पुस २६, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड र कास्कीको अन्नपूर्ण गाउँपालिका बिच सहकारी सम्बन्धी कार्यक्रम सञ्चालन गर्न बिहीबार सम्झौता भएको छ ।
गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेल र बैंकको तर्फबाट बैंकको गण्डकी प्रदेशका प्रमुख नरेश पाण्डेले बैंक र गाउँपालिका बिच भएको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार गाउँपालिकाको क्षेत्राधिकार भित्रका ३७ वटा सहकारी संस्थाको स्थलगत अनुगमन, प्रतिवेदन र समीक्षाका कार्यक्रमहरू कार्यान्वयन गर्ने उल्लेख गरिएको छ, त्यसका लागि कुल बजेटको ७५ प्रतिशत गाउँपालिकाले र २५ प्रतिशत बजेट बैंकले व्यहोर्ने सम्झौता भएको छ ।
गाउँपालिकाले आफ्नो नियामकीय क्षेत्राधिकार भित्र रहेका सहकारी संस्थाहरुको आवश्यक विवरण उपलब्ध गराउनका साथै अनुगमन कार्य सहजीकरणको लागि आवश्यकता अनुसार जनशक्ति खटाउने र बैंकले कार्यक्रम कार्यान्वयन गर्दा संघीय तथा गाउँपालिकाको सहकारी संस्थाको सुपरिवेक्षण निरीक्षण तथा अनुगमन निर्देशिका-२०८० मा उल्लेखित भएको प्रावधान अनुसार अनुगमन गर्ने सम्झौता भएको बैंकको पोखरा शाखाका प्रमुख रुक्मत श्रेष्ठले जानकारी दिनु भयो ।
गाउँपालिकाको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार गाउँपालिका क्षेत्रभित्रका सहकारी संस्थाहरुको क्षमता विकास तथा अनुगमन सम्बन्धी कार्यक्रम लागत साझेदारीमा बैंकसँगको समन्वयमा कार्यक्रम सम्झौता गरी कार्यान्वयन गर्दा गाउँपालिका क्षेत्रका सहकारी संस्थाहरुको संस्थागत सुशासन र प्रवद्र्धनमा सहयोग पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलले बताउनु भयो ।