कुनै औपचारिक शिक्षा नलिएका मानिसले पनि आफूसँग भएको व्यावहारिक ज्ञानबाट आफ्नो घरपरिवारको सञ्चालनमा सफलता पाएको उदाहरणहरू विगतदेखिनै हामीसँग प्रशस्तै छन् । सहकारी सञ्चालनलाई पनि हामी घरपरिवार सञ्चालनसँग दाँजेर हेर्न सक्छौं । सहकारी चलाउन पनि कुनै उच्च तहको औपचारिक शिक्षा लिएको मानिस नभई हुँदैन भन्ने छैन । तर आधारभूत ज्ञान भने कुनै न कुनै तरिकाबाट लिएको हुनु आवश्यक हुन्छ ।
सामान्य क्षमता भएका व्यक्तिबाट पनि सहकारी चलेको त देखिन्छ तर जटिल अवस्थामा पनि संस्थालाई अगाडि बढाउन र संस्थाको बृद्धि विकास सँगसँगै आउने थप जटिलताको समाधानको लागि सञ्चालन गर्ने व्यक्तिहरूमा थप ज्ञान, सीप र क्षमताको आवश्यकता पर्दै जान्छ । साकोस दीगो प्रकृतिको व्यावसाय गर्ने सहकारी हो यसको नियमित बृद्धि आवश्यक हुन्छ । सहकारीका सदस्य तथा सम्पत्ती बृद्धि हुँदै गर्दा कम्तिमा पनि सोही अनुरूप सञ्चालक तथा कर्मचारीको क्षमतामा बृद्धि हुदै नगएमा कतै दुर्घटना तर्फ त लाग्दै छैनौं भनी जाँच गर्नु आवश्यक हुन्छ । सम्भावित क्षति वा अन्त्य हुनबाट जोगाउने धेरै विकल्प हुन सक्छन् तर पहिलो विकल्प विद्यमान सञ्चालक तथा कर्मचारीको क्षमता विकासका उपायहरूको अवलम्बन हुन सक्छ भने अन्तिम विकल्प संस्थाको विघटन होइन कि एकिकरणलाई लिनु उत्तम हुन्छ । तसर्थ सहकारीमा निरन्तर बृद्धि आवश्यक पर्छ भने सञ्चालन क्षमतामा पनि निरन्तर बृद्धि आवश्यक पर्छ र क्षमता विकास गर्न अपनाउने विभिन्न उपायको रूपमा तालिम कार्यक्रम पनि एक प्रभावकारी उपायको रूपमा प्रचलित छ ।
तालिम लिने वा शिक्षा आर्जन गर्ने कुरा निरन्तर हुन आवश्यक भएता पनि जब अप्ठेरोमा परिएको वा संकट परेको महशुश हुन्छ तब मात्र सिक्न चाहने प्रबृत्तिमा सुधार ल्याउनु पर्छ । ज्ञान, सिप तथा धारणामा परिमार्जन वा बृद्धि गर्न तालिम लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने गरिएको पाइन्छ । सञ्चालक तथा कर्मचारी पनि मान्छे नै भएकोले केही न केही कमी कमजोरी हुनु स्वभाविक होला र आफूलाई आवश्यक ज्ञान तथा सिपको बारेमा अनविज्ञ हुनुलाई पनि कमजोरीको रूपमा लिन सकिएला तर विभिन्न कारण देखाई सहकारीको पदमा बस्ने अनि आफ्नो जिम्मेवारी तथा दायित्वको गाम्भिर्यतालाई बुझ्न पर्याप्त कोशिश नगर्नु सबै भन्दा ठूलो भूल हो । सहकारीको सञ्चालक समितिमा पदासिन हुनु भनेको सहकारीबाट फाइदा लिन होइन कि, अरूलाई फाइदा दिन र संस्था एवं सदस्यको क्षति हुन गएमा त्यसको जिम्मेवारी लिन तयार हुनु हो भन्ने कुरा बुझ्न र बुझाउन आवश्यक छ ।
