आश्विन २२, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड हरिवन शाखा कार्यालयद्वारा सञ्चालित दुई दिवसीय “सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम” मंगलवार सम्पन्न भएको छ ।
एन.सि.बि.एल सदस्य शिक्षा तथा मार्गदर्शन श्रुखला–२, कार्यक्रम २०८१÷०८२ अन्तर्गत सोमबार र मंगलबार सञ्चालन गरिएको तालिममा सर्लाही जिल्लाका सहकारी संस्थाहरूका अध्यक्ष एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।
सोमबार देखि सुरु भएको तालिमको समापन मंगलवार हरिवन शाखा समन्वय उपसमिति संयोजक केशव प्रसाद ढकालले गर्नुभयो ।
कार्यक्रम समापनको अवसरमा बोल्दै शाखा समन्वय उपसमिति केशव प्रसाद ढकालले सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूको दक्षतामा वृद्धि गरि संस्थालाई कुशलता पूर्वक सञ्चालन, व्यवस्थापन र नेतृत्वदायी बनाउने र सहकारी संस्थालाई सुशासन र पारदर्शी तवरबाट संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बताउनु भयो । उहाँले सहकारी क्षेत्रको वित्तीय तथा संस्थागत विकासमा बैंकको भूमिका थप विस्तार र व्यवस्थित गर्नका लागि तालिमले सहयोग पुग्ने कुरामा जोड दिनु भयो ।
सहकारी क्षेत्रको विकास र प्रवद्र्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, सहकारी स्तरीकरण कार्यक्रम मार्फत संस्थाको छवि निर्माणमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूको भूमिकालाई थप विकास गर्न यो कार्यक्रम प्रभावकारी हुने भन्दै तालिम कार्यक्रमका सहभागीहरूले यस्तो खालको तालीम बैंकले देशैभर सञ्चालन गर्न लागेकोमा बैंकलाई धन्यवाद समेत व्यक्त गरे ।
कार्यक्रममा सहकारीको मूल्य, मान्यता र सिद्धान्त सहकारीको सङ्गठनात्मक संरचना, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखको भूमिका एवम् सीमारेखा, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापन तथा गणना, वित्तीय अनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरूको विषयमा प्रशिक्षक त्रय विष्णु प्रसाद पराजुली, सूर्य प्रसाद रिमाल र राजकुमार बरालले सहजीकरण गर्नुभएको थियो ।
बैंकको हरिवन शाखाका प्रमुख नारायण लामिछानेले सञ्चालन गर्नुभएको तालिम कार्यक्रममा जिल्लाका विभिन्न २१ वटा सहकारी संस्थाका ३७ जना अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो ।