विश्वको १२ प्रतिशत मानिस सहकारी अभियानसँग जोडिन पुगेका छन् । विश्वमा सहकारीले मात्र १० प्रतिशत रोजगारी सिर्जना गरेको छ । तर यतिबेला सहकारी सदस्य नभएका र सहकारीमा प्रत्यक्ष नजोडिएका व्यक्तिहरुबाट समेत सहकारी मोडेलका विषयमा चासो बढ्नुले पनि यसको थप महत्व उजागर गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय विकास सहायता एजेन्सीहरुले आफ्ना एजेन्डाहरुमा सहकारीलाई महत्वका साथ समावेश गर्न थालेका छन् । पैसा र प्रविधिको उचित प्रयोग हुने भएकाले पनि सहकारी मोडेलको विकल्पमा अर्काे भरपर्दाे व्यवसाय नदेखिनु स्वभाविक पनि हो । आफ्नो लागि सदस्यले आफ्नै नेतृत्वमा कार्य गर्ने यो मोडेल सबै क्षेत्रमा उत्तिकै फिट र प्रभावकारी पनि छ ।
नाफाका लागि जे पनि गर्ने प्रवृत्तिको विरुद्धमा धावा बोल्ने नैतिक, मूल्य र सिद्धान्तमा आधारित उद्यम हो सहकारी । त्यसैले दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहकारी अभियानले महत्वपूर्ण भूमिका खेल्नुपर्ने अवस्था सिर्जना भएको छ । सहकारीले यसमा अर्थपूर्ण जिम्मेवारी बहन गर्नका लागि कार्य गरिरहेका पनि छन् । आर्थिक बृद्धि, सामाजिक विकास र वातावरणीय उत्तरदायित्वका लागि दीर्घकालिन दृष्टिकोणको पोषणमात्र होइन अब कार्यन्वयनमा युद्धस्तरमा सहकारी अभियान लागि पर्नुपर्ने अवस्था छ । कोही पछाडी नपरुन् भन्ने थिमका साथ विश्वको चुनौती सामना गर्न दिगो विकास लक्ष्यका १७ वटा एजेन्डा तय भएका छन् । कसैलाई पछाडी नपार्ने समान रुपमा पुँजीभन्दा सदस्यको महत्व दिने एउटै व्यवसाय भनेको सहकारी व्यवसाय नै हो । त्यसैले यो थिमलाई सहकारीले नै जिम्मेवारीपूर्ण भएर बोक्नुपर्छ । त्यसका लागि सहकारीले सिद्धान्तलाई पूर्ण पालना गर्न भुल्नु हुँदैन । सहकारी मोडेलले पनि निजी व्यवसायी झै नाफालाई मात्रै नजर दौडाउन थाल्यो भने यसको सुन्दर पक्ष नै हराउँछ ।
दिगो विकास लक्ष्यमा आफ्नो संघ÷संस्थाको अवस्था कस्तो छ ? कुन एजेन्डामा आफ्नो संस्थाले काम गरिरहेको छ ? त्यसमा गहिरिएर अध्ययन गर्ने बेला आइसकेको छ । संघ÷संस्थाको संचालकको कर्मचारी र सदस्यको दिगो विकास लक्ष्यको विषयमा ज्ञान र क्षमतामा बृद्धि गर्नेतर्फ हाम्रो योजना नीति र रणनीति तय हुनुपर्छ । दिगो विकास लक्ष्यमा हामीले गरेको कार्यको मापन गर्ने र त्यसले के उपलब्धी दियो भनेर डकुमेन्टेसन गर्ने मेजरमेन्ट गर्ने हाम्रोे कार्य हुनुपर्छ । हाम्रो ज्ञानलाई व्यवस्थापन गर्ने र आफ्नो कथालाई सुनाउने, प्रचार गर्ने कार्य गर्नुपर्दछ । जसले अरुलाई पनि प्रेरणा मिल्दछ र सहकारी मोडेलको शक्तिको पहिचान हुने छ ।
