फाल्गुन १०, ललितपुर ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड कोटेश्वर र इमाडोल शाखा कार्यालयद्वारा आयोजित दुई दिवसीय व्यवस्थापकहरूको क्षमता विकास तालिम बिहीबार सम्पन्न भएको छ ।
एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा बुधवार र बिहीबार सञ्चालन गरिएको तालिममा बैंकको कोटेश्वर र इमाडोल शाखा कार्यालयमा कारोबार गर्ने सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुको सहभागिता रहेको थियो ।
सहकारी संस्थाका व्यवस्थापकहरूको क्षमता विकास गरी सुशासनयुक्त र व्यावसायिक संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । तालिममा सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, संस्थाको छवि निर्माणमा व्यवस्थापकको भूमिका, लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।
कार्यक्रमको बुधबार उद्घाटन गर्दै बैंकका सञ्चालक एवम् बागमती प्रदेशका संयोजक रामहरि बजगाईंले सहकारी संघ संस्थाहरुको संस्थागत विकास र वृद्धिमा बैंकको भूमिका थप विस्तार र व्यवस्थित गर्नका लागि कार्यक्रम सहयोगी हुने बताउनु भयो । सहकारी संस्थाका समग्र व्यवस्थापनमा व्यवस्थापकहरूको महत्वपूर्ण भूमिका रहने बताउँदै समय सापेक्ष रूपमा आफूलाई दक्ष र प्रविधिमैत्री बनाई राख्नुपर्नेमा जोड दिनु भयो ।
बैंकका सञ्चालक महेन्द्र कुमार गिरीले तालिमले ज्ञान र सिपको विकास गरी सहकारी संस्थालाई फरक ढङ्गले सञ्चालन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले सहकारी संघ संस्थाहरु तथा वित्तीय क्षेत्रमा देखिएको वर्तमान चुनौतीलाई सामना गर्दै अभियानलाई थप सुदृढ र सक्षम बनाउन सबै पक्ष लाग्नु पर्नेमा जोड दिनु भयो ।
बिहीबार तालिमको समापन सत्रमा बोल्दै बैंकका सञ्चालक ध्रुवराज विष्टले सहकारी संस्थाहरुले सदस्यहरूलाई वित्तीय साक्षरता अभिवृद्धिमा जोड दिनु पर्ने बताउनु भयो । संस्थाका सदस्यलाई स्रोत र साधनको कुशल प्रयोग गर्न सिकाउँदै आयमूलक क्षेत्रमा लगानी गरि आफ्नो जीवनस्तर सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले सहकारीको भूमिका थप बढाउनका लागि उद्देश्य अनुरूप कर्जा परिचालन, उत्पादनशील क्षेत्रलाई प्राथमिकता, संस्थागत सुशासन, आन्तरिक अनुगमन प्रणालीमा सुधार र दक्ष कर्मचारीको व्यवस्थापन आवश्यक रहेको बताउनु भयो ।
बैंकको कोटेश्वर शाखाका प्रमुख हेमन्त चौंलागाईले तालिमबाट सिकेका कुरालाई व्यवहारमा परिणत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले २ दिनको तालिमबाट सहभागीहरूको ज्ञान, सीप र धारणामा सकारात्मक परिवर्तन गर्न सहयोग पुगेको विश्वास व्यक्त गर्नु भयो ।
दुई दिन सम्म सञ्चालन भएको तालिममा बैंकका अधिकृत नव कुमार अधिकारीले व्यवस्थापहरुको क्षमता विकासका विभिन्न विषयमा सहजिकरण गर्नु भएको थियो । तालिममा इमाडोल शाखाका प्रमुख रुकमिनी थापा, ठिमी शाखाका प्रमुख सिता भट्टराईको आतिथ्यता रहेको थियो ।
तालिममा बैंकको कोटेश्वर र इमाडोल शाखामा आबद्ध ४० वटा सहकारी संस्था प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक एवम् सहायक व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।
बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पूर्ण शाखा कार्यालय मार्फत सञ्चालन गरिरहेको छ ।