ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड कोहलपुर शाखा कार्यालयद्वारा सञ्चालित एक दिवसीय “सहकारी संस्थाका सदस्य, प्रतिनिधि तथा फ्रन्ट डेस्कमा कार्यरत कर्मचारीहरूलाई सदस्य सम्बन्ध विकास तालिम” आइतबार सम्पन्न भएको छ ।
तालिममा बाँकेको कोहलपुर नगरपालिका, राप्ती सोनारी गाँउपालिका, बैजनाथ गाँउपालिका अन्तर्गतका सहकारी संस्थाहरूका बजार प्रतिनिधि तथा फ्रन्ट डेस्कमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको तालिम समापन कार्यक्रम बैंकका सञ्चालक विजया धितालको अध्यक्षता र राष्ट्रिय सहकारी बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख नारायण बेल्वासेले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रम समापनको अवसरमा बोल्दै बैंककी सञ्चालक विजया धितालले सहकारी संस्थाहरुको अग्र भागमा रहेर कार्यरत कर्मचारीहरूको क्षमता विकास गर्न अति आवश्यक रहेको तथा यसको महत्वको बारेमा चर्चा गर्नुभयो । अग्र भागमा कार्यरत कर्मचारीहरूको दक्षतामा वृद्धि भएमा मात्र संस्था सञ्चालन तथा व्यवस्थापनको साथै गुणस्तरीय व्यवसाय वृद्धिमा सहयोग पुग्ने र संस्थाको छवि निर्माणमा महत्वपुर्ण भूमिका हुने उल्लेख गर्नु भयो ।
कार्यक्रममा सहकारीको अर्थ, मर्म र परिचय, अग्र भागमा काम गर्ने कर्मचारीको भूमिका तथा काम र कर्तव्य, सदस्य समवन्ध विकासका आयामहरू, सदस्य सेवा तथा असल सञ्चार, सदस्य परामर्श, सहकारी संस्थाका आन्तरिक कार्यविधिहरु तथा सहकारी क्षेत्रका ऐन तथा कानुन लगायत विषयमा बैंकका लुम्बिनी प्रदेश प्रमुख नारायण वेल्बासे सहजीकरण गर्नुभएको थियो ।
बैंकको कोहलपुर शाखाका प्रमुख अजय रोकायाले सञ्चालन गर्नुभएको तालिम कार्यक्रममा त्यस क्षेत्रका विभिन्न २७ वटा सहकारी संस्थाका ४० जना सदस्य प्रतिनिधि, बजार प्रतिनिधि तथा फ्रन्ट डेस्कमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो ।