बागलुङ, ४ मंसिर । राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजनामा सहकारीका प्रचलित ऐन, कानुनमा सशोधनका लागि सुझाव संकलन गर्ने उद्देश्यका साथ मंगलवार लघु गोष्ठी सम्पन्न भएको छ ।
सहकारी ऐन र अन्य ऐनमा देखिएका अन्यौलपूर्ण अवस्थाका कारण सहकारीमार्फत गरिने कामहरुलाई थप प्रभावकारी बनाउन नसकिएको लगायतका विषयमा कार्यक्रममा छलफल भएको थियो ।
सहकारी ऐनमा रहेको आयकर सम्बन्धी व्यवस्थालाई हरेक वर्ष आउने आर्थिक विधेयकले परिवर्तन गर्ने गरेको लगायत अन्य ऐनहरुको समस्याका कारण सहकारी ऐनको प्रभावकारी कार्यान्वयन नभएको विषयमा सहभागीहरुले चर्चा गरेका थिए ।
सहकारीले उत्पादन र प्रशोधनका क्षेत्रमा काम गरेनन् भन्ने आरोप छ, तर सहकारीले उद्योग चलाउन, सेवाका काम गर्नका लागि कम्पनी बनाउनु पर्ने वाध्यात्मक अवस्था छ, सहभागीहरुले भने, सहकारी ऐनमा भएको व्यवस्था अनुसार सहकारीलाई काम गर्न दिने वातावरण बनाउन आवश्यक छ ।
सहकारीमा देखिएका दोहोरो सदस्यता, सञ्चालकको व्यवस्था, कर, शेयर खरिद विक्री, बाल वचत लगायतका विषयमा सहकारी ऐनमै सुधार गर्नु पर्नेमा सहभागीहरुको जोड थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी ऐन र अन्य ऐनमा देखिएका समस्या र समाधानका उपायका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु), केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक दिपक गौतम, नेफ्स्कुनका निवर्तमान सञ्चालक चण्डी प्रसाद शर्मा, कृषि सहकारी संघ बागलुङका अध्यक्ष नर बहादुर थापा, जिल्ला सहकारी संघका सल्लाहकार तेजेन्द्र बहादुर थापा, राष्ट्रिय सहकारी बैंक लैंगिक समता उपसमितिका सदस्य लिलादेवी खड्का, बैकको बागलुङ शाखा समन्वय उपसमितिका सदस्यहरु अशोक गोविन्द राजभण्डारी, कृष्ण प्रसाद पौडेल (कुमार) र रतन प्रसाद मलेपति, मातृभूमि बहुउद्देश्यीय सहकारी संस्थाका सचिव राम प्रसाद शर्मा, महिला हित वचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष पम्फा किसानले सहकारी ऐन, कानुनको संशोधनका लागि सुझाव संगै सहकारीका समस्या र समाधानका उपायका बारेमा धारणा राख्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन बैंकको बागलुङ शाखा प्रमुख अमृत श्रेष्ठले गर्नु भएको थियो ।