मंसिर ११, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखा कार्यालयको आयोजनामा दुई दिवसीय “सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम” सोमबार सम्पन्न भएको छ ।
एन.सि.बि.एल सदस्य शिक्षा तथा मार्गदर्शन श्रुखला–२, कार्यक्रम २०८१/०८२ अन्तर्गत दुई दिन सम्म सञ्चालन भएको तालिममा नवलपरासी (ब.सु.पूर्व) क्षेत्रमा रहेका १९ सहकारी संस्थाका ३१ जना अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतहरू एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।
तालिमको समापन सत्रको अध्यक्षता राष्ट्रिय सहकारी बैंक कावासोती शाखा समन्वय उप–समितिका सदस्य नारायण प्रसाद पौडेलले गर्नुभएको थियो भने, सहकारी कर्मचारी समाज नवलपरासी (ब.सु.पूर्व) का अध्यक्ष तथा मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी नर भूपाल भुषालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूलाई प्रमाण पत्र वितरण कार्यक्रम पश्चात् बोल्दै प्रमुख आतिथी सहकारी कर्मचारी समाज नवलपरासी (ब.सु.पूर्व) का अध्यक्ष तथा मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी नर भूपाल भुषालले सम्पूर्ण सहभागीहरूलाई तालिममा सिकेका विषयहरू व्यवहारमा लागू गर्न आग्रह गर्दै सहकारी संस्थालाई संस्थागत सुशासनमा रहन अनुरोध गर्नुभयो । सहकारी बैंकले आफ्ना सदस्य संघ संस्थाहरुको तालिम तथा शिक्षाको माध्यमबाट क्षमता विकासमा जोड दिएको उल्लेख गर्दै यसबाट संस्थाहरुले भरपुर फाइदा लिनुपर्ने बताउनु भयो ।
दुई दिन सम्म सञ्चालन भएको तालिममा सहकारीको मूल्य, मान्यता, सहकारीको सिद्धान्त, सहकारीको संगठानात्मक संरचना, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखको भूमिका एवम् सीमारेखा, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापन तथा गणना, वित्तीय अनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरूको विषयमा बैंकको स्तरीकरण विभागका अधिकृत सूर्यप्रसाद रिमालले सहजिकरण गर्नुभएको थियो ।
तालिम समापन सत्रको कार्यक्रम सञ्चालन शाखा प्रमुख नवीन क्षेत्रीले गर्नुभएको थियो ।