बर्दियामा सहकारीका व्यवस्थापकहरूको लागि सञ्चालित क्षमता विकास तालिम सम्पन्न
May 1, 2024

बर्दियामा सहकारीका व्यवस्थापकहरूको लागि सञ्चालित क्षमता विकास तालिम सम्पन्न

ललितपुर, १९ बैशाख । राष्ट्रिय सहकारी बैंक लिमिटेड भुरीगाउँ शाखा कार्यालयद्वारा गुलरिया नगरपालिका स्थित लोटस गार्डेन होटेलमा सञ्चालित सहकारीका व्यवस्थापकहरूको “क्षमता विकास तालिम” बुधवार सम्पन्न भएको छ । 

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा मंगलबार र बुधवार  सञ्चालन गरिएको तालिममा बैंकको भुरीगाउँ शाखा कार्यालयमा कारोबार गर्ने सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका व्यवस्थापकहरूले संस्था सञ्चालन गर्दा आइपर्ने समस्याहरू सदस्यहरूलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरू, आवश्यक कागजातहरू, धितो मूल्याङ्कन, भाखा नाघेको कर्जाको व्यवस्थापन, जमानत , संस्थालाई आवश्यक पर्ने नीति विधि तथा कार्यविधिहरू, बचत प्रोड्क्टहरु, समय सापेक्ष ब्याजदर परिवर्तन, मानव संसाधन व्यवस्थापन लगायत सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकको भुरिगाउँ शाखाका प्रमुख किरण खत्रीले बताउनु भयो ।

तालिमको उद्घाटन मंगलबार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड का वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले गर्नुभएको थियो । उद्घाटन पछि कार्यक्रममा आफ्नो मन्तव्य राख्दै वरिष्ठ उपाध्यक्ष अधिकारीले सहकारी क्षेत्रमार्फत आर्थिक विकास र सामाजिक रूपान्तरणमा व्यवस्थापकहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । सहकारी संस्थाका कर्मचारीहरुले संस्थागत तथा व्यक्तित्व विकासका लागि आफ्नो दायित्व, जिम्मेवारी, परिवार र क्षमता विकासलाई ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

बैंकका सञ्चालक विजया धितालले तालिमबाट सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो । उहाँले सहकारीको वृद्धि तथा विकास र गुणस्तरीय सेवा सुनिश्चितताको लागि व्यवस्थापकको भूमिका महत्त्वपूर्ण रहने बताउनु भयो ।

तालिमलाई बैंकको तालिम विभागका सहायक अधिकृत राजकुमार बरालले सहकारीको सिद्धान्त र आधारभूत मूल्य मान्यता, सहकारीको वृद्धि तथा विकास र गुणस्तरीय सेवा सुनिश्चितताको लागि व्यवस्थापकको भूमिका, व्यवस्थापकसँग हुनु पर्ने ज्ञान, सीप र क्षमता, दीगो सहकारीको लागि व्यवस्थापकको भूमिका लगायतका विभिन्न ८ वटा विषयमा दुई दिनसम्म सहजिकरण गर्नु भएको थियो ।

जिल्ला सहकारी संघ लिमिटेड बर्दियाका अध्यक्ष नवराज ढुङ्गाना, साना किसान कृषि सहकारी संघ बर्दियाका कोषाध्यक्ष डम्बर के.सी लगायतको आतिथ्ययतामा भएको तालिम समापन कार्यक्रममा कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक भुरीगाउँ शाखाका प्रमुख किरण खत्रीले गर्नुभएको थियो । कार्यक्रममा बर्दिया जिल्ला भित्रका बचत तथा ऋण, बहुउद्देश्यीय, उपभोक्ता, पर्यटन, विद्युत र महिला सहकारीहरूबाट ३६ जनाको सहभागिता थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पूर्ण शाखा कार्यालय मार्फत सञ्चालन गरिरहेको छ ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.