आज जलवायु परिवर्तन मानव जातीको सबैभन्दा ठूलो चुनौतीका रुपमा देखा पर्दैछ । दिगो विकास लक्ष्यको १३ नम्बरको एजेन्डा । जलवायु परिवर्तनको प्रभावको सामना गर्ने उत्थानशीलता र अनुकुलन क्षमता सुदृढ गर्नका लागि सहकारीले निकै महत्वपूर्ण योगदान दिन सक्छ । जलवायु परिवर्तनले दिगो विकासका थु्रपै एजेन्डालाई प्रभाव पार्न सक्छ । गरिवीको अन्त्य, भोकमरीको अन्त्यका लक्ष्य लिइएको छ तर जलवायु परिवर्तनले पुरै गाउँ भोकमरीमा पार्न सक्छ । गरिवको सख्या बढ्न सक्छ । स्वास्थ्यमा डरलाग्दो अवस्था सिर्जना हुन सक्छ ।
हाम्रो वायुमन्डलनमा कार्वन डाइअक्सााइडको सान्द्रता सन् २०१८ मा ३ मिलियन बर्षकै सर्वाधिक बढि देखिएको थियो । हाल विश्वको ११ प्रतिशत मानिस जलवायु परिवर्तनको प्रभावले समस्या भोगिरहेका छन् भन्ने विभिन्न अध्ययनले देखाइसकेको छ । सुख्खा, बाढीपहिरो, तातो हावा, समुद्र सतहको बृद्धिजस्ता संवेदनशिल चुनौतीको सामना गर्न मानिस बाध्य भएका छन् । हामीले अझै पनि जलवायु परिवर्तनको सबैभन्दा खराब प्रभावबाट बच्न धेरै कार्य गर्न सक्छौं । सुरक्षित भविश्य निर्माणका लागि सामुहिक पहल गर्न सक्छौं । यसका लागि हामीले सामुहिक पहल मात्र गरेर पुग्दैन हाम्रो गति दु्रत हुन पनि आवश्यक छ । जलवायु परिवर्तनको मुख्य कारण इन्धन हो जसको विकल्पमा स्वच्छ र नवीकरणीय ऊर्जाको प्रयोगमा हामीले जोड दिनुपर्छ । हामीले मानिस र प्रकृतिलाई अपरिहार्य परिवर्तनको अनुकलु बनाउन मद्दत गर्नुपर्छ ।
औद्योगिक क्रान्तिपछि मानव कार्यका कारण विश्वको तापक्रममा १ डिग्रीसेल्सियस बृद्धि भएको छ । यो अझै बढ्दै छ । बैज्ञानीहरुले १.५ डिग्रीसेल्सियल तापमान बृद्धिले नै भायावह प्रभाव पार्ने अनुमान गरेका छन् । तापक्रम बृद्धिसँगै हिउ पग्लने, समुद्र सतह बढ्ने, कतिपय टापु जलमग्न हुने अवस्थाको अनुमान भइरहेको छ । पानीको अभाव र बालीनाली असफलताका कारण खाद्यन्न अभावलगायतका डरलाग्दो समस्या निम्तिने छन् ।
०३० सम्म १ दशमलब ५ डिग्री सेल्सियससम्म वार्मिङलाई सिमित राख्ने लक्ष्य लिइएको छ । यसका लागि विश्वकै सर्वाधिक ठूलो अभियान सहकारी सामु ठूलो भूमिका खेल्नुपर्ने जिम्मेवारी आइपरेको छ । सदस्य केन्द्रीय व्यवसायका रुपमा रहेको सहकारीले महत्वपूर्ण योगदान गर्नुपर्ने अवस्था छ । स्थानीयस्तरमा मौसम परिवर्तन अनुकुलन तथा समुत्थान विकासमा सहकारी क्षेत्रको योगदान अपरिहार्य देखिएको समयमा यस अघि विश्वमा थु्रपै सहकारीले मौसम परिवर्तन अनुकुलन तथा समुत्थान विकासमा उदाहरणीय कार्य गरेका छन् । जुन उदाहरणबाट हामीले पनि केहि सिर्जशिल र नविन कार्य गरेर दिगो विकास लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान दिनसक्छौं ।
