पुस १२, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड सुन्दरहरैंचा शाखा आयोजनामा सहकारी संस्थाहरूको कार्यालयमा अग्र भागमा रहेर सदस्य सेवा गर्ने सहायक स्तरका कर्मचारीहरूका लागि सञ्चालित एक दिवसीय “सदस्य सम्बन्ध विकास तालिम” शुक्रवार सम्पन्न भएको छ ।
सहकारीमा सदस्यहरूसँगको सम्बन्ध सुमधुर र बलियो बनाउन दक्षता विकास गर्ने उद्देश्यका साथ तालिम सञ्चालन भएको तालिममा शाखाको कार्यक्षेत्र रहेको सुन्दरहरैंचा, केराबारी, कानेपोखरी, लेटाङ र बेलबारी नगरपालिका क्षेत्रमा रहेका २१ सहकारी संस्थाका ३८ जना सहायक कर्मचारीहरूको सहभागिता रहेको थियो ।
तालिमको समापन सत्रको अध्यक्षता इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुन्दरहरैंचाका अध्यक्ष गोपाल प्रसाद पौड्यालले गर्नुभएको थियो भने, राष्ट्रिय सहकारी बैंक सुन्दरहरैंचा शाखा समन्वय उप–समितिका संयोजक टिकाप्रसाद कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूलाई प्रमाण पत्र वितरण कार्यक्रम पश्चात् बोल्दै प्रमुख आतिथी शाखा समन्वय उप–समितिका संयोजक टिकाप्रसाद कट्टेलले सम्पूर्ण सहभागीहरूलाई तालिममा सिकेका विषयहरू व्यवहारमा लागू गर्न र आवश्यक सहयोगका लागि सहकारी बैंकसँग निरन्तर समन्वय गर्न अनुरोध गर्दै बैंकले निरन्तर सदस्य शिक्षा कार्यक्रम मार्फत सदस्य संस्थाहरुको क्षमता विकास गरिरहेको र भविष्यमा समेत यस्ता कार्यक्रमहरूको निरन्तरता दिने योजना रहेको बताउनुभयो ।
तालिममा सहकारीका कर्मचारीमा हुनुपर्ने ज्ञान, सिप, दक्षता, सदस्य सेवामा गर्नुपर्ने व्यवहार, कार्यालय व्यवस्थापनका साथै सदस्य सम्बन्ध विकासका विभिन्न व्यवहारिक पक्षहरूका विषयमा बैंकको सदस्य सेवा महाशाखा तालिम स्तरीकरण विभागका अधिकृत राजकुमार बरालले सहजिकरण गर्नुभएको थियो । तालिम समापन सत्रको कार्यक्रम सञ्चालन शाखा प्रमुख मनोज लामिछानेले गर्नुभएको थियो ।