मङ्सिर २९, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको एकाइ स्तरमा भएको २१औँ वार्षिक साधारणसभा शनिवार सात वटै प्रदेशमा एकैसाथ सम्पन्न भएको छ ।
प्रदेश अन्तर्गत एकाइहरूमा भएको साधारणसभा कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरूको होटेल मनास्लु इन विराटनगर–४, मोरङमा, मधेस प्रदेशका सम्पूर्ण जिल्लाहरूको दीपक पार्टी प्यालेस एन्ड रिसोर्ट प्रा.ली., बर्दिबास–१, महोत्तरीमा सम्पन्न भएको छ । त्यसै गरी बागमती प्रदेशका सम्पूर्ण जिल्लाहरूको सशस्त्र प्रहरी बलको सभाहल, हलचोक काठमाडौंमा, गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाहरूको पोखरा दीप सागर होटेल रेस्टुरेन्ट एन्ड बार प्रा. ली कास्कीमा, लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाहरूको द–दरबार लन प्रा.ली., तिलोत्तमा–३, शान्तिचोक, रुपन्देहीमा, कर्णाली प्रदेशका सम्पूर्ण जिल्लाहरूको जिल्ला समन्वय समितिको सभाहल वीरेन्द्रनगर, सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्लाहरूको रिद्धिसिद्धी पार्टी प्यालेस रातोपुल, धनगढीमा भएको थियो ।
साधारण सभामा बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/०८२ को प्रस्तावित बजेट तथा कार्यक्रम, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले प्रस्तुत गर्नुभयोे, त्यसैगरी बैंकको विनियम संशोधन, कार्यविधिहरू थप तथा संशोधन बैंकका सञ्चालक केदार मानन्धरले प्रस्तुत गर्नुभयो ।
साधारणसभाको अवसरमा बैंकले विभिन्न विधाका सम्मान तथा पुरस्कारहरू वितरण गरेको छ, भने शाखा स्तरको पुरस्कार घोषणा गरेको छ । शाखा स्तरको पुरस्कार बैकले शाखा स्तरमा कार्यक्रमको आयोजना गरी वितरण गर्ने बैंकका सञ्चालक रामहरि बजगाईंले बताउनु भयो ।
साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/०८२ को प्रस्तावित बजेट तथा कार्यक्रम, लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजकद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन, आर्थिक वर्ष २०८०÷०८१ लेखापरिक्षण प्रतिवेदन सहित साधारण सभामा प्रस्तुत ११ वटा कार्यसूचीहरू तथा थप कार्यसूचीहरू सबै प्रदेशहरूबाट सर्वसम्मत पारित भएका छन् । बागमती प्रदेश अन्तर्गतको सभामा प्रस्तुत भएको प्रतिवेदनहरू भर्चुअल माध्यमबाट अन्य प्रदेशको साधारण सभामा हेर्ने व्यवस्था मिलाइएको थियो ।
कोशी प्रदेशमा बैंकका सञ्चालक एवम् प्रदेश संयोजक अमृता सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका अध्यक्ष एवम् बैंकका पदेन सदस्य रमेश प्रसाद पोखरेलले उद्घाटन गर्नुभयो । कार्यक्रममा कोशी प्रदेशको सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार हरिबहादुर खत्रीको मन्तव्य र बैंकको सूचना, प्रविधि, सञ्चार तथा प्रकाशन उपसमितिका सदस्य डा. डिल्ली प्रसाद पोखरेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।
मधेस प्रदेशमा आयोजित कार्यक्रमको अध्यक्षता बैंकका सञ्चालक एवम् प्रदेश संयोजक विश्वनाथ मण्डलले गर्नुभएको थियो, भने कार्यक्रमको उद्घाटन मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले गर्नुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक नथुनी यादव, बैंकको लघुवित्त तथा उद्यम उपसमितिका सदस्य भरत साह, राष्ट्रिय पशुपंक्षि तथा मत्स्य केन्द्रीय सहकारी संघका उपाध्यक्ष बिमला साह लगायतको आतिथ्यता रहेको थियो । बैंकको कर्जा विभागका प्रमुख मोहन बहादुर कार्कीको स्वागत तथा प्रदेश प्रमुख विष्णु प्रसाद पराजुलिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बागमती प्रदेशको एकाइ सभामा बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीको अध्यक्षता भएको कार्यक्रमको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका अध्यक्ष ओमदेवी मल्ल र राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव डा.खगराज शर्मा, बैकका सल्लाहकार मिनराज कंडेल लगायतको आतिथ्यता रहेको थियो ।