समिति तथा उपसमितिका पदाधिकारी एवं सदस्यहरू र व्यवस्थापक लगायत कर्मचारीहरूले आ– आफ्नो काम, कर्तव्य तथा अधिकार स्पष्ट बुझेकै हुनुपर्छ । यस्ता कुरा बुझाउनमा तालिम शिक्षा कार्यक्रम प्रभावकारी हुन सक्छ । यस्ता कार्यक्रमबाट सिकेका–बुझेका कुराहरूलाई व्यवहारमा उतार्न दह्रो अठोट चाहिन्छ । सिकाई व्यक्तिगत रहन्छ जब व्यवहारमा उतार्नु हुन्छ र संस्थामा लागू गर्नु हुन्छ तब मात्र संस्थागत हुन जान्छ अनि हामिले सिकेको काम लाग्यो भन्न सक्छौं । यदि सिकेको कुरा संस्थामा उपयोग भएन भने सो शिक्षा आर्जन गर्नमा गरिएको लगानी डुबाइयो भनी बुझ्दा फरक नपर्ला जस्तो लाग्छ । तालिम मात्रै सिकाइको माध्यम हुँदै होइन ।
स्व–अध्ययन गर्न सकिन्छ, अनुभवी व्यक्तिहरूसँग कुराकानी गर्न सकिन्छ, सहकारी संस्थाहरूको अध्ययन अवलोकन गर्न सकिन्छ, इन्टरनेटबाट चाहेको कुरा खोजी गरी बुझ्न सकिन्छ, विभिन्न कार्यक्रममा भाग लिएर थुप्रै कुरा सिक्न सकिने जमानामा सिक्न चाहनु गर्नुपर्छ, जहाँ इच्छा तहाँ उपाय भन्ने भनाई चरितार्थ हुन सक्छ । आफ्नो लागि उपयुक्त उपाय अपनाउन सकिन्छ । कुनै सहकारीको सञ्चालक वा कर्मचारीले कुनै पनि तालिम नै नलिइकन आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरिरहेको ठान्नु भएको छ भने विचार गरौं त यदि तालिम पनि लिनु भएको भए अझ कति राम्रो हुने थियो होला । हरेक तालिममा कुनै न कुनै नयाँ कुरा सिक्ने अवसर पाइन्छ भन्ने सोचाई बनाउँदा पक्कै पनि केही सिकिन्छ भन्ने मान्यता राख्नु राम्रो रहेछ ।
सहकारी संस्था शुरू गर्दै हुनुहुन्छ भने सहकारी के र कस्तो संस्था हो भन्ने कुरा बुझ्नको लागि पूर्व सहकारी शिक्षा तालिम संस्थामा संलग्न हुने सबैले लिनु आवश्यक हुन्छ । संस्थाका सदस्यहरूको लागि सदस्य शिक्षा तालिम सञ्चालन गर्नु अझ राम्रो हुन्छ । संस्थाको मुख्य व्यवसाय के बनाउने, त्यसबाट सदस्यले के फाइदा लिन सक्छन् र संस्थालाई कुन आकारको कारोबारबाट शुरूवात गर्नु उपयुक्त हुन्छ जस्ता विभिन्न कुरा पहिलेनै सामुहिक रूपमा बुझ्ने र सोही बमोजिमको विनियम तथा आधारभूत नीति/कार्यविधिहरू एवं संस्था दर्ता गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण कागजातहरू तयार गर्ने कुराहरू राम्रोसँग बुझ्नको लागि पनि तालिम लिन सकिन्छ ।
