कुश्मामा सहकारीका अध्यक्षहरुलाई क्षमता विकास तालिम
Feb 26, 2024

कुश्मामा सहकारीका अध्यक्षहरुलाई क्षमता विकास तालिम

ललितपुर, १४ फागुन

  सहकारी संस्थामा प्रभावकारी व्यवस्थापनका लागि अध्यक्षहरुको भूमिका बढाउनका लागि पर्वतको कुश्मामा सहकारी संस्थाका अध्यक्षहरुका लागि २ दिने तालिम सञ्चालन गरिएको छ ।

 राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बागलुङको आयोजनामा सञ्चालन गरिएको तालिममा सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि अध्यक्षको भूमिका कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सहजीकरण गरिएको थियो ।

 सहकारीको साधारणसभाले दिएको निर्देशन अनुसार संस्थालाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि अध्यक्षको भूमिका नेतृत्वदायी तथा संयोजनकारी र नियन्त्रणकारी समेत हुनु पर्दछ, बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले भन्नुभयो, अध्यक्षले सहकारी सञ्चालनको विधि र प्रक्रिया राम्रोसंग बुझेर काम गर्न सकेमा सहकारीका समस्या कम हुदै जाने भएकाले अध्यक्षहरुका लागि तालिम सञ्चालन गरेका हौ ।

  सहकारी संस्थामा हुने सम्पूर्ण कामको नेतृत्व गर्ने, सञ्चालक समिति र व्यवस्थापनलाई प्रभावकारी निर्देशन गर्नका लागि पनि अध्यक्षले सहकारी ऐन, नियम, संस्थाको विनियम लगायत निर्देशिका लगायतका विषयमा जानकारी राख्नु पर्ने भएकाले अध्यक्षहरुका लागि तालिम आयोजना गरिएको जिसीको भनाइ छ ।

 तालिममा बैंकका अधिकृत राज कुमार बरालले सहजीकरण गर्नु भएको थियो । उहाँले सहकारीको संरचना अनुसार सञ्चालक समिति कार्यकारी र लेखा सुपरीवेक्षण समिति अनुगमनकारी निकाय भएकाले यि दुवैको क्षमता विकास गर्नु पर्नेमा जोड दिनुभयो । दैनिक प्रशासन सञ्चालनदेखि ऐन, नियमको कार्यान्वयन र सहकारीको साख वृद्धिका लागि सञ्चालक समितिको भूमिका बढाउनु पर्ने र त्यसको नेतृत्व गर्ने अध्यक्षलाई यस्ता विषयहरुमा जानकारी हुनुपर्नेमा उहाँको जोड थियो ।

 जिल्ला सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मीले पछिल्लो समय सहकारीमा देखिएको समस्याको असर पर्वतमा पनि परेको र यस्ता खालका तालिमहरुले सहकारी संस्थालाई सहज रुपमा अगाडि बढ्नका लागि सहयोग पुग्ने धारणा राख्नु भएको थियो ।

  तालिममा पर्वत र बागलुङको दक्षिण भेगका सहकारीका अध्यक्षहरुको सहभागिता रहेको राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले जानकारी दिनुभयो । 


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.