क्यानडामा एउटा सहकारी छ । जसको नाम हो मोटो । यो कार शेयरिङ्ग गर्ने सहकारी हो । जहाँ सदस्यलाई कारको मालिक बनाइछ । जसका कारण उनीहरुले कारको लागत र पर्यावरणीय प्रभावबाट बच्दछन् । मोडोका सदस्यले औसत १ हजार ४ सय किलोमिटर प्रति बर्ष ड्राइभ गर्दछन जबकी अरुले औसत ६ हजारदेखि २४ हजार किलोमिटर ड्राइभ गर्दछन् । वायु प्रदुषण रोक्नका लागि यो संस्थाले उदाहरणीय कार्य गरेको छ । त्यसैगरि क्यानडाको एक काग्रो मजदुर सहकारीले अर्काे उदाहरण प्रस्तुत गरेका छ । यो सहकारीले किराना सामानदेखि रेष्टुँराका भोजनसम्म काग्रो साइकलबाट पु¥याउने काम गर्दछन् । जसले जलवायु परिवर्तनमा मात्र योगदान दिएका छैन, दिगो विकासका अन्य लक्ष्यमा समेत योगदान दिइरहेका छन् । अमेरिकको एउटा ट्याक्सी मजदुर सहकारी युनियन छ । जसले हाइब्रिड कारको उपयोग गर्न सदस्यलाई प्रोत्साहन गरेको छ । यस्ता कारको ऊर्जा दक्षतामा सुधार गर्ने काम समेत यो सहकारीले गरिरहेको छ । हाइब्रिड कार यतिबेला लोकप्रिय बन्दै गएको पनि छ ।
त्यस्तै युकेमा ब्रोकन स्पोक एक मल्टिस्टकहोल्डर सहकारीले साइकलिङ, मर्मत, सुरक्षाका साथै साझा उपकरणहरु, पाठ्यक्रम प्रदान गर्दै आएको छ । यातायातको प्रदुषण रोक्नका लागि यी सहकारीले गरेको योगदान महत्वपूर्ण छन् । उनीहरुले सदस्यलाई वातावरण जोगाउनका लागि प्रोत्साहन गर्ने, त्यसमा अभ्यस्त बनाउने काम गरेका छन् । कारसियरिङ गरेर थोरै यातायताबाट धेरै मानिसले सेवा लिएका छन् । यस्ता उदाहरणीय कार्य हामीले अनुसरण गर्नुपर्छ ।
त्यसैगरि, कृषि क्षेत्रमा पनि यस्ता उदाहरणीय सहकारीहरु हाम्रो सामु छन् । हामीले पनि यस्ता सहकारी संस्थाहरु स्थापना गर्न प्रोत्साहन गर्नुपर्दछ । जसका लागि सरकारको पनि महत्वपूर्ण भूमिका रहन्छ । स्वीडेनको ल्यान्टमन्नेन कोअपरेटिभले कृषि कम्पनी स्थापना गरेको छ । यो सहकारीले स्वीडेन र युरोपका बाँकी भागमा बाली अनुसन्धान विकास र मार्केटिङको प्रवद्र्धन गर्दछ । जलवायु परिवर्तनसँगै वालीमा देखिएको अस्वभाविक अवस्थाको अध्ययन गरी मौसम परिवर्तन समुत्थान विकासमा उसले योगदान दिइरहेका छन् । यस्ता विषयमा हाम्रो पनि तत्काल ध्यान जानुपर्ने अवस्था छ । नेपालका थ्रुपै ग्रामिण भेगमा पानीका मुहान सुकेर गाउँ नै बसाई सर्नुपर्ने अवस्था सिर्जना भएका छन् । यस्तो अवस्थालाई सम्बोधन गर्नका लागि समुदायलाई नै एकजुट गराउँदै यो परिवर्तिन अवस्थालाई सामना गर्न सक्ने अवस्थाको सिर्जना गर्नुपर्दछ ।
