सुन्दरहरैंचामा सहकारीका व्यवस्थापकहरूको लागि सञ्चालित क्षमता अभिवृद्धि तालिम सम्पन्न
May 2, 2024

सुन्दरहरैंचामा सहकारीका व्यवस्थापकहरूको लागि सञ्चालित क्षमता अभिवृद्धि तालिम सम्पन्न

ललितपुर, २१ वैशाख । राष्ट्रिय सहकारी बैंक लिमिटेड सुन्दरहरैंचा शाखाले मोरङको विराटचोकमा सहकारी संघ संस्थाहरूका व्यवस्थापकहरूको लागि सञ्चालन गरेको दुई दिवसीय “क्षमता अभिवृद्धि तालिम” बिहीबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा बुधवार र बिहीबार सञ्चालन गरिएको तालिममा सुन्दरहरैंचा, बेलबारी, लेटाङ, केराबारी र कानेपोखरीका विभिन्न सहकारी संघ संस्थाहरूबाट २९ जना प्रमुख व्यवस्थापक, व्यवस्थापक तथा सहायक व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापन प्रमुखहरूको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने गरि सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरूको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरूको पहिचान गरी न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

बैंकको सुन्दरहरैंचा शाखा समन्वय उप–समितिका संयोजक टिकाप्रसाद कट्टेलको अध्यक्षतामा भएको तालिमको समापन बैंकका निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले गर्नु भएको थियो ।

समापन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सहकारी क्षेत्रको वित्तीय तथा संस्थागत विकासमा बैंकको भूमिका थप विस्तार र व्यवस्थित गर्नका लागि तालिमले सहयोग पुग्ने उल्लेख गर्नुभयो । सहकारीलाई स्वस्थ, स्वच्छ र व्यवस्थित गर्न सहकारी बैंकले सदस्य केन्द्रित र समुदायमा आधारित तालिम तथा शिक्षाका कार्यक्रमहरू सञ्चालन गरेको हुँदा सबल सहकारी निर्माणमा सहयोग पुग्ने बताउनु भयो ।

बैंकको सुन्दरहरैंचा शाखा समन्वय उप–समितिका संयोजक टिकाप्रसाद कट्टेलले तालिममा सिकेको, बुझेका ज्ञानहरूलाई व्यवहारमा उतारेर आ–आफ्नो संघ संस्थाहरुमा लागु गरी संस्थालाई उत्कृष्ट बनाउन तर्फ लाग्न व्यवस्थापकहरूमा अनुरोध गर्नु भयो । कार्यक्रममा शाखा समन्वय उपसमितिका सदस्यहरू हेरम्बराज भट्टराई, दुर्गाप्रसाद गौतम, गोपाल बाराकोटि, रामप्रसाद गजुरेल र पार्वती बरालको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले बैंकद्वारा सञ्चालन गरिएको व्यवस्थापकको क्षमता अभिवृद्धि तालिम समय सान्दर्भिक र अत्यन्तै प्रभावकारी रहेको बताएका छन् । उनीहरूले दुई दिनको तालिमबाट नयाँ सिकाई भएको उल्लेख गर्दै तालिमले संस्था सञ्चालनको लागि महत्वपूर्ण सहयोग पुगेको बताएका छन् । 

बैंकको सुन्दरहरैंचा शाखाका प्रमुख मनोज लामिछानेको सञ्चालनमा तथा शाखा समन्वय उपसमितिका सदस्य हेरम्बराज भट्टराईको स्वागतमा कार्यक्रम भएको तालिमलाई सहकारी व्यवस्थापन क्षेत्रका कुशल नेतृत्व हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरिकोटका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेतले सहकारीको सिद्धान्त र आधारभूत मूल्य मान्यता, सहकारीको वृद्धि तथा विकास र गुणस्तरीय सेवा सुनिश्चितताको लागि व्यवस्थापकको भूमिका, व्यवस्थापकसँग हुनु पर्ने ज्ञान, सीप र क्षमता, दिगो सहकारीको लागि व्यवस्थापकको भूमिका लगायतका विभिन्न ८ वटा विषयमा सहजिकरण गर्नु भएको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत देशैभर सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको छ ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.