भाद्र ७, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड बुटवल शाखाको आयोजना तथा जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीको समन्वयमा सञ्चालित तीन दिवसीय नेपाल वित्तीय प्रतिवेदन मान एनएफआरएस (नेपाल फानान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड) तथा एसएमआई तालिम सम्पन्न भएको छ ।
भाद्र ५ गते देखि सुरु भएको तालिमको शुक्रवार बैंकको बुटवल शाखा समन्वय उप-समितिका संयोजक भीम प्रसाद तुलाचनको अध्यक्षतामा समापन भएको थियो ।
सहकारी ऐन २०७४, तथा प्रचलित कानुन बमोजिमको मापदण्ड पालना गर्नुपर्ने व्यवस्था अनुसार पचास करोड भन्दा बढी कारोबार गर्ने सहकारी संघ संस्थाहरुले अनिवार्य एनएफआरएस बमोजिमको ढाँचामा लेखापरिक्षण गराउनुपर्ने व्यवस्था अनुसार वित्तीय कारोबारलाई थप यथार्थपरक र स्पष्ट पार्न अन्तराष्ट्रियस्तरको प्रतिवेदन ढाँचा एनएफआरएस बमोजिम संस्थाको जोखिमलाई न्यूनीकरण गरी दिगो सहकारी संस्था विकासमा समेत टेवा पु¥याउने उद्देश्यले तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
तालिमको सिए महेश घिमिरे र छविलाल पोखरेलले एनएफआरएस ढाँचाको सहजिकरण गर्दै एनएफआरएसको ढाँचा विनाको लेखापरिक्षण प्रतिवेदन र एनएफआरएस अनुसारको लेखापरिक्षणमा हुने भिन्नता अन्तर्गत हुने स्थिर सम्पत्तिलाई पहिचान गर्ने विधि तथा ह्रास प्रक्रिया, लगानी सम्पत्ति, पट्टा तथा भाडा, सहुलियत दरमा प्रदान गरिएको कर्जा, कर्जा सम्बन्धी आम्दानी, कर्मचारी सुविधा, स्थगन लगायतको विषयमा प्रयोगात्मक प्रशिक्षण दिएका थिए । त्यसैगरी एनएफआरएस अनुसार तयार पार्नुपर्ने प्रतिवेदनको विषयमा सहजिकरण गर्नुभएको थियो ।
तालिम कार्यक्रममा बैंकको बुटवल शाखामा कारोबार गर्ने सदस्य संस्थाका व्यवस्थापक तथा लेखा अधिकृत गरी ३८ जनाको सहभागिता रहेको थियो । तालिममा एनएफआरएस कार्यान्वयनमा लैजाने सन्दर्भमा हाल प्रचलनमा रहेको सहकारी लेखामान र एनएफआरएसमा देखिएका फरकहरूको बारेमा सिकाई एवम् अभ्यास समेत भएको बैंकको बुटवल शाखाका प्रमुख एवम् लुम्बिनी प्रदेशका संयोजक नारायण बेल्बासेले जानकारी दिनुभयो ।