त्यसैगरी गण्डकी प्रदेशमा आयोजित कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले गर्नुभयो । बैंकका सञ्चालक पार्वती थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजाल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघका सञ्चालक कमला देवी गिरी, केन्द्रीय दुग्ध सहकारी संघका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज बराल लगायतको आतिथ्यता रहेको थियो । बैंकका सञ्चालक एवम् प्रदेश संयोजक राम बहादुर जि.सीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य लेखा सुपरिवेक्षण समितिका सदस्य चन्द्रकुमारी पराजुलीले गर्नुभयो ।
लुम्बिनी प्रदेशमा भएको कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्री मा. भूमिश्वर ढकालले उद्घाटन गर्नुभयो । बैंकका सञ्चालक विजया धितालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका लेखा सुपरिवेक्षण समिति संयोजक भीम प्रसाद तुलाचन, राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् जिल्ला कृषि सहकारी संघ रुपन्देहीका अध्यक्ष टिका न्यौपाने, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, सञ्चालक ज्ञानु पौडेल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक हरि काफ्ले लगायतको आतिथ्यता रहेको थियो ।
त्यसैगरी कर्णाली प्रदेशमा भएको कार्यक्रमको उद्घाटन कर्णाली प्रदेशसभाका उपसभामुख यशोदा न्यौपानेले गर्नुभयो । उद्घाटन पछि कार्यक्रममा मन्तव्य राख्दै उपसभामुख न्यौपानेले सहकारीले ग्रामीण क्षेत्रका जनतालाई आर्थिक गतिविधिमा संलग्न गराई उनीहरूको आर्थिक विकासमा ठुलो योगदान पु¥याएको बताउनु भयो । सहकारीले ग्रामीण भेगका जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सहकारीले यस क्षेत्रको अझ विकास र प्रवर्द्धन हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक हरिहर नाथ योगीले सहकारी अभियानको एक मात्र बैंकको रूपमा राष्ट्रिय सहकारी बैंक रहेकोले अभियानमा यसको महत्त्वपूर्ण भूमिका रहनुका साथै वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको थियो ।
कार्यक्रमका अर्का विशेष अतिथि भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय कर्णाली प्रदेशका रजिष्ट्रार खुम प्रसाद सुवेदीले सहकारीमा सञ्चालकले सहकारीको सिद्धान्त र मूल्य, मान्यतालाई मात्र पालना गर्न सके सहकारीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकिन्छ भन्दै बैंकको साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका विशेष अतिथि एवं सहकारी विकास बोर्ड सदस्य भूपेन्द्र सिंहले सहकारी विकास कोष निमार्ण गरी कर्णाली प्रदेशमा सहकारी उद्यमशीलता प्रवर्द्धन गर्न सहयोग गर्ने कुरा जोड दिनु भएको थियो ।
बैंकका सञ्चालक एवं कर्णाली प्रदेश संयोजक श्री काली बहादुर महाताराको अध्यक्षता सम्पन्न भएको कर्णाली प्रदेश स्तरीय एकाइगत साधारणसभाको स्वागत मन्तव्य कर्णाली प्रदेश कार्यालयका प्रदेश प्रमुख हिरालाल सुनारले गर्नुका साथै कार्यक्रमको सञ्चालन बैंकका वरिष्ठ अधिकृत मिना शर्माले गर्नुभएको थियो ।
सुदूरपश्चिम प्रदेशमा भएको कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गर्नुभयो । बैंकका सञ्चालक ध्रुवराज विष्टको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सदस्य तुलसी देवकोटा, राष्ट्रिय सहकारी महासंघका सञ्चालक माधव प्रसाद जोशी, लगायतको आतिथ्यता रहेको थियो ।
बैंकका सञ्चालक शिवा थापाले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य व्यवसाय विकास विभागका प्रमुख मधु रायमाझीले गर्नुभयो ।