जब संस्थाको व्यवसाय वा कारोबार शुरू गर्ने कुरा तय हुन्छ त्यति बेला कम्तिमा पनि कर्मचारीको रूपमा रही काम गर्ने व्यक्तिमा व्यवस्थित र दुरूस्त हिसाव–किताव राख्ने क्षमता भए नभएको एकिन गरी आवश्यकताको आधारमा लेखा व्यवस्थापन तालिम उपलब्ध गराउनु पर्छ । सञ्चालकहरू मध्ये कम्तिमा पनि कोषाध्यक्षमा लेखा सम्बन्धी पूर्ण ज्ञान शुरूमा नै हुनु आवश्यक हुन्छ । सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा उपसमितिका सबैले सहकारी व्यवस्थापन तालिम, आधारभूत नेतृत्व विकास तालिम तथा संस्थाले सञ्चालन गर्ने व्यवसायको बारेमा र सो व्यवसाय सञ्चालन सम्बन्धी नीति तथा कार्यविधि निर्माण गर्न र बनेको कार्यविधि बमोजिम जिम्मेवारी पूरा गर्न आवश्यक पर्ने ज्ञान समयमानै लिएको हुनु पर्छ । यदि बचत तथा ऋण सहकारी हो भने बचत कार्यविधि तथा ऋण कार्यविधीमा के के कस्तो व्यवस्था गरिएको छ, के गर्नु राम्रो हो र के गर्नु हुदैन भन्ने कुरामा पहिले नै स्पष्ट हुनु पर्छ । यसको लागि बचत तथा ऋण व्यवस्थापन तालिम आवश्यक हुन सक्छ । त्यस्तै गरी अन्य प्रकारका सहकारीका सञ्चालक तथा कर्मचारीहरूमा पनि आफ्नो संस्थाको व्यावसायिक कारोबारको बारेमा विस्तृत ज्ञानको लागि तालिम लिनु आवश्यक हुनसक्छ ।
संस्थाको बृद्धि सँगसँगै समिति, उपसमिति तथा कर्मचारीले सिक्नु पर्ने थप विषयहरू आउँछन् । वित्तीय विश्लेषण, बस्तु तथा सेवा विकास, योजना तथा बजेट तर्जुमा, सुशासन, कर व्यवस्था, कानुनी व्यवस्था, सम्पत्ति शुद्धिकरण, आन्तरिक लेखा परीक्षण, जाली नोट पहिचान, हस्ताक्षर जाँच, वित्तीय साक्षरता, जोखिम व्यवस्थापन, बचत तथा ऋण व्यवस्थापन (बचत ऋणको कारोबार गर्नेहरूको लागि), संस्थाको व्यवसाय अनुरूपको प्राविधिक तालिम तथा बजार व्यवस्थापन जस्ता तालिम सम्बन्धित जिम्मेवारी लिने सम्पूर्णलाई नियमित रूपमा आवश्यक पर्दछन् ।
समिति/उपसमितिका पदाधिकारी तथा सदस्यहरूलाई र कर्मचारीहरूलाई प्रवेश गर्दा शुरूमै र कार्य जिम्मेवारी हेरफेर हुँदा थप तालिम दिलाउनेको व्यवस्था मिलाउनु पर्दछ । सहकारीका सदस्यहरूको लागि सदस्य शिक्षा तथा सहकारी शिक्षाको अतिरिक्त तालिमको रूपमा उद्यमशिलता विकास तालिम, वित्तीय साक्षरता तालिम तथा विभिन्न सीप विकास सम्बन्धी तालिमहरूलाई नियमित उपलब्ध गराउने व्यवस्था मिलाउनु आवश्यक हुन्छ ।
संस्थाको व्यावसायिक विकासको लागि उच्चस्तरीय तालिमहरूको पनि आवश्यक पर्दछ । यस्ता उच्चस्तरीय तालिमहरू स्वदेश मै पाउने वा विदेशमा लिन जानुपर्ने हुन सक्छ । तर यस्तो तालिमको लागि तुलनात्मक रूपमा बढी खर्च लाग्ने हुन्छ । उच्चस्तरीय तालिम लिनको लागि संस्थाको स्तर पनि बृद्धि गर्नु आवश्यक हुन्छ भने खर्च गर्न सक्ने क्षमता विकास गरेको हुनु पर्छ । उच्चस्तरको तालिम लिनको लागि संस्थाको स्रोत र आर्थिक क्षमता पनि उच्च बनाइराख्नु आवश्यक देखिन्छ । सियुडिसिसी, सियुसिसिसी, सियुएलसिसी तथा रणनीतिक योजना तर्जुमा जस्ता तालिमहरू नेपालमै पाउन सकिने उच्चस्तरीय तालिम कार्यक्रमहरू हुन् । सहकारी संस्थाले तालिमलाई व्यवस्थित गर्न नियमित रूपमा एक सक्रिय उपसमिति रहने र नियमित अद्यावधिक भएको तालिम शिक्षा कार्यविधिको व्यवस्था गरेको हुनु पर्दछ । संस्थामा भएको कर्मचारीको संरचना अनुसार तालिम हेर्ने कर्मचारी, तालिम शाखा वा तालिम विभाग जस्ता जिम्मेवारी तोकिएको संरचना वा कर्मचारीको व्यवस्था गरेको हुनु आवश्यक छ । शिक्षा कोषको आकार ठूलो बनाउने र कोषको रकमको अधिकतम सदुपयोग हुने खालको बजेट कार्यक्रम तयार गरी प्रभावकारी रूपमा सञ्चालन गरेमा सहकारीले आफ्नो क्षमता र आवश्यकता अनुसारको तालिम शिक्षा आर्जन गर्नमा बाह्य सहयोग लिन नपर्ने बनाउन सकिन्छ ।
औपचारिक रूपमा तालिम आवश्यकता पहिचानको विधि अपनाउन सके राम्रो हो तर यस्तो विधिको प्रयोग गर्न नसक्दा संस्थाका कुन जिम्मेवारीमा बसेका व्यक्तिलाई के कस्तो तालिम आवश्यक रहेछ भन्ने थाहा पाउने सरल उपायको रूपमा समिति, उपसमिति तथा कर्मचारीहरूको नियमित मूल्याङ्कनलार्इ लिन सकिन्छ । यस्तो मूल्याङ्कनमा विद्यमान सीप तथा ज्ञानको स्तर मापन गर्नु पर्छ जसबाट अपुग भएको ज्ञान तथा सीप थाहा पाउन सकियोस् । संस्थाले यस्तो मूल्याङ्कन गर्ने प्रणालिको विकास गर्न पनि सक्छ । के कस्तो विषयको तालिम पाएमा अझ राम्रो गर्न सकिथ्यो भन्ने विषयमा राय विचार संकलन गर्ने, छलफल गर्ने र निचोड निकाल्ने बानीको विकास गर्न सक्नुहुन्छ ।
अन्य कुनै उपयुक्त तरिका अपनाई खास खास व्यक्तिको लागि आवश्यक तालिमको विषय पहिचान गर्ने व्यवस्था मिलाउनु पर्दछ । यसरी संकलित विषयहरूलाई वर्गिकरण र प्राथमिकिकरण गरी तालिमको योजना तयार गर्नु आवश्यक हुन्छ । सहकारीका लागि विभिन्न तालिम सञ्चालनमा अनुभवी तथा विज्ञ व्यक्तिसँग परामर्श गर्दा पनि आवश्यक तालिम पहिचान गर्न सहयोग पुग्दछ ।
