प्रश्न के काम गर्छौ ?
उत्तर सहकारीमा गर्छु ।
प्रश्नकर्ता ह्या सहकारी जाबोमा नि कोही काम गर्छ ? बिचरा सहकारी पो रहेछ ।
ह्या ! सहकारी, जाबो सहकारी, छ्या सहकारी लगायत विभिन्न उपमा लगाएर सहकारी क्षेत्रलाई जोड्ने जमात ठुलो छ । यो उपमा जोड्ने प्राय युवा वर्ग नै धेरै भेटिन्छन् । हुन त काम कामनै हो । ठुलो सानो भन्ने हुँदैन । आफ्नो पेसा र काम प्रति इमानदार भएर लाग्ने जो कोहीले पनि सफलता पाउन सक्छ । तर सहकारी क्षेत्र प्रति युवाको वितृष्णा किन ?
संविधानले सहकारीलाई अर्थतन्त्रको एउटा खम्बाको रूपमा मानेको छ । बैङ्क तथा वित्तीय संस्था नपुगेका दूर दराज गाउँमा सहकारीले बित्तिय मध्यस्थताको काम गरिरहेका छन् । बैंकको झन्झटिलो प्रक्रिया र बैङ्कमा पहुँच पुर्याउन नसक्ने वर्गहरूले सहकारीबाट व्यावसायिक कर्जा लिएर व्यवसाय गर्दै आम्दानी गरिरहेका छन् । कृषि, दुग्ध फलफूल लगायत कृषिजन्य सामाग्रीहरूको उत्पादन, भण्डारण, बिक्री लगायत कार्यहरू सहकारी मार्फत गरेर धेरैले आफ्नो जीवनस्तर उकासेका छन् ।
सहकारीहरूले महिला, पिछडिएका क्षेत्र, ग्रामीण भेग लगायतका व्यक्तिहरूलाई सशक्तीकरणको गतिलो औजार पस्किएका छन् । पहिला पहिला दुई छाक खान लाउन समस्या हुने समुदायहरूको सहकारीको कारणले गर्दा जीवन स्तर उकासिएको छ। यसरी ग्रामीण क्षेत्रमा पहुँच र आवाज– विहीनहरूको आवाज बनेर उनीहरूको सुख दुखको साथी बनेको सहकारी किन छ्या भयो ? किन अहिलेका युवा पीढीहरूलाई आकर्षित गर्न सकेन ? यसमा अहिलेका सहकारी अभियानकर्मीहरूले छलफल गर्नै पर्छ ।
सहकारी क्षेत्र जसरी विकास भयो त्यसरी नै पुस्तान्तरण हुन सकेको छैन । नेपालमा सहकारी क्षेत्रलाई जसले जन्माए, हुर्काए बढाए अझै पनि तिनै व्यक्तिहरू सहकारी क्षेत्रमा देखिन्छन् । जेनेरेसन ग्यापलाई सहकारी क्षेत्रले बुझ्नै नसकेको देखिन्छ । कुनै अमुक सहकारीको किर्ते काम र जालसाजीले पुरै सहकारी क्षेत्र नै बदनाम हुने गरेको पनि देखिन्छ । त्यसले गर्दा युवाहरूलाई यो क्षेत्रमा आउनलाई हिचकिचाहट हुने गरेको देखिन्छ । नेपालमा राजनीतिबाट अछुतो रहेको कुनै पनि क्षेत्र छैन होला । सहकारी क्षेत्र पनि राजनैतिक खिचातानी र भागबन्डाको चङ्गुलमा नराम्रोसँग फसेको छ । सदस्यको वित्तीय आवश्यकता पूरा गर्न खोलिएका सहकारी भन्दा राजनैतिक स्वार्थ पूरा गर्न खोलिएका सहकारीहरू थुप्रै देखिन्छन् । सदस्य केन्द्रित भएर सदस्यको जीवन स्तर उकास्ने सहकारीहरू कमै मात्रामा भेटिन्छन् । यस्ता यावत कारणहरूले सहकारी प्रति युवाको आकर्षण घट्दो छ ।
