तुल्सीपुर क्षेत्रका सहकारी संस्थाका अध्यक्षहरुलाई क्षमता विकास तालिम सञ्चालन
Apr 25, 2024

तुल्सीपुर क्षेत्रका सहकारी संस्थाका अध्यक्षहरुलाई क्षमता विकास तालिम सञ्चालन

बैशाख १३, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड तुल्सीपुर शाखाको आयोजनामा सञ्चालन भएको दुई दिवसीय सहकारी संस्थाका “अध्यक्षको क्षमता विकास तालिम” बिहीबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा बुधवार र बिहीबार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका ४६ वटा सहकारी संस्थाहरूका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ लिमिटेड दाङका अध्यक्ष हेमराज गौतमले सहकारी संस्थाहरु ऐन, नियम तथा सहकारी विभागको निर्देशन अनुसार नचलेका कारण सहकारी क्षेत्रमा केही समस्या देखिएको बताउनु भयो । उहाँले विभिन्न तालिम बाट प्राप्त ज्ञान र सिप लाई सहकारी संस्थाको विकासमा लगाउन पर्ने उल्लेख गर्दै सहकारीको परिकल्पना बमोजिम सदस्यको आर्थिक विकाशमा सहयोग पुग्ने गरी सम्पूर्ण सहकारीले काम गर्नु पर्नेमा जोड दिनु भयो ।

तालिममा सहकारिता , सहकारी मूल्य मान्यता तथा सिद्धान्तको व्यवहारिक प्रयोग, कार्य योजना तथा बजेट निर्माण, ऋण व्यवस्थापन ,व्यवस्थापन प्रतिवेदन, वित्तीय साक्षरता, सहकारी ऐन नियमावली र निर्देशनको परिपालना, वित्तीय विश्लेषण, आन्तरिक नियन्त्रण र जोखिम व्यवस्थापन  लगायतको विषयमा प्रशिक्षक अनिल वीर बज्राचार्य सहजीकरण गर्नुभएको थियो ।

तालिमका सहभागीहरूले सहकारी बैंकबाट आगामी दिनहरुमा पनि यस्तै तालिमहरू आयोजना गरी थप प्रशिक्षित गरोस् भन्ने अपेक्षाको साथै अध्यक्षको क्षमता विकास तालिम प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् । 

तालिम जिल्ला सहकारी संघ लिमिटेड दाङका अध्यक्ष हेमराज गौतमको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड तुलसीपुर शाखाका प्रमुख अजय रोकायको सञ्चालनमा सम्पन्न भएको थियो । 

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ/संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पूर्ण शाखा कार्यालय मार्फत सञ्चालन गरिरहेको छ ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.