महेन्द्रनगरमा कानुनी कागजात व्यवस्थापन तालिम सम्पन्न
Feb 24, 2025

महेन्द्रनगरमा कानुनी कागजात व्यवस्थापन तालिम सम्पन्न

फागुन १२, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड महेन्द्रनगर शाखाको आयोजनामा सञ्चालित “कानुनी कागजात व्यवस्थापन” विषयक एक दिवसीय तालिम सोमबार कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ । तालिममा बैंकको महेन्द्रनगर शाखामा कारोबार गर्ने विभिन्न प्रकृतिका २४ वटा सहकारी संस्थाहरूबाट ३० जनाको सहभागिता रहेको थियो ।

तालिममा कानुनी कागजातको अर्थ, प्रकार, सहकारीमा कानुनी कागजात व्यवस्थापन, कर्जा सम्बन्धी मुख्य कानुनी कागजात, लिखतमा समावेश हुनुपर्ने महत्वपूर्ण विषयहरू, लिखत तयार गर्ने कार्यविधि सम्बन्धी व्यवस्था तथा व्यक्तिगत ऋण फायलमा समावेश हुनुपर्ने अनिवार्य कागजातहरू लगायतको विषयमा बैंकको सुदूरपश्चिम प्रदेश एवम् धनगढी शाखाका प्रमुख दिनेश गेलालले सहजीकरण गर्नु भएको थियो ।

बैंकको महेन्द्रनगर शाखा समन्वय उप–समितिका संयोजक गणेश बहादुर चन्दको अध्यक्षतामा भएको तालिम कार्यक्रमको उद्घाटन जिल्ला बहुउद्देश्यीय सहकारी संघ कञ्चनपुरका अध्यक्ष प्रेम सिंह भाटले गर्नुभएको थियो । उद्घाटन पछि मन्तव्य राख्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका भाटले सहकारी बैंकले आफ्ना सदस्यहरूलाई समय–समयमा तालिम तथा शिक्षाका कार्यक्रम प्रदान गर्दै आइरहेकाले यो तालिमबाट सहकारी संस्थाहरुमा कानुनी कागजात व्यवस्थापन गर्न सहज हुने विचार व्यक्त गर्नुभयो । 

शाखा समन्वय उप–समितिका संयोजक गणेश बहादुर चन्दले सहकारी संस्थामा कतिपय कानुनी विषयमा जानकारी नहुँदा संस्थालाई समस्या पर्ने भएको हुँदा बैंकले सञ्चालन गरेको तालिमबाट सहकारीमा देखिएका समस्याहरू पहिचान गरि समाधान गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो । 

तालिमका सहभागी अपि हिमाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेश दत्त भट्ट र जगन्नाथ स्वामी महिला सहकारीकी प्रतिनिधि सबिता चन्दले तालिमले सहकारी संस्था सञ्चालनको लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

तालिम कार्यक्रमको सञ्चालन शाखा प्रमुख प्रकाश सिंह कार्कीले गर्नुभएको थियो ।

यस अघि आइतबार शाखाले कर्जा लगानी तथा “असुली व्यवस्थापन तालिम” सञ्चालन गरेको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error