लेखा सुपरिवेक्षण समितिको लागि तयार गरिएको सरलिकृत निर्देशिकाको मस्यौदामा छलफल
Apr 27, 2024

लेखा सुपरिवेक्षण समितिको लागि तयार गरिएको सरलिकृत निर्देशिकाको मस्यौदामा छलफल

बैशाख १४, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले तयार पारेको लेखा सुपरिवेक्षण समितिको सरलिकृत निर्देशिकाको मस्यौदा माथि दोस्रो चरणको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रवार बैंकले काठमाण्डौं उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न विषयगत सहकारी संघ संस्थाका प्रतिनिधिहरू तथा बैंकको लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेती, सदस्य चन्द्रकुमारी पराजुली र सदस्य केशवप्रसाद सापकोटाको उपस्थितिमा लेखा सुपरिवेक्षण समितिको सरलिकृत निर्देशिकाको मस्यौदाको परीक्षणका विषयमा छलफल आयोजना गरेको थियो ।

कार्यक्रममा बैंकको लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले मन्तव्य राख्दै सहकारी संघ संस्थाहरुको आन्तरिक नियन्त्रण प्रणाली स्थापित गर्नको लागि बैंकको यो पहल र कदमीले आन्तरिक नियन्त्रण प्रणाली बलियो बनाउन सहयोग पुग्ने बताउनु भयो । उहाँले ‘आन्तरिक नियन्त्रण प्रणाली सुदृढ हुन सकेको छ, छैन भन्ने कुरा अहिलेको परिस्थितिले देखाएको छ, लेखा समितिले हरेक गतिविधिको नियमन गर्न सक्ने भन्दै उप्रेतीले हरेक चार महिनामा संस्थाको आन्तरिक लेखा प्रणालीलाई लेखापरिक्षण गर्न सक्ने र सो अनुसार नभए आवाजसम्म उठाउन सक्ने बताउनुभयो’ । 

सदस्य चन्द्रकुमारी पराजुलीले सहकारीमा समस्या आउन नदिनका लागि आन्तरिक परीक्षण व्यवस्थित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।

सदस्य केशव प्रसाद पोखरेलले आन्तरिक नियन्त्रण प्रणालीले संस्थाको लक्ष्य प्राप्ति र भावी रणनीति तय गर्नको लागि सहयोग पु¥याउँने बताउनु भयो । उहाँले सामान्यतया वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरुको विभिन्न तहका जोखिम व्यवस्थापन तथा न्यूनीकरण गर्न आन्तरिक नियन्त्रण प्रणालीको प्रमुख भूमिका रहने उल्लेख गर्नुभयो ।

बैंककोे सदस्य सेवा महाशाखाका प्रमुख राम बाबु आचार्यले लेखा सुपरिवेक्षण समितिको सरलिकृत निर्देशिकाको प्रयोगले सहकारीमा सुशासन र पारदर्शिता कायम हुन सहयोग पुग्ने बताउनु भयो । उहाँले सहकारी संघ संस्थाहरु स्वनियमन र सुशासनमा सञ्चालन गर्न अनिवार्य सर्त भएको उल्लेख गर्दै त्यसो भएमा मात्र संस्थाहरू जुनसुकै अवस्थामा पनि सदस्यको विश्वासमा रहने बताउनु भयो ।

कार्यक्रममा बैंकका तालिम अधिकृत बल्लभ तिमल्सिनाले बैंकले तयार गरेको लेखा सुपरिवेक्षण समितिको सरलिकृत निर्देशिकाको मस्यौदाका विषय बस्तुमा सहजिकरण गर्नुभएको थियो । मस्यौदा माथि पुनः छलफल आगामी जेठमा गर्ने बैंकले जनाएको छ । यस अघि गत चैत्रमा पहिलो पटक मस्यौदा माथि छलफल तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रमका सहभागीहरूले यस निर्देशिकाको प्रयोग गरि सहकारी संघ संस्थामा आन्तरिक लेखापरिक्षण गर्न सहज बताएका छन् ।

बैंकको आयोजनामा गत असोज २५ र २६ मा सम्पन्न लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी, २०८० मा गरिएको प्रतिबद्धता अनुरूप निर्देशिका तयार गरिएको हो । निर्देशिका बैंकको https://elibrary.ncbl.coop/ मा उपलब्ध हुनेछ । 


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.