राष्ट्रिय सहकारी बैंक लिमिटेड मेचीनगर शाखाको आयोजनामा सञ्चालन भएको “ऋण व्यवस्थापनमा क्षमता विकास” विषयक तालिम बिहीबार सम्पन्न भएको छ ।
सहकारी ज्ञान तथा मार्गदर्शन शृङ्खला-३, अन्तर्गतको सदस्य शिक्षा कार्यक्रम २०८२/०८३ अनुसार सञ्चालन गरिएको उक्त तालिममा शाखाको कार्यक्षेत्रभित्रका विभिन्न सदस्य सहकारी संस्थाका ४१ जना सञ्चालक, पदाधिकारी तथा कर्मचारी व्यवस्थापन प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
तालिम जिल्ला सहकारी संघ लिमिटेड झापाअन्तर्गत मेचीनगर सहकारी समन्वय समितिकी संयोजक रेनुका डाँगीको अध्यक्षता तथा जिल्ला सहकारी संघ लिमिटेड झापाका वरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा ऋण लगानी व्यवस्थापन, ऋणसम्बन्धी नीतिगत व्यवस्था, ऋण विश्लेषण, ऋण सदुपयोगिता निरीक्षण अभ्यास, ऋण सेवा निर्माण अभ्यास, ऋण असुलीमा देखिने समस्या, सहभागी संस्थाहरूको आधारभूत स्तरीकरणबाट प्राप्त ऋण सूचकहरूको विश्लेषण तथा बैंकका ऋण उत्पादन (प्रोडक्ट) सम्बन्धी विषयमा विस्तृत छलफल र अन्तरक्रिया गरिएको थियो ।
बुधबार र बिहीबार गरी दुई दिन सञ्चालन भएको तालिममा बैंकको तालिम विभागका अधिकृत मनोज लामिछानेले सहजीकरण गर्नुभएको थियो, भने कार्यक्रम सञ्चालन शाखा प्रमुख प्रेमकुमार श्रेष्ठले गर्नुभएको थियो ।