दक्षिण अफ्रिकाको हेविल्ड सहकारीले जलवायु परिवर्तन अनुकुलन कार्यक्रमको नेतृत्व गरेको पाइन्छ । नेपालमा पनि गरिमा किसान सकारीले समयानुकुल तरकारी खेती गर्दै आयमा विविधता प्रदान गरेको छ । जसले स्थानीय जनतालाई जलवायु परिवर्तनबाट जोगिनका लागि भूमिका खेलेको छ । कुखुरा पालनका लागि पुन ः लगानी गर्न समूह बचत योजना विकास गरी उनीहरुको आम्दानीमा विविधता ल्याएको यो सहकारी विश्वका लागि पनि नमुना बन्न सफल छ । कोपेडोटा सहकारीले ५० लाख ६० केजी बोरा उच्च ग्रेडको कफी उत्पादन गर्दछ । यसले सामान्य प्रविधिको प्रयोगबाट कफी सुकाउन थालेपछि ऊर्जा प्रबन्ध कार्यक्रमले विजुलीको उपयोगमा ५० प्रतिशत कमी आएको एक अध्ययनले देखाएको छ । सन् २००९मा यो विश्वकै पहिलो कार्वन न्यूट्रल कफी बनेको थियो । हाम्रो गाउँघरमा यस्ता थ्रुपै कार्य छन् । जसको प्रचार गर्नुपर्ने त्यस्ता कार्यलाई प्रोत्साहन गर्नुपर्ने अवस्था छ । समुदायमा ज्ञान आदानप्रदान गर्नुपर्ने अवस्था छ । त्यसका लागि पनि सहकारी मोडेल सबैभन्दा उपयुक्त औजार भएकाले यस्ता सहकारी स्थापनाका लागि सहज अवस्था सिर्जना गर्न सरकारले पनि भूमिका खेल्नुपर्छ ।
जलवायु परिवर्तनमा यस्ता कार्यहरु सहकारीले मात्र गर्न सक्छन् । किनकि यो सामाजिक व्यवसाय हो । सहकारीले आर्थिक उन्नतीको मात्र लेखाजोखा गर्दैन । पुथ्वीको आयु, मानिसको स्वास्थ्यलाई समेत नाफाका रुपमा हिसाब किताब गरेर व्यवसाय गर्न सक्ने भएकाले पनि जलवायु परिवर्तनमैत्री विकासका लागि सहकारीले योगदान दिन सक्छ । अग्र्यानिक फामिङ्ग, नविकरणीय ऊर्जालगायतको क्षेत्रमा जलवायु परिवर्तनको प्रभावलाई सामना गर्न सदस्यको उत्थानशीलता र अनुकुलन क्षमता सृदुढ गराउने संयन्त्रको प्रवद्र्धनमा सहकारीले योगदान गर्नेभएकाले सरकारले सहकारीसँग यी विषयमा सहकार्य गर्न हिचकिचाउनु हुँदैन । यस्ता क्षेत्रमा सरकारबाट हुने लगानी सहकारीमार्फत जाने संयन्त्र निर्माणमा गरिनुपर्छ ।
