चैत्र १५, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड लगनखेल शाखाको आयोजनामा सहकारी संस्थाका व्यवस्थापकहरूको लागि सञ्चालित २ दिने तालिम शुक्रबार सम्पन्न भएको छ ।
एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा बिहिबार र शुक्रबार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका २९ वटा सहकारी संघ/संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।
सहकारी संघ संस्थाका व्यवस्थापकहरूको क्षमता अभिवृद्धि गरी सुशासनयुक्त र व्यावसायिक संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । तालिममा सहकारी क्षेत्रको विकास र प्रर्वद्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, संस्थाको छवि निर्माणमा व्यवस्थापकको भूमिका, कार्यालय, सञ्चालन प्रक्रिया लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।
कार्यक्रमको उद्घाटन बिहीबार बैंकका सञ्चालक एवम् बागमती प्रदेशका संयोजक रामहरि बजगाईंले गर्नु भएको थियो । उद्घाटन पछि बोल्दै उहाँले सहकारी क्षेत्रको वित्तीय तथा संस्थागत विकासमा बैंकको भूमिका थप विस्तार र व्यवस्थित गर्नका लागि तालिमले सहयोग पुग्ने बताउनु भयो उहाँले संस्थाका सञ्चालकले सहकारीको नीति नियम र विधानमा रहेर काम नगर्दा केही सहकारीमा छिटपुट समस्या आएको उल्लेख गर्दै सबै मिलेर समस्या समाधानमा लाग्नु पर्ने भन्दै सहकारीलाई स्वस्थ, स्वच्छ र व्यवस्थित गर्न सहकारी बैंकले सदस्य केन्द्रित र समुदायमा आधारित तालिम तथा शिक्षाका कार्यक्रमहरू सञ्चालन गरेको बताउनु भयो ।
बैंकको लगनखेल शाखाका प्रमुख केदारनाथ उप्रेतीको सञ्चालनमा भएको समापन कार्यक्रममा बैंकका अधिकृत नव कुमार अधिकारीले सहकारीमा व्यवस्थापकहरूको क्षमता विकासको विषयमा सहजीकरण गर्नुभएको थियो ।
बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।