स्तरीकरण कार्यक्रम मार्फत सहकारीमा सुशासन सम्बन्धी गोष्ठी भरतपुरमा सम्पन्न
May 14, 2024

स्तरीकरण कार्यक्रम मार्फत सहकारीमा सुशासन सम्बन्धी गोष्ठी भरतपुरमा सम्पन्न

जेष्ठ १, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड कार्यालयको आयोजनामा भरतपुर, टाँडी, हेटौँडा र कावासोती शाखा कार्यालय अन्तर्गतका सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा “स्तरीकरण मार्फत सहकारीमा सुशासन” सम्बन्धी गोष्ठी कार्यक्रम मंगलबार सम्पन्न भएको छ । 

बैंकको लेखा सुपरिवेक्षण समितिका सदस्य केशवप्रसाद सापकोटाको अध्यक्षतामा चितवन स्थित मिड टाउन रिसोर्टको सभाहलमा आयोजित कार्यक्रममा बैंकको भरतपुर, टाँडी, हेटौंडा र कावासोती शाखा कार्यालय अन्तर्गतका २९ सहकारी संघ संस्थाका अध्यक्ष र संस्थाका प्रमुख कार्यकारी अधिकृत गरी ५२ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रममा मन्तव्य राख्दै बैंकको लेखा सुपरिवेक्षण समितिका सदस्य केशवप्रसाद सापकोटाले हाल सहकारी क्षेत्रमा सुशासनको समस्या विद्यमान रहेको भन्दै सञ्चालक समिति संस्थागत सुशासन कायम गर्ने सन्दर्भमा चुक्न नहुने बताउनु भयो । उहाँले सहकारी संस्थाहरुले जोखिम र भार गणना एवम् मापन गर्नुपर्ने कुरामा समेत जोड दिँदै सहकारी संस्था सदस्यहरूको चाहाना, हित र आवश्यकता अनुसार सञ्चालित हुनु पर्ने बताउनु भयो । 

कार्यक्रममा बैंकको घरेलु तथा साना उद्योग विकास समितिका सदस्य भरत प्रसाद दवाडीले सदस्यलाई केन्द्र विन्दुमा राखी संस्था सञ्चालन गर्दा समस्या नहुने भन्दै सुशासनका आधारभूत तत्त्वहरू सहकारी संस्थामा प्रत्याभूत गर्नुपर्ने बताउनु भयो । 

बैंकको लघु उद्यम उपसमिति सदस्य राम प्रसाद काफ्लेले सहकारीको मर्म, मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गरी सहकारी संस्था सञ्चालन गर्दा संस्थागत सुशासनको पाटो बलियो रहने कुरामा जोड दिनु भयो । 

कार्यक्रममा बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक तेजेन्द्र बहादुर खड्का, बैंकको कावासोती शाखा समन्वय उपसमितिका सदस्यहरू शलिकराम कोइराला, पोषणराज सुवेदी, कुल प्रसाद अधिकारीले लगायतले सहकारी संस्था एवम् अभियानको उच्च छवि निर्माण गर्ने उद्देश्यका साथ सहकारी बैंकले सुरु गरेको स्तरीकरण कार्यक्रमले सहकारी संस्थाको स्तर पहिचान, स्तर मापन एवं स्तरोन्नतिका लागि सहयोग पुगेको बताएका छन् ।

बैंकको बागमती प्रदेश प्रमुख (उपत्यका बाहेक) रामेश्वर अर्यालको स्वागत तथा भरतपुर शाखा कार्यालयका प्रमुख रामशरण सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा बैंकका नायब महाप्रबन्धक राजेश श्रेष्ठले राष्ट्रिय सहकारी बैंकको पछिल्लो वित्तीय अवस्था सहित स्तरीकरण कार्यक्रम मार्फत सहकारीमा सुशासन कायम गर्न बैंकले सञ्चालन गरेको कार्यक्रमको औचित्य महत्व एवं आवश्यकताका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.