नुवाकोटमा सहकारी संस्थाका व्यवस्थापकहरूको लागि सञ्चालित क्षमता विकास तालिम सम्पन्न
May 23, 2024

नुवाकोटमा सहकारी संस्थाका व्यवस्थापकहरूको लागि सञ्चालित क्षमता विकास तालिम सम्पन्न

जेठ ११, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड नुवाकोट शाखाले सञ्चालन गरेको दुई दिवसीय सहकारी संस्थाका व्यवस्थापकहरूको क्षमता विकास तालिम बिहीबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा बुधवार र बिहीबार सञ्चालन गरिएको तालिममा धादिङ, नुवाकोट र रसुवा जिल्लाका ४० वटा सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक तथा सहायक व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन बैंकका सञ्चालक एवम् बागमती प्रदेशका संयोजक रामहरि बजगाईले गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापन प्रमुखहरूको व्यवस्थापकीय क्षमतामा विकास गर्ने गरि सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरूको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरूको पहिचान गरी न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनु भयो । उहाँले सहकारीका सञ्चालक समितिले संस्थामा निर्णय गर्ने भए पनि कार्यान्वयन गर्ने व्यक्ति व्यवस्थापकहरू नै भएकाले उनीहरूको क्षमता अभिवृद्धि गर्दा संस्थालाई नीतिगत रूपमा अगाडि बढाउन टेवा पुग्ने, सुशासन र विधिलाई पालना गर्न अभिप्रेरित गर्ने भएकाले यो कार्यक्रम देशैभरी गरिएको उल्लेख गर्नुभयो ।

दुई दिन सम्म सञ्चालन भएको तालिमलाई सहकारी प्रशिक्षक अनिल वीर बज्रचार्यले व्यवस्थापकको क्षमता विकासका विभिन्न ८ वटा विषयमा सहजिकरण गर्नु भएको थियो । उहाँले दैनिक प्रशासन सञ्चालनदेखि ऐन, नियमको कार्यान्वयन, सहकारी क्षेत्रमा नयाँ प्रविधिको विकास र सहकारीको साख वृद्धिका लागि व्यवस्थापकको भूमिका बढाउनु पर्नेमा जोड दिनु भयो । 

नुवाकोट शाखाका प्रमुख प्रदिप अर्यालको सञ्चालनमा भएको कार्यक्रममा नुवाकोट शाखा समन्वय उपसमितिका संयोजक वैकुण्ठ मिश्र, जिल्ला सहकारी संघका अध्यक्ष गोकर्णनाथ न्यौपाने, सचिव प्रकाश कुमार अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघ नुवाकोटका अध्यक्ष नारायण श्रेष्ठ, जिल्ला बहुउद्देश्यीय सहकारी संघ नुवाकोटका सचिव भोजराज पनेरु लगायतको उपस्थिति रहेको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत देशै भरी सहकारी संघ/संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.