अमेरिकाको अग्र्यानिक उपत्यकाका सहकारी सदस्यहरुले सिंथेटिक मलको प्रयोग हटाएका छन् । त्यसैगरी जलवायु परितर्वनमा सोलार सहकारीहरुले समेत महत्वपूर्ण योगदान दिदै आएका छन् । जर्मनीको जिएलएस बैंक, ३० हजार सदस्य भएको क्रेडिट युनियन हो । यसले नविकरणीय ऊर्जाका लागि कोष बनाएको छ । साथै १९९५ देखि वायु ऊर्जामा समेत यसले कोष खडा गरेको छ । सहकारीले सदस्यलाई ध्यानमा राखेर व्यवसाय तथा क्रियाकलाप गर्ने भएकाले मानवलाई असर पर्ने कार्य यसले गर्दैन । सदस्यको सुस्वास्थ्य र समृद्ध जीवनको प्रत्याभुति दिइरहेका छन् । अहिले शिक्षा व्यापार भइरहेको समयमा समावेशी, समतामूलक, सर्वसुलम गुणस्तरीय र व्यवसायीक शिक्षाका लागि सहकारी जस्तो अर्काे उपयुक्त मोडेल हुन सक्दैन । तर नेपालमा सहकारी विद्यालय स्थापनाका लागि कानुनी अड्चन खडा गरिएको छ ।
यसलाई तत्काल सच्चाउनु पर्छ । त्यसैगरी स्वच्छ तथा सफा पानी र सरसफाइको क्षेत्रमा सहकारी मोडेल अवलम्बन गर्ने, दिगो ऊर्जामा पहुँच विस्तारका लागि, सुरक्षित काम गर्ने वातावरण प्रत्याभूत गराउनका लागि पनि सहकारी मोडेललाई सरकारले अगाडि सानुपर्छ । नेपालको संविधानले सहकारीलाई समृद्ध मुलुक र दिगो विकासका लागि एउटा भरपर्दाे माध्यमका रुपमा परिकल्पना गरेको छ । यसका लागि केन्द्रिय सरकार, प्रदेश र स्थानीय सरकारले मनन गरी सहकारीसँग सहकार्य गरेर अहिले देखिएको जलवायु परिवर्तनले ल्याउने समस्यासँग लड्न नीति बनाउनुपर्दछ ।
विश्वभरिका ऊर्जा सहकारीहरु सदस्यहरुलाई सोलार, बायु, वायोग्यासलगायतका माध्यमबाट नविकरणीय ऊर्जा प्रदान गरिहेका छन् । जुन दिगो पनि भएका छन् । सहकारीमा सदस्यको प्रजातान्त्रिक नियन्त्रण, आर्थिक सहभागीता हुन्छ । जसका लागि कुनै पनि कार्य दिगो र प्रभावकारी रहन्छ । कसैको अनुदानमा चलेको कुनै पनि कार्य अनुदान र प्रोजेक्ट सकिएपछि ती कार्यले पनि सुस्तता आएको पाइन्छ । तर सहकारीमार्फत गर्दा कार्य प्रगति हुँदै जान्छ ।
वन तथा कृषि सहकारीले दिगो व्यवस्थापन अभ्यासमार्फत शुन्य कार्वन उत्सर्जनका उदाहरण प्रस्तुत गरेका छन् । त्यतिमात्र होइन आवास सहकारीले सुरक्षित, समावेशी, सर्वसुलभ आवास, सार्वजनिकस्थलमा पहुँच सुनिश्चित गरेका छन् । नेपालमै पनि सहकारीहरुले प्लास्टिकको विकल्पमा सदस्यहरुबाट निर्माण गरिएका कपडाको सपिङ ब्यागहरु तयार गरी विक्रि वितरण गर्दा सदस्यको आयस्तरमा पनि बृद्धि हुने र वातावरणमा समेत प्रभाव गर्ने देखिन्छ । कतिपय सहकारीले थोपा सिचाईका लागि सदस्यलाई प्रोत्साहन गरी सामुहिक खेती गरीरहेका छन् । यी कार्यलाई सबै तहबाट थप प्रोत्साहनको जरुरी छ ।
बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुले नविकरणीय ऊर्जामा स्थानीय खाद्य उत्पादनमा वित्तीय लगानी गरिरहेका छन् । नेपालमा विमामा सहकारीलाई निशेध गरिएको छ । तर विश्व सहकारी अभियानलाई हेर्ने हो भने विमा सहकारीले जलवायु परिवर्तनको सामना गर्न सक्ने अनुकुल सेवाहरु प्रदान गरिहेका छन् । सदस्यलाई सहज रुपमा विमा कार्यक्रममा सहभागी गराइ ठूलो जोखिम न्यूनिकरणमा योगदान दिइरहेको पाइन्छ ।
