धनुषा र महोत्तरी जिल्लाका सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न
May 28, 2024

धनुषा र महोत्तरी जिल्लाका सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न

ललितपुर, १६ वैशाख । राष्ट्रिय सहकारी बैंक लिमिटेड जनकपुर शाखाको आयोजनामा सहकारी संघ संस्थाका अध्यक्षहरूको क्षमता विकास सम्बन्धी दुई दिवसीय तालिम जनकपुरधाममा मंगलबार सम्पन्न भएको छ । 

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०÷०८१ अन्तर्गत निःशुल्क रूपमा सोमबार र मंगलबार सञ्चालन गरिएको तालिममा धनुषा र महोत्तरी जिल्लाका सहकारी संघ संस्थाका ४० अध्यक्षहरूको सहभागिता रहेको थियो ।

तालिममा सहकारीको परिचय, इतिहास, सञ्चालन प्रक्रिया, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति नियम, सञ्चालकको आचारसंहिता, सहकारीको मूल्य मान्यता तथा सिद्धान्तहरूको व्यवहारिक प्रयोगको परीक्षण, कार्य योजना तथा बजेट निर्माणमा अध्यक्ष तथा सञ्चालकको भूमिका लगायतका विषयमा बैंकको तालिम विभागका सहायक अधिकृत राजकुमार बरालले सहजिकरण गर्नुभएको थियो । 

तालिम समापनका अवसरमा बोल्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् कार्यक्रमका प्रमुख अतिथि नथुनी यादवले सहकारीलाई व्यवस्थित रूपमा सञ्चालनका लागि आवश्यक नीति नियम बनाउनेदेखि सञ्चालन गर्ने काम सञ्चालक समितिको भएकाले क्षमता अभिवृद्धि गर्न आग्रह गर्नुभयो । 

बैंकका सञ्चालक एवम् मधेस प्रदेशका संयोजक विश्वनाथ मण्डलले सहकारी क्षेत्रको संस्थागत विकासमा अध्यक्षहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै यस्ता तालिमले सहकारी क्षेत्रको विकास, प्रवर्द्धन, संस्थागत सुशासन र व्यवस्थापनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । 

कार्यक्रम बैंकको मधेस प्रदेशका प्रमुख विष्णु प्रसाद पराजुलिको स्वागत तथा शाखा प्रमुख विनोद चुडालको सञ्चालनमा सम्पन्न भएको थियो । बैंकले चालू आर्थिक वर्ष २०८०÷०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पूर्ण शाखा कार्यालय मार्फत सञ्चालन गरिरहेको छ ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.