाखा मार्फत देशभरका १६ हजार ३६९ शेयर सदस्य सहकारी संघ संस्थाहरूसँग कारोबार गर्दै आइरहेको छ ।