बागलुङ, पर्वत र म्याग्दीका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकलाई क्षमता अभिवृद्धि तालिम
मंसिर ११, ललितपु । राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाले सञ्चालन गरेको “सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम” सम्बन्धी दुई दिवसिय तालिम मंगलवार सम्पन्न भएको छ ।
बैंकको सदस्य शिक्षा तथा मार्गदर्शन श्रृखला अन्तरगत सञ्चालित तालिममा बागलुङ, पर्वत र म्याग्दीका विभिन्न २१ सहकारी संस्थाका ३४ जना अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतहरू एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।
तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी प्रति देखिएको नैरास्यतलाई चिर्दै सदस्यहरुका बीचमा सहकारी क्षेत्रका पुनरजागरण गर्न सञ्चालक र व्यवस्थापनले थप मेहेनत गर्नु पर्नेमा जोड दिनुभयो ।
सहकारी सदस्यहरुको हो, सदस्यहरुलाई सचेत बनाउदै, समस्याका बारेमा जानकारी गराउदै, आगामी योजना, कार्यक्रम र लक्ष्य सहित समन्वय र सहकार्य गर्न उहाँले आव्हान गर्नु भयो । सहकारीका सदस्यहरुलाई बढी ब्याज र बढी नाफा दिने नाममा संस्थागत संरचनामा असर पुगेको भन्दै उहाँले संस्थागत सुधारलाई पहिलो प्राथमिकता राखेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
तालिम समापन कार्यक्रममा सहभागीहरुका तर्फबाट काठेखोला सामाजिक उद्यमी महिला सहकारी संस्था बागलुङका अध्यक्ष सरिता अधिकारी पन्त र कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्थाका सचिव भोजराज आचार्यले तालिमको प्रभावकारिताका बारेमा धारणा राख्नु भएको थियो ।
दुई दिन सम्म सञ्चालन भएको तालिममा सहकारीको मूल्य, मान्यता, सहकारीको सिद्धान्त, सहकारीको संगठानात्मक संरचना, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखको भूमिका एवम् सीमारेखा, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापन तथा गणना, वित्तीय अनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरूको विषयमा जिल्ला सहकारी संघ कास्कीका राष्ट्रिय प्रतिनिधि दिपक प्रकाश आचार्य र बैंकको तालिम विभागका अधिकृत किरण खत्रीले सहजिकरण गर्नुभएको थियो ।
तालिम समापन कार्यक्रमको सञ्चालन बैंकको बागलुङ शाखाका प्रमुख अमृत श्रेष्ठले गर्नु भएको थियो ।