एउटै विषयमा पनि फरक फरक स्तरको तालिम सञ्चालन हुन सक्छन् । तुलना गरेर बुझ्नको लागि, जसरी १ कक्षामा पनि नेपाली विषयमा र ६ कक्षामा पनि नेपाली विषयमा पढाई हुन्छ भने विषयको नाम लिँदा एउटै भए पनि सिकाइने कुरा त धेरै फरक हुन्छ भने जस्तै तालिमको नाम एउटै भए पनि सहकारीको अनुभव, अभ्यास र सहभागी व्यक्तिमा भएको अनुभव तथा ज्ञान जस्ता कुराको आधारमा तालिममा समावेश गरिने विषयवस्तु फरक हुन सक्छ । त्यसैले तालिम आयोजना गर्दा प्रशिक्षकसँग र तालिममा सहभागी पठाउँदा तालिमको आयोजक वा आवश्यक परेमा प्रशिक्षकसँग समेत यस्ता विषयमा राम्ररी बुझेर उपयुक्त लागेमा मात्र तालिम सञ्चालन गर्ने वा तालिममा सहभागी पठाउने गर्नुपर्ने हुन्छ । तालिममा समावेश गरिने विषयवस्तुहरू सहभागीको आवश्यकता तथा अपेक्षा पूरा गर्ने खालको हुनुपर्ने भएकोले विषयवस्तुको आधारमा आवश्यक व्यक्तिलाई सहभागीको रूपमा छनोट गर्नु पर्छ ।
तालिममा संस्थाको तर्फबाट हुने सहभागी संख्या र लागत लगायतका कुराको विश्लेषण गरी अन्य निकायद्वारा आयोजित तालिममा सहभागी पठाउने वा आफैले तालिम आयोजना गर्ने भन्ने कुरा निर्धारण गर्न सकिन्छ । सहकारीका लागि सञ्चालन गरिने एउटा तालिममा सामान्यतया २०/२४ जना सहभागी हुनु ठिक्क मानिन्छ ।
तालिम आयोजकको अनुभव, प्रशिक्षकको अनुभव, तालिम स्थल तथा वरिपरिको स्वच्छ शान्त वातावरण जस्ता कुराहरूले तालिमको प्रभावकारिता तथा गुणस्तरमा निक्कै ठूलो भूमिका खेल्दछन् । तालिममा प्रयोग गरिने सामग्रीहरू, प्रविधि र सिकाईको विधि जस्ता कुराहरू सहभागी सक्रिय बनाइराख्न सकेन भने तालिमको प्रभावकारितामा ह्रास आउँछ । खाना तथा आवासको उपयुक्त प्रबन्ध साथै पर्याप्त खुला स्थल र भौतिक पूर्वाधार एवं आयोजकको सुव्यवस्थापनले तालिममा सहजता ल्याउछ । समय व्यवस्थापन, प्रशिक्षण शैलि र प्रशिक्षकको सुहाउँदो व्यवहारले सहभागीमा उर्जा विकास गर्न मद्दत गर्छ । तालिम कक्षमा बसाई (सिट) व्यवस्थापन र हलको आकार तथा सजावट आदि जस्ता धेरै कुराले तालिमको प्रभावकारितामा फरक पार्दछन् । तालिम स्थल तथा वरपरको वातावरण, प्रशिक्षक र प्रशिक्षण शैलि तथा सिकाइका विधि, सहभागीको स्तर र विषयवस्तुहरू बीचको तालमेल मिले नमिलेका कुरा तालिम सञ्चालनको क्रममा पनि बेला बेलामा जाँच गर्नु पर्छ । उपयुक्त प्रशिक्षक छनौट गर्ने कुरामा सबै भन्दा बढी ध्यान दिनु आवश्यक हुन्छ ।
