मङ्सिर २९, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २१औँ वार्षिक साधारणसभाको अवसरमा विभिन्न व्यक्ति तथा संघ/संस्थाहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
एकाइ ३ अन्तर्गत बागमती प्रदेशको काठमाडौँमा शनिवार भएको एकाइ साधारण सभामा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सम्मानित व्यक्ति तथा संघ÷संस्थाका प्रतिनिधिहरूलाई सम्मान तथा पुरस्कार वितरण गर्नुभयो ।
बैंकले विभिन्न विधामा पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम अन्तरगत राष्ट्रिय स्तरको बैंकका संस्थापक अध्यक्ष स्वर्गीय राजेशहरि जोशी स्मृति सम्मान पुरस्कारबाट विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काभ्रेका संस्थापक अध्यक्ष भरत प्रसाद शर्मालाई सम्मान गरेको छ । त्यसैगरी पूर्व सञ्चालक तर्फ बैंकका पूर्व रामशरण शर्मा घिमिरे, राष्ट्रिय सहकारी बैंक लिमिटेड दीर्घ सेवा सम्मानबाट बैंकका प्रमुख कर्जा अधिकृत मोहन बहादुर कार्की र राष्ट्रिय सहकारी बैंक पत्रकारिता पुरस्कारबाट पत्रकार सोभित थपलियालाई प्रदान गरेको छ ।
त्यसैगरी बैंकले देशभरका सदस्य सहकारी संघहरु मध्ये राष्ट्रिय स्तरको भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड, भक्तपुर, उत्कृष्ट सहकारी संस्था सम्मान पुरस्कार (बचत तथा ऋण) सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा, रुपन्देही, उत्कृष्ट सहकारी संस्था सम्मान पुरस्कार (बचत तथा ऋण बाहेक) तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेड तिलोत्तमा, रुपन्देही, उत्कृष्ट सहकारी संस्था सम्मान पुरस्कार राष्ट्रिय स्तर महिलाद्वारा सञ्चालित संस्था मध्ये सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड इन्द्रसरोवर, मकवानपुरलाई सम्मान गरेको छ ।
त्यसैगरी बैंकको शाखा कार्यालयहरू मध्येबाट महेन्द्रनगर शाखा कार्यालय कञ्चनपुर, कर्मचारीहरू मध्ये अधिकृत तहबाट नरेश कामती (कामत) शाखा प्रमुख टाँडी, सहायक स्तरबाट हर्क बहादुर कडायत (केन्द्रीय कार्यालय), सहयोगी स्तरबाट गुण राज श्रेष्ठ (ठिमी शाखा) लाई सम्मान गरिएको छ ।
त्यसैगरी बैंकले प्रदेश स्तरीय पुरस्कार सातै प्रदेशमा वितरण गरेको छ, भने शाखा स्तरको पुरस्कार घोषणा गरेको छ । शाखा स्तरको पुरस्कार शाखा स्तरमा हुने कार्यक्रममा वितरण गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताउनु भयो ।
हरेक वर्ष बैंकले प्रदान गर्ने पुरस्कार तथा सम्मान साधारण सभाको अवसरमा घोषणा गरेर स्थापना दिवसको अवसरमा वितरण गर्ने गरेता पनि यस वर्ष बैंकले साधारण सभाको अवसरमा वितरण बैंकका नायब महाप्रबन्धक राजेश श्रेष्ठले बताउनु भयो ।