मङ्सिर १३, ललितपुर । सहकारी क्षेत्रको विकास र सुदृढीकरणका लागि राष्ट्रिय सहकारी बैंक लिमिटेडले ‘सहकारीका समसामयिक अड्चन र निकास’ विषयक मधेश प्रदेश स्तरीय गोष्ठी बर्दिबासमा बिहीबार सम्पन्न गरेको छ ।
बैंकको २१औं वार्षिक साधारण सभाको पूर्व सन्ध्यामा सहकारी क्षेत्रका चुनौती र समाधानका उपायहरूको समीक्षा गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा मधेश प्रदेशको जिल्लाका विभिन्न सहकारी संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता थियो ।
सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान गर्दै यसलाई आर्थिक समृद्धिको मुख्य माध्यम बनाउने उद्देश्यले अघि सारेका कार्यक्रम र योजनाहरूका बारेमा छलफल गरी अगाडि बढ्नका लागि सहयोग पुग्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बैंकका सञ्चालक एवम् मधेश प्रदेशका संयोजक विश्वनाथ मण्डलले बताउनु भयो ।
गोष्ठीमा हामी (सहकारी अभियान) कहाँ चुक्यौँ र अब के गर्ने ? विषयमा बैंकको लेखा सुपरिवेक्षण समिति संयोजक लक्ष्मी प्रसाद उप्रेतीले सहकारी क्षेत्रका चुनौती र समाधानका उपायलाई समेटेर प्रस्तुतीकरण गर्नु भएको थियो । उहाँले सहकारी ऐन, सहकारीको मूल्य। मान्यताको पालना गर्दै सहकारी क्षेत्रको सुशासन, र पारदर्शितामा जोड दिंदैँ सहकारी क्षेत्रका कमजोरीहरू सुधार गर्न सबै सरोकारवालाहरूले सामूहिक रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नु भयो ।
बैंकले तत्कालको लागि नाफा केन्द्रित भन्दा पनि सदस्य सहकारी संस्थाहरूलाई तालिम, शिक्षा, र बहसका माध्यमबाट सशक्त बनाउने योजनामा बैंक केन्द्रित रहेको उल्लेख गर्दै, सहकारी संघका व्यवस्थापक तथा अध्यक्षहरूको क्षमता अभिवृद्धिका लागि निःशुल्क तालिम कार्यक्रम सञ्चालन गरेर सहकारीको विकास र प्रवर्द्धनमा जोड दिएको उल्लेख गर्नुभयो ।
गोष्ठीमा ब्रह्मकुमारी राज योग सेवा केन्द्र राजविराजका रन्जु कुमारी कर्णले सकारात्मक सोच, तनाव व्यवस्थापन, उत्प्रेरणा र ब्रह्म कुमारी राज योग सेवा केन्द्र जनकपुरका प्रदीप कुमार सिंहले मडिटेशन तथा ध्यान गराउनु भएको थियो ।
कार्यक्रममा सहभागी सहकारी अभियन्ता तथा व्यवस्थापन प्रमुखहरूले बैंकको यो कदमले सहकारीप्रतिको विश्वास पुनः स्थापना गर्न महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । विज्ञ प्रस्तुतीकरण र गोष्ठीका अन्य सत्रहरूले सहकारीको वर्तमान समस्यालाई गहिराइसम्म बुझ्न र समाधानको खाका कोर्न सहयोग गरेको धारणा व्यक्त गरेका छन् ।
बैंकको सञ्चालक विश्वनाथ मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका सञ्चालक शारदा दाहाल प्रमुख आतिथ्यता तथा बैंकको व्यवसाय प्रवर्द्धन तथा स्तरीकरण उपसमितिका सदस्य पञ्चलाल महतो, बैंकको लघुवित्त तथा उद्यम.उपसमिति सदस्य भरत शाह, रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विभु कुमार पोखरेल र महोत्तरी जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष गगनदेव यादवको आतिथ्यता रहेको थियो ।
सुदूरपश्चिम प्रदेशबाट सुरु गरिएको गोष्ठी कार्यक्रम गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न भइसकेको छ, मङ्सिर २० भित्र सबै प्रदेशमा प्रदेशस्तरीय गोष्ठी सम्पन्न गर्ने योजना बैंकले जनाएको छ ।
कार्यक्रम मार्फत सहकारी अभियानलाई थप प्रभावकारी बनाउन र सहकारी क्षेत्रका समस्या समाधानमा नयाँ दृष्टिकोण ल्याउने बैंकको लक्ष्य रहेको छ । बैंकको मधेश प्रदेश प्रमुख विष्णु प्रसाद पराजुलीले सञ्चालन गर्नु भएको कार्यक्रममा बैंकको व्यवसाय प्रवर्द्धन तथा स्तरीकरण उपसमितिका सदस्य पञ्चलाल महतोले स्वागत मन्तव्य राख्नुभएको थियो ।