सहकारी अभियान भित्र हेर्दा सहकारीका जिल्ला, प्रदेश, केन्द्रीय संघहरू र महासंघ लगायत राष्ट्रिय सहकारी बैंकबाट सहकारीका लागि विभिन्न तालिमहरूको आयोजना गर्ने र तालिम कार्यक्रममा प्रशिक्षक उपलब्ध गराउने गरेको प्रशस्तै पाइन्छ । केही केन्द्रीय संघ, महासंघ र राष्ट्रिय सहकारी बैंकले बैदेशिक तालिममा सहभागिता गराउने र कहिले बैदेशिक प्रशिक्षकबाट स्वदेश मै तालिम सञ्चालन गर्ने गरेका पाइन्छ । केही वर्ष यता राष्ट्रिय सहकारी बैंकले सहकारीका लागि सञ्चालन गर्ने तालिम कार्यक्रममा उल्लेखनीय रूपमा बृद्धि गरेको देखिन्छ । पछिल्लो चरणमा प्रत्यक्ष उपस्थितीमा मात्र नभई अनलाईन/भर्चुअल रूपमा अन्तर्राष्ट्रिय तालिमहरू समेत सञ्चालन हुँदैछन् । सशुल्क र निशुल्क रूपमा सहकारीहरूका लागि सञ्चालित यस्ता तालिमको लागि आफ्नो संस्थाको लागि आवश्यक तालिमको बारेमा सम्बन्धित निकायमा जानकारी गराई तालिम उपलब्ध गराउन अनुरोध गर्न सकिन्छ । नेपाल सरकारबाट सहकारी क्षेत्रको तालिमको लागि सहकारी अनुसन्धान तथा प्रशिक्षण केन्द्र सञ्चालनमा छ । सबै प्रदेशमा प्रशिक्षण केन्द्र सञ्चालन गर्ने सरकारी नीति अनुरूप प्रशिक्षण केन्द्रहरू स्थापनाको क्रम चलिरहेको बुझिएको छ । विभिन्न गैरसरकारी संघ/संस्थाहरूले पनि विगत देखिनै सहकारीका लागि आ–आफ्नो बजेट कार्यक्रम अनुसार आ–आफ्नै कार्यक्षेत्र र लक्षित वर्गका लागि तालिम सञ्चालन गर्दै आएका छन् । आफ्नो संस्थाको लागि उपयुक्त तालिम कार्यक्रमको बारेमा चासो लिने र खोजी गर्ने कार्यमा सहकारी संस्थाहरूको आफ्नै अग्रसरता आवश्यक छ ।
तालिम सञ्चालन गर्ने वा तालिममा सहभागिता गराउने दुबै अवस्थामा लागतको कुरा आइहाल्छ । तालिम सञ्चालनमा खर्च जोडिएरै आउँछ र खर्च कसले व्यहोर्ने वा कोबाट उठाउने भन्ने सवालमा कि त आयोजकले व्यहोर्ने कि सहभागीबाट उठाउने वा यी दुबैको मिश्रित रूपमा लाने भन्ने उपायको बारेमा अभियान भित्रका आयोजकहरूमा तालिम आयोजना गर्नु पूर्व प्रायः आइरहने कुरा हो । नेपाल सरकारले उपलब्ध गराउने तालिम र दातृ संस्थाको सहयोगमा परियोजना अन्तर्गत गैरसरकारी संस्थाहरूद्वारा प्रदान गरिने बाहेकका तालिम कार्यक्रम निशुल्क प्रायः भेटिदैनन् ।
शुल्क तिरेर पनि सहकारीले आफ्नो व्यवसाय तथा बस्तुसेवाको गुणस्तर बृद्धि र संस्थाको दिगो विकासको लागि आवश्यक तालिम लिनुपर्छ । शुल्क कति तिर्नु ठिक हो भन्ने कुराको लागि तालिममा गरिने खर्चलाई लगानीको रूपमा लिने र सो लगानीबाट प्राप्त सिकाईलाई संस्थामा उपयोग गरेर कति फाइदा लिन सकिएला भन्ने कुराको विश्लेषण गर्न वा पूर्वानुमान गर्नु आवश्यक हुन्छ । संस्थालाई आवश्यक तालिम शिक्षा आर्जन गरेर संस्थाको दिगो विकासको लागि योगदान गर्नमा सहकारीका सञ्चालक तथा कर्मचारीहरू चुक्नु हुँदैन ।
(सहकारीताको २४ औं अंकमा प्रकाशित)