बाँकेको कोहलपुरमा सञ्चालित सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न
Oct 22, 2024

बाँकेको कोहलपुरमा सञ्चालित सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

कार्तिक ६, कोहलपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड कोहलपुर शाखा कार्यालयद्वारा सञ्चालित दुई दिवसीय “सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम” मंगलवार सम्पन्न भएको छ ।

सहकारी ज्ञान तथा मार्गदर्शन शृङ्खला–२, कार्यक्रम २०८१/०८२ अन्तर्गत सोमबार र मंगलबार (दुइ दिन) सञ्चालन गरिएको तालिममा बाँकेको कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका अन्तर्गतका सहकारी संस्थाहरूका ३९ जना अध्यक्ष एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो । 

तालिमको समापन बैंकको कोहोलपूर शाखा समन्वय उप समितिका संयोजक पारस नाथ थारुको अध्यक्षतामा भएको कार्यक्रममा बैंकको तालिम शिक्षा तथा स्तरीकरण उपसमितिका सदस्य एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक हरिहर नाथ योगीको प्रमुख आतिथ्यता तथा महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीको विशिष्ट आतिथ्यता रहेको थियो । 

कार्यक्रम समापनको अवसरमा बोल्दै प्रमुख अतिथि योगीले सहकारी संस्थाको अध्यक्ष र व्यवस्थापन प्रमुख दुवै पक्षलाई दक्षतामा वृद्धि गरी संस्था सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुग्ने बताउनु भयो । उहाँले सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, सहकारी स्तरीकरण कार्यक्रम मार्फत संस्थाको छवि निर्माणमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूको भूमिकालाई थप विकास गर्न यो कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नु भयो । यस्ता कार्यक्रमले संस्था सञ्चालनलाई थप मजबुत बनाउन सहयोग पुग्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि सुवेदीले राष्ट्रिय सहकारी बैंकले ल्याएको सहकारी ज्ञान तथा मार्गदर्शन शृङ्खला–२ कार्यक्रम सहकारी संघ संस्थाको लागि अत्यन्त उपयोगी रहेको बताउँदै यसले यस क्षेत्रका सहकारी संस्थाको संस्थागत सुशासन तथा स्तरीकरणमा महत्त्वपूर्ण योगदान हुने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा सहकारीको मूल्य र सिद्धान्त सहकारीको संगठानात्मक संरचना, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखको भूमिका एवम् सीमारेखा, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापन तथा गणना, वित्तीय अनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरूको विषयमा बैंकको लुम्बिनी प्रदेश प्रमुख नारायण वेल्बासे तथा बैंकको स्तरीकरण विभागका अधिकृतहरू किरण खत्री, डिल्लीराज दाहालले सहजीकरण गर्नुभएको थियो ।

बैंकको कोहलपुर शाखाका प्रमुख अजय रोकायाले सञ्चालन गर्नुभएको तालिम कार्यक्रममा त्यस क्षेत्रका विभिन्न २२ वटा सहकारी संस्थाका ४० जना अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.