उपभोक्ता सहकारीहरुले स्थानीय उत्पादनलाई उचित मुल्यमा यातायताको खर्च कम गरी समान उपलब्ध गराइरहेका छन् । तर नेपालमा सहकारी ऐनले सहकारीलाई सबै क्षेत्रमा जान सक्ने बाटो खोलिदिएको देखिएपनि करिब तीन दर्जनभन्दा बढि ऐन नियमहरुले सहकारीलाई पहिचान दिन अस्विकार गरेकै कारण नेपालमा बचत तथा ऋणका सहकारीको सख्या ठूलो हुन पुगेको पो हो कि ? । फोहर व्यवस्थापन, पानी व्यवस्थापन, स्थानीय बाटोको व्यवस्थापनलगायत शिक्षा, स्वास्थ्य, आवास, विमालगायतका क्षेत्रमा सहकारीको सहज विस्तारका लागि ढोका खुला गर्ने मात्र होइन, जिम्मेवादी नै दिनुपर्छ ।
किनकि सहकारीले जलवायु परिर्वतनलाई सम्बोधन गर्न सात सिद्धान्तलाई आत्मसाथ गरेर सामुहिक प्रयास गर्न सक्छन् । खुला सदस्यता जलवायु परितर्वनलाई सम्बोधन गर्न सामुहिक प्रयासका लागि खुला रुपमा प्रदर्शन गर्न सकिने महत्वपूर्ण सिद्धान्त हो । सदस्यहरुलाई जलवायु परिवर्तनका विषयमा चेतना प्रदान गर्न, यसमा सहभागीता गराउन, प्रजातान्त्रिक नियन्त्रण पद्धति र आर्थिक सहभागीताले पनि ठूलो भूमिका खेल्छन् । आम समुदायले यस विषयमा चेतना प्रदान गरी यस विषयमा नीति बनाइ व्यवसायमा हुने जोखिम कम गराई एकै पटक ठूलो जनसमुदायलाई प्रभाव पार्न सकिने भएकाले सहकारीलाई सबैले चुनेको हुनुपर्छ । मेरो टोलको समस्या बाहिरको मानिसलाई थाहा हुँदैन । मैले र मेरा छिमेकीले दिनानुदिन ती समस्या भोगिरहेका हुन्छौं । त्यसको समाधानका लागि म र मेरो छिमेकीले पहल गर्दा जति प्रभावकारी हुन्छ त्यो अरुबाट हुँदैन ।
म र मेरो छिमेकीलाई एउटै सुत्रमा बाध्ने काम गरेको हुन्छ सहकारीले । त्यसैले सहकारी व्यवसाय जलवायु परिवर्तनले पार्ने असरको पहिचान गर्न र त्यसको जोखिम न्यूनिकरण गर्ने अचुक उपाय हो । यसरी सेल्फ हेल्पको माध्यमबाट प्रभावकारी रुपमा यी चुनौतीको सामना गर्न सकिन्छ । अन्य संस्थाहरुसँग सहकारीले सहकार्य गरेर अगाडि बढ्न सक्ने अवस्था रहन्छ । स्थानीयस्तरदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो नेटवर्कमार्फत यसले सहकार्य गर्न सक्छ । क्षमता, सिप, ज्ञान र प्रविधिको आदानप्रदानमा सहकारी मजबुद माध्यम हो । सहकारीले कुनै पनि काम गर्दा समाज र स्रोत साधानमा असर नपर्ने गरी गर्न सक्छ । त्यसैले यसलाई सामाजिक व्यवसाय भनिएको हो ।