विभिन्न अन्य बैङ्क तथा वित्तीय संस्थाहरूले आधुनिक प्राविधिक बैङ्किङ सेवाहरू उपलब्ध गराइरहेको अवस्थामा सहकारीहरू अझै पनि पुरानै कागजी प्रक्रिया तथा ढड्डा प्रणालीमा हुँदा, सहकारीले बैङ्कको जस्तो आधुनिक प्राविधिक सेवाहरू दिन नसक्दा सहकारी प्रति मानिसहरूको रुचि कम देखिन्छ । अझ युवाहरू जो सूचना प्रविधिमा रुचि राख्छन् उनीहरूको लागि सहकारीबाट कारोबार गर्नु भनेको झन्झटिलो र समयको बरबादी बाहेक केही हैन भन्ने लाग्छ । घरै बसी बसी वाणिज्य बैङ्कहरूको मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, क्यु आर पेमेन्ट लगायत चलाउने बानी परेका युवा पुस्तालाई सहकारी के हो र सहकारी किन आवश्यक छ भनेर बुझाउनु सहकारी क्षेत्र आजको ठुलो चुनौती रहेको छ ।
कुनै बेलाका युवाहरूलाई नै आकर्षित गरेर खुलेको सहकारीहरूले हुर्किँदै गरेका बर्तमानका युवाहरूलाई आकर्षण गर्न नसकेकै हो । जति धेरै चुनौती हुन्छन् त्यति नै बढी अवसर पनि हुन्छ । चुनौती सँगै अवसर पनि आउँदै जान्छ । अर्थतन्त्रका तीन खम्बा मध्ये एक खम्बाको रूपमा संविधानले सुनिश्चित गरेको सहकारी क्षेत्रलाई ह्या सहकारी भनेर नाक खुम्च्याउने स्थिति किन आयो? ह्या सहकारी बाट वाह! सहकारी भन्ने स्थितिमा ल्याउनु नै आजको प्रमुख चुनौतीको विषय रहेको छ ।
सहकारी क्षेत्रमा युवाहरूको आकर्षणलाई जोगाइराख्न सहकारी अभियन्ताहरूको प्रमुख जिम्मेवारी रहन्छ । निम्न बमोजिम अभियानलाई लैजान सके सहकारी क्षेत्र प्रति मानिसहरूको बुझाइ तथा सोचलाई परिवर्तन गरी यस अभियानलाई दरो बनाउन सकिन्छ ।
जसरी बैङ्क तथा वित्तीय संस्थाहरूको डाइरेक्टर नियमनकारी निकायको रूपमा नेपाल राष्ट्र बैङ्क रहेको छ । त्यसै गरी सम्पूर्ण सहकारीहरूको नियमन गर्ने प्रभावकारी निकाय हुनु जरुरी छ । निष्क्रिय सहकारीहरूको दर्ता प्रक्रिया खारेजी गरेर, समय समयमा अनुगमन गरेर, सहकारीहरूको वित्तीय तथा गैर वित्तीय दुवै तरिकाले विश्लेषण गरेर नियामक निकाय कडा रूपमा प्रस्तुत हुनुपर्दछ । सहकारी क्षेत्रलाई दलीय राजनैतिक स्वार्थ भन्दा माथि रहेर अगाडि बढाउने गरी दलीय स्वार्थ लिप्त हुनेलाई सहकारीमा “प्रवेश निषेध“ भनेर बन्देज लगाउन नियामक निकायले सक्नुपर्छ ।
अबको जमाना भनेको सूचना प्रविधिको डिजिटल जमाना हो । सहकारी क्षेत्रमा पनि सूचना प्रविधिलाई भित्र्याउन सक्नुपर्छ । आधुनिक बैङ्किङ सेवाहरू एक क्लिकमा प्राप्त गरे जस्तै सहकारीले सदस्यलाई प्रदान गर्ने सेवा पनि एक क्लिकमा प्राप्त गर्न सकिने बनाउन सक्नु पर्छ । बैङ्क नपुगेको स्थानमा पनि सहकारीहरू पुगेका छन्, प्रविधिको प्रयोगबाट अझै पहुँच बाहिर रहेका जनसङ्ख्यालाई पनि यो क्षेत्रमा समेट्न सकियो भने सहकारी क्षेत्र अझै भव्य हुने देखिन्छ । यसका लागि सहकारीका व्यवस्थापन तथा सञ्चालनमा बसेका व्यक्तिहरू प्रविधिलाई रुचाउने तथा प्राविधिक बदलावलाई सहज रूपमा लिएर सिक्ने सिकाउने सोचाइ राखेर सूचना प्रविधिलाई सहज रूपमा लिन जरुरी देखिन्छ ।
युवाहरूलाई सहकारी सम्बन्धी जनचेतना जगाउने तथा सहकारी नराम्रो मात्र हुँदैन है भन्ने खालको सोचाइमा परिवर्तन ल्याउने किसिमको शिक्षा दिन जरुरी छ । यसका लागि महँगो तारे होटेलमा गोष्ठी तथा सेमिनार गरेर तालिम आयोजना गर्नुभन्दा विद्यालय तथा विश्वविद्यालय स्तरमा वित्तीय साक्षरताका पाठ्यक्रमहरू राख्ने पहल गर्ने र सोही पाठ्यक्रम भित्र वित्तीय साक्षरताको महत्त्वपूर्ण पाटो सहकारी शिक्षालाई पनि समावेश गर्ने वातावरण मिलाउन पहल गर्न सकिन्छ । त्यसै गरी गाउँपालिका तथा नगरपालिका सँग समन्वय गरेर समुदाय स्तरमा सहकारी शिक्षाको अभियानलाई लैजानु पर्छ ।
युवाहरूलाई लक्षित गरी सहकारीहरूको रोजगारीको अवसर सिर्जना गर्ने तथा विभिन्न स्वरोजगारका कार्यक्रम हरू ल्याउन सकिन्छ । त्यस्तो कार्यक्रमहरू युवाहरूलाई लक्षित गरेर , एकदमै न्यूनतम ब्याजदरमा कर्जा लगानी गर्ने अथवा कम वा बिना धितो विभिन्न व्यवसाय गर्न कर्जा लगानी गर्ने । युवाहरूको व्यक्तित्व तथा पेसागत विकासमा सघाउ पुग्ने किसिममा नयाँ रचनात्मक किसिमका तालिम हरू आयोजना गर्ने । उनीहरूलाई तालिम सकिसकेपछि नियमित रूपमा सम्पर्क गरिरहने र पेसागत क्षमता अभिवृद्धिमा सघाउ पुर्याउन मद्दत गर्ने गर्न सकिन्छ ।
यसरी विभिन्न तरिकाले युवाहरूलाई सहकारीमा आबद्ध भइरहने वातावरण तथा उनीहरूको सहकारी प्रतिको दृष्टिकोण सकारात्मकता तिर लैजान सकिन्छ । युवाहरूले सहकारी क्षेत्रलाई ह्या सहकारी नभनेर वाह ! सहकारी भन्ने वातावरण बनाउने सम्पूर्ण सहकारी कर्मीको जिम्मेवारी पनि हो। सहकारी क्षेत्रले परिवर्तनलाई आत्म सात गरेर आफूलाई पनि समय काल परिस्थिति अनुरूप ढाल्दै गयो भने पक्कै पनि युवाहरू पनि सहकारीमा अटाउने दिन आउनेछ ।
लेखक राष्ट्रिय सहकारी बैङ्कमा कार्यरत हुनुन्छ !
(सहकारीताको २५ औं अंकमा प्रकाशित)